एनआरएनए अष्ट्रेलियालाई हामी सबैको आफ्नै संस्था बनाउन प्रयासरत छौं

-- केशब कंडेल, उपाध्यक्ष एनआरएनए अष्ट्रेलिया एबं भिक्टोरिया संयोजक / प्रकाशित मिति : सोमवार, बैशाख ३०, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाईमा ८औं महाधिवेशन हुदैछ । दुइ बर्षे कार्यकालका लागि महाधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने भएपछि चुनाबी माहोल बढ्दै गएको छ । यहि सेरोफेरोमा विगत ११ वर्ष देखि एनआरएनए अष्ट्रेलियाका गतिविधीहरुमा प्रत्यक्ष र नेतृत्वदायीरुपमा सकृय, हाल दाश्रो पटक एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवम् भिक्टोरिया राज्यका संयोजकको जिम्मेवारीमा रहेका केशव कंडेलले संस्थाको संस्थागत विकासका लागि तल्लो तहबाट आएका सबैको सल्लाहा र सुझाबको कदर गर्नु पर्ने र एनआरएनए ग्रासरुट बाटै सञ्चालन हुनु पर्ने आवश्यकता औल्याउँदै भावी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । प्रस्तुत छ, उनै कंडेल संग उनको भावी योजना, कार्यक्रम र एनआरएनए अभियानका विषयमा द नेपाली टाईम्स अष्ट्रेलियाका लागि गोपाल छन्त्यालले गरेको कुराकानीको अंशः

एनआरएनए अष्ट्रेलियाको ८औं महाधिवेशन नजिकिदो छ, तपाईले आफ्नो विगत र वर्तमान सम्झिदै गर्दा एनआरएनए अष्ट्रेलियाको  हालको गतिविधीलाई कसरि लिनु भएको छ ? 

म सन् १९९८ मा बिद्यार्थीका रुपमा अष्ट्रेलिया आएको हुँ । आफ्नो पढाईलाई केहि हदसम्म व्यवस्थापन गरेपछि सन् २००८ देखी म निरन्तर रुपमा एनआरएनएको हरेक अभियानमा मन, वचन र कर्मले सहभागी हुदै आएको छु । दुईपटक एनआरएनएको अष्ट्रेलियाको उपाध्यक्ष र भिक्टोरिया राज्यको संयोजक सम्हाल्ने मौका पाएँ ।  त्यसभन्दा अघि २००८-२०११ सम्म स्वयंसेवक, २०११-२०१३ एनसीसी मेम्बर, २०१३-२०१५ भिक्टोरिया स्टेट सचिव भएको थिएँ । त्यसैले पनि अब निर्बाचन अथवा महाधिवेशन आयो, अब चाँही तात्नु पर्छ वा सक्रिय हुनु पर्छ भन्ने ‘फिल’ नै छैन, किनकि म हरेक समय र क्षण मौका मिल्ना साथ र आबश्यकता अनुसार एनआरएनएकै काममा व्यस्त हुन्छु । त्यस कारण महाधिवेशन नजिकिदै गर्दा पनि एनआरएनए गतिविधीहरु लाई मैले नियमित र सामान्य रुपले लिदै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छु ।

निर्वाचन लागेको ‘फिल’ भएन भन्नुभो तर, यहाँ कै सामाजिक सञ्जालका अकाउण्टहरु लाई हेर्ने  हो भने, उम्मेद्वारी घोषणाको तयारीसम्म भइरहेको देखिन्छ, त्यसलाई कसरी बुझ्ने ?

सामाजिक संजालका घोषणा र भेटघाटमा हुने यी कुराहरु एनआरएनएमा सँगै काम गरेका अभियानकर्ता र शुभेच्छुकहरु कै सदभाबका कारण हुन् यो नियमित र सामान्य प्रकृयाको तयारी हो । यसलाई अनौपचारिक तयारीको रुपमा  बुझ्न मेरो अनुरोध छ । औपचारिक रुपमा त निर्वाचनको मिति घोषणा पछि, निर्वाचन आयोगमा दर्ता भइसकेपछि हुनेछ ।

दुई कार्यकाल भिक्टोरिया राज्यको संयोजक र एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष रहेकै कारण भावी नेतृत्वमा तपाईको दाबी हो ?

त्यतिमा मात्र सिमित नबनौं, म भविष्यलाई हेरेर योजनाबद्द रुपमा काम हुनुपर्छ भन्ने मान्यताको मान्छे हुँ । एनआरएनएको अभियानमा निरन्तरताको हिसाब गर्ने हो भने म मेरो उमेर समूहमा सबैभन्दा लामो समय र निरन्तर यहि अभियानमा संलग्न भएको व्यक्ति पनि हुँ । तर यहि मात्रै भनेर पनि हुदैन म सँग भिजन र मिसन पनि रहेकाले अरु उम्मेद्वार भन्दा संस्थालाई सहि नेतृत्व र दिशा निर्देश गर्न सक्छु भन्ने हिसाबले आफ्नो उम्मेद्वारीको तयारी गरिरहेको हुँ । यसो भन्दै गर्दा मैले माथि भनेका संस्था सँगको मेरो संग्लाग्नाता र दुई कार्यकालको उपाध्यक्षको अनुभवले अवको नेतृत्व लिनका लागि शुभचिन्तकहरु को अनुरोधलाई मैले आत्मसाथ पनि गरेको छु ।

नेतृत्वमा तपाइको दाबि रहेको अवस्थामा माथिका तपाईका भनाईहरु वाहेक  आम एनआरएनए मतदाताले तपाईं किन मतदान गर्ने ?

यसका लागि धेरै कारणहरु छन् । जुन यो सानो संवादमा अटाउन अलिकति सकिदैन । केही कुराहरु भन्दै गर्दा पहिलो कुरा त, म सधैँ सिड्नी भन्दा बाहिर रहेको भएपनि एनआरएनए मूल प्रवाहमा आफुलाई समाहित गर्दै संस्थाको हितका लागि आफ्नो स्पष्ट विचार राख्दै आएँ । एनआरएनएलाई अष्ट्रेलियाको कुनै एक राज्यमा मात्रै सीमित गराउनु हुन्न । अष्ट्रेलिया व्यापी बनाईनुपर्छ, सबै राज्य र शहरहरु मा लैजानुपर्छ भन्ने मेरो मान्यता हो । अर्को कुरा चाँही संस्थालाई ग्राउण्ड लेवलवाट संस्थासँग घुलमिल भएका कार्यकर्ताहरुले हेन्डल गनुपर्छ । उनीहरुलाई संस्था सँग अपनत्व गराउन सक्नु पर्छ । यसो गर्दा हामीले निश्चित कुराहरु प्राप्त गर्न सक्छौं । जस्तो, अहिले जस्तो सदस्यताका लागि रोइ-कराई गर्नुपर्दैन, आफै बन्छन् र बढ्छ । हामी आफैले गर्ने हो भन्ने भावनाको विकासले संस्थाप्रति सबैको अपनत्व बढ्छ । संस्था र एनआरएनए प्रति सबैको सम्मान र आस्था अझ बढेर जान्छ । यी काम मैले गर्न सक्छु भन्ने विश्वास छ ।

लामो समय एनआरएनएको केन्द्रीय समिति र स्टेट स्तरको नेतृत्व तहमा रहेर काम गर्नुभयो, तपाईको विचारमा एनआरएनएका मुद्दा र समस्याहरु के के हुन ? कसरी समाधान गनुपर्छ ?

पहिलो नम्बर त संस्थागत संस्कार र विश्वसनियता हो । हामीले जे गर्छौ भन्छौँ, त्यो गर्न सक्छौँ की सक्दैनौँ भन्ने हो, त्यसैको आधारमा समुदायका सदस्यहरुले मूल्यांकन गर्ने हो । अर्को कुरा, यसको निरन्तरता हो । हाम्रो अनुभवमा हामी सन् २००४ देखि यो अभियानमा छौँ, यो अवधीमा कति आए, कति गए ? अरु त अरु, अध्यक्ष भइसकेका व्यक्तिहरु पनि हराउनु भो । एक-दुई बर्ष गर्यो, अनि छोड्यो, यसो हुनुको पछाडि हामी प्रति आम नागरिक र मतदाताको ठूलो अपेक्षा छ, त्यसलाई पूरा गर्न धेरै समय खर्चिनुपर्ने भयो, जसले गर्दा धेरै साथीहरु लाई समय व्यवस्थापन गर्न समस्या भयो र अप्ठ्यारो भयो । अझ त्यसमाथि पनि काम गरेका साथीहरु लाई प्रोत्साहन गर्नुभन्दा केहि कमजोरी भईहाल्यो भने त्यसलाई नंग्याउने तरिकाले गाली गलौज गर्ने संस्कार पनि बढ्यो । अर्को कुरा, केहि व्यक्तिगत/व्यापारिक प्रयोजनका लागि संस्था प्रयोग हुदै गए भन्ने आरोपहरु आए, केहि हदसम्म पब्लिकको यो आवाज सहि पनि हो ।

अब, हामीले यी र यस्तै अनुभवहरुलाई एक ठाउँमा ल्याएर संस्थालाई पुनार्भाषित गर्नुपर्ने आवश्यकता छ । हुन त यो एनआरएनए आइसीसीमा पनि आवश्यक छ, आइसीसीले अहिले सम्म ‘एक पटकको नेपाली, सधैको नेपाली’ भन्दै आयो, तर अहिले संवैधानिक रुपमा यो अवस्था रहेन । यस्तो अवस्थामा एनआरएनएको भविश्यको बाटो के हो त ? भन्ने कुरा पहिल्याउन सकिएको छैन, अझ भनुँ अलमलको अवस्था छ । यस्तो अवस्थामा एनआरएनए अष्ट्रेलिया विश्वभरिको सर्वोकृष्ट एनआरएनएका रुपमा गनिन्छ, हामीले सुरु गर्यो भने अरुले हामीलाई पछ्याउँदै जान्छन् ।

अन्य देशका एनआरएनएले समेत फलो गर्ने संस्था बनाउनलाई चाहीं के/के गर्नुपर्छ त ? 

हजुर, त्यसका लागि हामीले मुख्यतय दुइ वटा कुरामा ध्यान दिनुपर्छ । कार्यकारी संरचना वा Executive Body ले गर्नुपर्ने काम, यही संरचनाले गर्ने वातावरण बनाउनुपर्छ, जस अन्तर्गत हाम्रो अभिलेख, कार्यालय ब्यबस्थापन र वेभसाइट व्यवस्थापन जस्ता काम पर्छ । दोश्रो कुरा, हामीप्रति जनमानसको ठुलो अपेक्षा छ, त्यहि काममा जुट्दा जुट्दै धेरै साथीभाईहरु को समय खर्च भइरहेको छ, त्यसैले हामीले गर्ने सहयोग र च्यारिटीका कार्यक्रमहरु लाई एनआरएनए फाउण्डेशन मार्फत गर्ने परिपाटीको विकास गरौँ । यहि फाउण्डेशनबाट समस्यामा परेका, उद्दार गर्नुपर्ने, दैवीप्रकोपमा सहयोग गर्नुपर्ने जस्तो सबै काम गर्न सकियोस् । निर्वाचन हुनेबेला देखि निर्वाचन भइसकेको अवस्थामा पनि काम गर्ने बडीका रुपमा यसलाई सञ्चालनमा ल्याऔ । निर्वाचनबाट चुनिएको कार्यकारी संरचना र फाउण्डेशनको संरचना बनायौँ भने निर्वाचनमा राजनीतिक धाँधली भयो, हामीलाई बाइपास गरियो भन्ने आवाजलाई पनि समेट्न सकिन्छ । कार्यकारी संरचनामा नअटाएका व्यक्तिहरुलाई फाउण्डेशनमा राख्न सक्छौँ, यसले अन्तः संस्थाप्रतिको अपनत्व र विश्वास बढाउन सघाउ पुग्छ ।

तपाईको दुई पटकको दुई-दुई वर्षे अवधीको कार्यकाल कस्तो रह्यो ? के-कस्ता कामहरु भए ?

सन् २०१५-१७ र १७-१९ गरि दुईपटक मलाई स्टेट को-अर्डिनेटरको रुपमा काम गर्ने मौका मिल्यो । मेरो दुई बर्षे  कार्यकाललाई फर्केर हेर्दा, अघिल्लो कार्यकालबाट लिएको अनुभव र कमी कमजोरीलाई सच्याउँदै उक्त अवधीमा गर्न सक्ने धेरै कामहरु गर्न हामी सफल भयौ जस्तो लाग्छ । पहिलो कार्यकालमा नेपालमा महाभुकम्पको बेला थियो, त्यसमा हामीले सक्दो सहयोग गर्यो अहिले गोर्खा लगायतका स्थानमा बनेको नमुना बस्तीमा हाम्रो पनि योगदान छ । संस्थागत विकासका लागि आइसीसीको भवन निर्माणमा पनि हामीले योगदान दियौँ । दुई कार्यकालको चार बर्षे अवधीमा मैले बुझेको कुरा चाहीं, हामी आफुले काम गर्नु छदैछ, तर, समुदायलाई सँग सँगै लिएर जानु पनि उत्तिकै महत्वपूर्ण हो जस्तो लाग्यो, त्यसैले पछिल्लो कार्यकालमा त्यस कुरामा बढी ध्यान दियौँ । जस अनुरुप, भिक्टोरियामा भएका विभिन्न जातीय संघसंस्था देखि सामाजिक संघसंस्था, क्लब र विद्यार्थीहरुसँग मिलेर काम गर्यो । उहाँहरुले गर्ने हरेक गतिविधीमा एनआरएनएको सहभागिता रह्यो, जसले उहाँलाई संस्थाप्रति अपनत्व फिल हुने वातावरण बन्यो । जसले एकअर्का प्रति विश्वास बढ्दै जाँदा एकता पनि देखिदै गयो।

हाम्रो टिमको सबैभन्दा ठूलो सफलता भनेको हामीले मेलर्वनमा सामुदायिक भवन (सेन्टर) बनाउने भनेर सन् २०१७ मा सप्ताहव्यापी महायज्ञ गर्न सफल भयौँ, त्यो हामीले गरेको नयाँ प्रयोग थियो । व्यक्तिगत रुपमा पनि यो मेरोलागि एकदम सन्तोष जनक कार्यक्रम रहयो । ANMC मुख्य आयोजक रहेको यो कार्यक्रममा NRNA ले सहयोगी भूमिका खेल्दै गर्दा मालाई सबैले मेलबर्न सप्ताहको महासचिब बनेर काम गर्ने जुन अवसर दिनु भो, यसले सबै संघसंस्थालाई एक ठाउँमा ल्याएर समुदायको हितका लागि हामी हिजो एक थियौ र भोलि पनि सधै एक हुनेछौ भन्ने संदेश दिन हामी सफल भयौ । फलस्वरूप महायज्ञबाट हामीले १.१ मिलियन अष्ट्रेलियन डलर बराबरको कमिटमेन्ट र तत्काल पनि राम्रै फण्ड पनि जम्मा गर्न सक्यौँ ।

त्यसपछि, walk for women अभियानलाई पनि फरक रुपले गर्यो, महिलाहरु कै नेतृत्वमा । जसले भिक्टोरियाका महिलाहरुलाई एकताबद्ध गर्न सकियो । यहि कार्यक्रमको परिणामस्वरुप अहिले महिलाका घरेलु हिँसाका विभिन्न समस्याहरु महिलाहरु बाटै समाधान गर्ने वातावरण बनेको छ, जुन ज्यादै उत्साहजनक काम हो । नेपाल फेस्टिभल सबै स्टेटमा भए, तर हामीले नेपाल भिलेज जस्ता नयाँ कार्यक्रम गरेर केहि फरक स्वाद दिन सफल भयौँ । यहि बीचमा हामीले  विद्यार्थी लक्षित Student Assist कार्यक्रम चलायौ । पाँच हप्ता चलेको यो कार्यक्रमले पुराना देखि नयाँ विद्यार्थीलाई आफुलाई आइपर्ने समस्यालाई कहाँ कसरी सम्बोधन गर्ने देखि व्यक्तिगत सीप सम्मका कुराहरु सिकायौँ । त्यसमा विद्यार्थीलाई, बायोडाटा, कफी बनाउने देखि वाटर सेफ्टी सम्मका कुराहरु समावेश थिए ।

तपाईहरु गर्ने विभिन्न किसिमका कार्यक्रमलाई आफै व्यवस्थापन र मातहतका स्वयमसेवकहरु लाई जिम्मा नदिई कुनै इभेन्ट अर्गनाइजरलाई दिइन्छ, भन्ने आरोप पनि छ नी ?

हजुर, यो आरोप हामीलाई लाग्दै आएको छ । हामी आफै सम्पूर्ण काम गर्दा धेरै कुरामा ध्यान दिन पाउँदैनौँ जसले पक्कै पनि रिजल्ट पनि राम्रो नआउने नै भो । निश्चित कामका जिम्मा व्यवसायिक इभेन्ट अर्गनाइजरहरुलाई दिँदा त्यसमा हामीले कम ध्यान दिए पनि पुग्छ, कार्यक्रम र इभेन्टहरुलाई व्यवस्थित बनाउन हामीले यसो गर्ने गरेका हौँ र यो आफुले भिन्न ठाउँ बाट भिन्न भिन्न सामग्री र मेनपावर जुटाएर गर्नु भन्दा संस्तो पनि पर्ने अनुभब गरियो । समग्रमा यसले दिएको नतिजाले हामीलाई उत्साहित नै वनायो जसको संस्था वाहिरका व्यक्तिहरुले पनि सहराना गर्नु भयो ।

अष्ट्रेलियन सरकार संग एनआरएनएले उठाउन सक्ने वा उठाउन मिल्ने सवालहरु के-के हुन् ?

अहिलेसम्म हामी आफ्नै मुद्धामा हराइरहेका छौँ । अष्ट्रेलियन सरकारसँग हाम्रो मागहरु यो-यो हो, हामी यति नेपालीको प्रतिनिधित्व गर्छौ भनेर भन्न सकेका छैनौ । त्यो हैयिसतको संस्था बनाउन सकेका छैनौँ । त्यो गर्न नसक्नु पछाडिको कारण भनेको हाम्रो रजिस्ट्रेसन थियो । यसको अब हामीले निकासा निकालेका छौ, अबको नयाँ कार्यकाल देखि हामी संघीय रुपमा दर्ता हुन्छौँ, त्यसपछि पक्कै सहज होला । तर, व्यक्तिगत रुपमा अष्ट्रेलियन सरकारसँग हाम्रो सम्बन्ध र सम्पर्क बढ्दो छ, हरेक स्टेटमा । हामीले गरेका हरेक कार्यक्रमहरुमा अष्ट्रेलियन सरकारका उच्च प्रतिनिधीहरुको उपस्थितिले पनि त्यो देखाउँछ । हामीले पनि यहाँको सरकारलाई योगदान गरिरहेका छौँ । त्यसैले अबको कार्यकालदेखि हाम्रा मागहरु यो-यो हो भनेर किटानका साथ भन्न सक्ने गरि निश्चित एजेण्डाहरु बनाउनु पर्छ, त्यसका लागि एनआरएनए भित्रै एउटा निश्चित टिम बनाएर होमवर्क गरेर अघि बढ्नुपर्छ ।

नेपाली विद्यार्थीहरुको पहिलो गन्तव्य अष्ट्रेलिया बनेको अवस्था छ, उनीहरु लाई आइपर्ने समस्यामा एनआरएनएले खासै सहयोग गरेनन् भन्ने आरोप रहेछ नी ?

हेर्नुस्, विद्यार्थीको सवाल एकदमै संवेदनशील हो । यो सबालमा हामि सबैको नैतिक जिम्मेवारी छ । समस्याहरु धेरै छन्, केहि हद सम्म भए पनि सहयोग गर्ने हेतु  Student Assist program गर्यो जुन एकदमै राम्रो भयो धेरै बिधार्थी लाभान्बित भए , यसलाई निरन्तरता दिने छौ । यसो भन्दै गर्दा बिधार्थीका समस्या बिधार्थी र हामी सबैका लागि अवसर र चुनौती दुवै हो । कति कुराहरु छन् बिधार्थीहरु नै एकदमै सजग र जागरुक हुनु पर्छ । तर जब समस्या आइ सक्छ यो हामी सबैको दायित्व हो त्यहि सम्झेर बिगतमा हामीले धेरै सहयोगीको भूमिका निर्बाह गर्यो त्यो अझ ब्यापक रुपमा आउने समयमा निरन्तरता हुनेछ । समस्याका न्यूनीकरणका लागि सबै सरोकार पक्ष संग बहस र छलफल हुनु जरुरि छ । इमर्जेन्सी रेस्पोन्स टास्क फोर्स ले धेरै सहयोग बिधार्थी हरु लाई नै गरेको छ तर हामि लाई यसमा बृहत समुदाय कै सहयोग को खाँचो छ । बृहत् समाजले मात्रै विद्यार्थी भिषा, रोजगार र अध्ययन र यस संग जोडिएर आउने बिबिध समस्याहरु  समाधान गर्नसक्छ, त्यसमा एनआरएनए एउटा पार्टको रुपमा काम गर्नसक्छ । जसका लागि हिजोका दिनहरुमा जस्तै आउने दिनहरुमा पनि म विद्यार्थी भाईवहिनीहरु र उनीहरु सँग सम्वद्ध सबै पक्षहरुसँग सहकार्य गर्दै अगाडि वढ्नेछु ।

अन्त्यमा द नेपाली टाईम्स अष्ट्रेलिया  मार्फत केहि भन्न चाहनु हुन्छ ?

नेपाली समुदाय बढ्दो छ, समुदाय बढ्दै गर्दा हामीमा भएका भिन्न भिन्न प्रतिभा र शिपहरु हाम्रा लागि ठुला सम्पति हुन् । एनआरएनए अभियान यहाँको समुदायमा पर्ने हर कुराहरु हातेमालो गर्दै मातृभूमिको लागि प्रबास बाट गर्न सकिने सहयोग र सदभाब मा सहयात्री बन्नु हो । त्यसैले एनआरएनए अभियानमा सहभागी बन्न म सबैलाई अनुरोध गर्दछु । नेतृत्वमाको जान्छ भन्ने भन्दा पनि हामी बीचको सदभाब र देश प्रतिको कर्तब्यबोध ठुलो कुरा हो । आउनुहोस् बिगतमा गल्तिहरु भएका रहेछन भने पनि सुधार्दै हामी सबैको एनआरएनए अष्ट्रेलिया बनाउने अभियानमा लागौ । म यो अभियानमा छु मलाई साथ दिनुहोस म संस्थाको सर्बपरी हितलाई आत्मसाथ गर्दै काम गर्छु ।