अष्ट्रेलिया नेपालको लागि महत्वपूर्ण एवं विश्वासनीय विकास साझेदार मुलुक हो : दुरपदा सापकोटा, कार्यवाहक राजदूत, अष्ट्रेलिया

प्रबासमा रमाउँदै गर्दा धेरैको सम्झनामा नआउन सक्छ, जब छुसुक्क केहि समस्या आइ पर्छ अनि सम्झने ठाउँ हो दूताबास । त्यसैले नै दूताबासलाई अभिभाबक भनिएको होला । त्यसो त आहिले अष्ट्रेलियाको लागि नेपाली दूताबासको पद रिक्त छ, दूताबास अभिभाबक बिहिन छ भन्ने टिप्पणी पनि यदाकदा सुनिन्छ । अष्ट्रेलियाको नेपाली समुदायका धेरै सदस्यहरु भने यो कुरा मान्न तयार छैनन् । किनकि जसरि एकाएक निबर्तमान राजदूतले काठमाडौंमै राजिनामा दिएर नफर्कने परिस्थिति बन्यो त्यो अप्ठ्यारो परिस्थितिलाई सहजता बनाउदै सो समय Charge ‘d’ Affaires a.i. को रुपमा दूताबासमा नै कार्यरत दुरपदा सापकोटाले उक्त पदलाई कार्यबाहक या राजदूत नआउने समय सम्म जिम्मेवारी लिने गरि सम्हाल्नु भयो ।
७ महिना भन्दा धेरै समय उहाँको कार्य कुशलताले कसैलाई राजदूतको अभाब महसुस भएको छैन । एक्कासी आएको यो जिम्मेवारीलाई सम्हाल्दै आउनु भएकी दुरपदा सापकोटा नेपालको गुल्मी जिल्लामा जन्मी त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर साथै एल. एल. बीसम्मको अध्ययन पूरा गरे पश्चात २०६७ सालमा परराष्ट्र सेवामा प्रवेश गर्नु भएको थियो । अष्ट्रेलिया आउनुभन्दा अगाडि मात्रै सापकोटाले नेपाली राजदूतावास क्वालालाम्पुर, मलेसियामा आफ्नो सफल कार्यकाल सम्पन्न गर्नु भैसकेको थियो । नेपाली समुदायका कार्यक्रम, नेपाली समुदायमा परेका समस्याहरू मा खुलेर समुदायका सदस्यसंग छलफल गर्ने समस्याको जडसम्म पुगेर आफ्नो भूमिकाका लागि संधै लागि पर्ने कार्यबाहक राजदूत यति बेला प्रसंशाको पात्र छिन् । आफ्नो डेढ वर्षको अष्ट्रेलिया बसाइमा यहाँको नेपाली समुदाय मात्रै होइन यहाँको सरकारी निकायबाट पाएको साथ सहयोगले आफु प्रशन्न भएको बताउने उनै कार्यबाहक राजुदूत दुरपदा सापकोटा सँग द नेपाली टाईम्स अष्ट्रेलियाको तर्फबाट सुजित सिग्देलले गर्नु भएको कुराकानीको संक्षेप ।
दूतावासको सामान्य दिनचर्या कसरी चल्छ ?
यस राजदूतावासको कार्य सामान्य ढङ्गबाट सहज रूपमा चलिरहेको छ । हाल अष्ट्रेलियामा नेपालीहरूको सख्या बढेसँगै दूतावास विशेष गरी कन्सुलर काममा अलि बढी नै व्यस्त हुनुपरेको अवस्था छ । त्यसका अलवा नेपाल र नेपालीको हित प्रवर्द्धन गर्ने अन्य कार्यहरू पनि नियमित रूपमा चलिरहेका छन् ।
नेपाली सेवाग्राहीबाट दूतावासमा सबैभन्दा धेरै आउने जिज्ञासा (inquiry) कस्ता प्रकृतिका हुन्छन् ?
अहिले खास गरी नयाँ जन्मेका बच्चाहरूको राहदानी बनाउने, पासपोर्ट हराएर र बिग्रिएर नयाँ बनाउने, गैरआवासीय नेपाली परिचयपत्र र त्यसको उपयोगिता, नेपालमा कसैलाई वारिसनामा दिएर घरजग्गा बेचबिखन गर्ने तथा सम्बन्ध विच्छेद गर्ने लगायतका विषयका जिज्ञासाहरू बढी आउने गरेका छन् ।
दूतावासले विशेष गरी नेपाली सेवाग्राहीका विविध समस्याहरूलाई समय–सीमाभित्र सम्बोधन गर्न नसकेका गुनासाहरू अझै सुनिँदैछन् ? यसमा सुधार्न सकिने केही ठाउँहरू छन् कि ?
दूतावासको सेवा प्रवाहलाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन कोसिस गरिरहेका छौँ । हाल टेलिफोन, इमेल, फेसबुक पेजको म्यासेजबाट प्राप्त जिज्ञासाहरू लाई समयमै जवाफ दिने, पोष्टमार्फत आउने काम छिटो गरेर फर्काउने र दूतावासमा नै आउने सेवाग्राहीलाई यथाशक्य छिटो सेवा दिने गरिरहेका छौँ । तथापि केही गुनासाहरू हुन सक्छन् जुन स्वाभाविक नै हो । सेवाग्राहीहरू, नेपाली समुदाय एवं तपाईँहरू जस्तो वास्तविक रूपमा फिल्डमा हुनुहुने पत्रकार साथीहरूको सल्लाह सुझावको आधारमा आगामी दिनहरूमा हामी हाम्रो सेवालाई अझ चुस्त एवं सेवाग्राही मैत्री बनाउन कोसिस अवश्य गर्नेछौँ ।
दूतावासको कामकारबाही अझ चुस्त बनाउन प्रविधिमैत्री कुराहरू, जस्तै : वेबसाइट, अटोमेटेड भवाइस म्यासेज जानकारी, एफ्ट्पस लगायतका कुराहरू मा सुधार अथवा थप गर्ने दूतावासको कुनै योजना छ कि ?
दूतावासको वेभसाइटलाई समय समयमा अद्यावधिक गरी अझ सूचना मूलक बनाउन प्रयासरत छौँ । हाल दूतावासको फोनमा अटोमेटेड भ्वाइस म्यासेज राखिएको छ । तपाईंले कन्सुलर र नेपाल भिसासम्बन्धी आधारभूत जानकारी उक्त रेकर्डेड मेसेजबाट प्राप्त गर्न सक्नुहुन्छ । यसका साथै हाल हामीले नेपाली राजदूतावासको फेसबुक पेजमार्फत पनि सूचना प्रवाह गरिरहेका छौँ । उक्त पेज करिब ८ हजार जनाले लाइक गर्नुभएको छ भने हाम्रा कुनै कुनै सूचना तथा समाचारहरू ४०/४५ हजारले हेर्नु भएको छ । एउटा हामीले सम्बोधन गर्नैपर्ने विषय दूतावासमा EFTPOS Machine राख्ने हो, त्यसको लागि पहल भइरहेको छ । सायद छिट्टै हुन्छ होला ।
महामहिम राजदूतको अनुपस्थितिमा तपाईँले कार्यबाहकको जिम्मेवारी सम्हालिरहँदा भोग्नुपरेका मुख्य चुनौतीहरू के के पाउनुभएको छ ?
करिब ६/७ महिना नियोग उप-प्रमुखको जिम्मेवारीमा रहँदारहँदै तत्कालिन महामहिम राजदूतलाई कारणवश नेपाल फर्किनुपर्याे र म कार्यबाहक राजदूतको रूपमा काम गर्ने जिम्मेवारी आयो । पछिल्लो ६/७ महिना कार्यबाहक राजदूत भई कार्य गर्दा त्यस्तो चुनौती नै त खासै छैन तथापि यो बीचमा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूका केही समस्याहरू आए जुन हाम्रो तर्फबाट भएसम्म समाधानको लागि कार्य पनि गर्यौँ । कार्यवाहक भएर काम गर्दा निश्चित रूपमा केही अड्चन त आउँदो रहेछ नै । कति कुरामा चाहेर पनि सोचे अनुसार गर्न नसकिँदो रहेछ । तर समग्रमा राम्रै भए जस्तो लाग्छ ।
बढ्दो नेपाली समुदायको मागलाई सम्बोधन गर्न दूतावासको सेवा विस्तार, कर्मचारी थप वा अन्य कुनै त्यस्ता योजनाहरू छन् कि ?
अष्ट्रेलयामा नेपाली समुदायको बढोत्तरी हुँदै गएसँगै समुदायको दूतावासप्रतिको माग पनि बढिरहेको छ । हामीले धेरैजसो सेवाहरू पोष्टमार्फत प्रदान गरेकाले दूतावाससम्म आइरहनुपर्ने हुँदैन । सेवालाई प्रभावकारी बनाउन त सदैव लागिरहने नै छौँ । तर हाल कर्मचारी थप गर्ने त्यस्तो केही सम्भावना छैन ।
नेपाली दूतावासको दीर्घकालीन योजनाहरू, जस्तैः आफ्नै भवन, शाखा विस्तार वा अन्य के कस्ता योजनाहरू छन् ?
गत वर्ष नेपाली राजदूतावासको भवन निर्माणका लागि क्यानबेराको ओमाली भन्ने ठाउँमा जग्गा खरिद गरेका छौँ । हाल भवन निर्माणको लागि तयारीका कार्यहरू भइरहेका छन् ।
अष्ट्रेलियाका विभिन्न शहरहरू – सिड्नी, मेलवर्न, एडिलेड, ब्रिसबेन र पर्थमा अवैतनिक वाणिज्यदूतहरू रहेका छन् । उहाँहरू ले पनि आफ्नो कार्यक्षेत्रमा कार्यादेश अनुसारका कार्यहरू गरिरहनुभएको छ । तसर्थ, अहिले तत्काल नेपाली दूतावासको शाखा भन्दा पनि वाणिज्यदूतावासहरू स्थापना गर्ने योजना रहेको छैन ।
कूटनीतिक नियोगलाई समय सापेक्ष बनाउँदै यहाँका नेपालीहरूको सीप, ज्ञान र अर्थलाई नेपालसम्म पुर्याउन दूतावासका कस्ता योजनाहरू छन् ?
हामीले अनुभूत गरेको र तत्काल गर्नैपर्ने कार्य भनेको यहाँ रहनु भएका नेपाली डायस्पोराका सदस्यहरू सँग रहेको पुँजी, ज्ञान र सीपलाई कसरी नेपालमा लैजान सकिन्छ भन्ने हो । यो मेरो छोटो अवधिमा थाहा भए सम्म व्यापारी, डाक्टर, इन्जिनियर, वैज्ञानिक देखि लिएर नेपाललाई आवश्यक पर्ने ज्ञान सीपयुक्त व्यक्तित्वहरू यहाँ हुनुहुन्छ । साथै, खुसीको कुरा के छ भने उहाँहरू आफैँ पनि आफ्नो पुँजी, आफूले सिकेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न चाहनुहुन्छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले Brain Gain Centre को पनि स्थापना गरेको छ । हामीले नेपालको माग अनुसार यहाँ रहेको विज्ञतालाई नेपालसम्म लैजाने सम्बन्धमा अध्ययन गरिरहेका छौँ । यसै सन्दर्भमा विज्ञहरूको सम्मेलन वा अन्र्तक्रिया गरी Brain Gain Centre लाई सपोर्ट गर्ने साथै यहाँ रहेका नेपाली डायस्पोराको ज्ञान सीपलाई नेपालमा प्रयोग गर्ने सम्बन्धमा ठोस कार्ययोजना पेश गर्ने योजना बनाएका छौँ ।
अष्ट्रेलियामा नेपाली विद्यार्थीहरू को संख्या उल्लेखनीय रूपमा वृद्धि हुँदैछ । यस सँगै निम्तिने भवितव्य देखि अन्य समस्यालाई दूतावासले यहाँ र नेपाल सरकारसँग मिलेर समाधान गर्न कस्ता पहलहरू गरिरहेको छ ?
अष्ट्रेलियामा हालका केही वर्षमा नेपाली विद्यार्थीहरूको संख्यामा भइरहेको वृद्धिलाई दूतावासले नजिकबाट नियालि रहेको छ । हामी चाहन्छौँ यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरू ले आफ्नो अध्ययन समयमै पूरा गरून्, एक सफल व्यक्ति बनुन् र देशका लागि समेत एसेट बन्न सकून् ।
नेपाली विद्यार्थीको संख्यामा वृद्धि भएसँगै केही समस्या आइपरेका छन् । सोको समाधानका लागि दूतावासले अष्ट्रेलिया र नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरेर कार्य गरिरहेको छ र महत्वपूर्ण कुरा त के छ भने अष्ट्रेलिया सरकारको शिक्षा मन्त्रालय लगायत अन्य सम्बद्ध निकाय पनि यहाँको शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन र भविष्यमा कुनै भवितव्य आउन नदिन सचेत छन् । शैक्षिक संस्थाहरूलाई नियमित अनुगमन गर्ने, केही कमजोरीहरू देखिएमा तत्काल कारबाही गर्ने गरेकाले त्यति असहज अवस्था सिर्जना हुन्छ जस्तो लाग्दैन ।
तथापि अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा यहाँ अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूले हाल भोग्नुपरेका समस्याहरूलाई हेर्दा अष्ट्रेलिया आउनुपूर्व नेपालमा नै अष्ट्रेलियाको शैक्षिक अवस्था, शुल्क, उपलब्ध हुने काम, सम्भावित जोखिमलगायत यहाँको रहनसहन आदिको बारेमा यथार्थ जानकारीहरू प्रदान गर्ने, विद्यार्थी र अभिभावकलाई समेत स्पष्ट जानकारी दिने र केही सीप सिकेर आउन प्रेरित गर्ने जस्ता कुराहरू गर्नुपर्ने हुन्छ । जसको लागि हामीले नेपाल सरकार शिक्षा मन्त्रालय र शैक्षिक परामर्शदाताहरूलाई बारम्बार अनुरोध गरिरहेका छौँ ।
यतै जन्मेहुर्केका दोश्रो पुस्तालाई नेपालसँग जोड्न दूतावासले कुनै त्यस्तो कार्यक्रम ल्याउँदै छ ? त्यस्ता केही सम्भावना देख्नुहुन्छ ?
नेपाली डायस्पोराको पहिलो पुस्ता जो नेपालमै जन्मेर, पढेर अष्ट्रेलिया आउनुभयो उहाँहरूप्रति आफ्नो गाउँठाउँ एवं देशको माया प्रष्ट देखिन्छ । सोही खालको अनुभूति एवं देशप्रतिको माया दोस्रो पुस्ता वा भनौँ आगामी पुस्तामा पनि ल्याउनु हाम्रो लागि चुनौती हो । यसमा पहिलो त परिवारको नै महत्वपूर्ण भूमिका रहन्छ जस्तो लाग्छ । साथै, हाल स्थापना भइरहेका नेपाली पाठशालाहरू ले पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यसै सन्दर्भमा हामीले ती नेपाली पाठशालाहरूमा नेपालको भुगोल, इतिहास, समाज, जनसंखियक विवरणसहितको एउटा पाठ्यक्रम, जसले नेपालको बारेमा समग्र जानकारी दिन सकोस, विकास गर्न सकिन्छ कि भन्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग समन्वय गर्दैछौँ । यसका अलावा भविष्यमा अरू देशहरूले जस्तो दोस्रो पुस्तालाई लक्षित कार्यक्रमहरू जस्तै नेपाल चिनौँ, नेपाल भ्रमण गरौँ भन्ने अभियान, नेपालसम्बन्धी Quiz Contest, कविता प्रतियोगिता आदि समेत आयोजना गर्ने मध्यमकालिन योजना रहेको छ ।
अष्ट्रेलिया–नेपालको दौत्य सम्बन्ध कस्तो छ ? नेपालसँगको दौत्य सम्बन्धलाई अष्ट्रेलियन सरकारले कस्तो रूपबाट लिन्छ ? कत्तिको महत्व दिएको पाउनुहुन्छ ?
सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अष्ट्रेलियाबीच अत्यन्त सुमधुर एवं सहयोगात्मक सम्बन्ध रही आएको छ । अर्को वर्ष सन् २०२० मा हामी नेपाल र अष्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठ मनाउँदै छौँ । मेरो अनुभवमा अष्ट्रेलियाले पनि नेपालसँगको सम्बन्धलाई महत्व दिएको छ । अष्ट्रेलिया नेपालको लागि महत्वपूर्ण एवं विश्वासनीय विकास साझेदार मुलुक हो । अष्ट्रेलियाले नेपालको पूर्वाधार विकास, उर्जा क्षेत्र, शिक्षा एवं सीप विकास र सामुदायिक वन विकासमा सहयोग गरिरहेको छ ।
यसो भनिरहँदा हामीले अष्ट्रेलियाबाट जति लिन सक्नुपर्ने त्यति लिन सकिरहेका छैनौँ । अष्ट्रेलियासँगको हाम्रो व्यापार कम छ भने अष्ट्रेलियन लगानी पनि त्यति भित्र्याउन सकिएको अवस्था छैन । देशमा स्थायी सरकार, लगानीको सहज वातावरण र उत्पादनको वृद्धि भइरहेको वर्तमान सन्दर्भमा अब हामीले अष्ट्रेलियासँग द्विपक्षीय व्यापार बढाउने, अष्ट्रेलियन लगानी नेपालमा लैजाने सन्दर्भमा अलि बढी नै काम गर्नु पर्ने छ । त्यसका साथै, अष्ट्रेलियामा नेपालीहरूको लागि रोजगारीको सम्भावनाको लागि पनि कार्य गर्नुपर्ने छ ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा अष्ट्रेलियन सरकार, प्रशासन, अन्य कूटनीतिक नियोग र मेनस्ट्रिम मिडियासम्म नेपाली दूतावास पुगेको छ ? त्यस्ता कुनै योजनाहरू ?
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यस राजदूतावासबाट पनि आक्रामक रूपमा काम भइरहेको छ । हामीले अष्ट्रेलियाका विभिन्न शहरहरूमा रहेका हाम्रा अवैतनिक वाणिज्यदूतहरूसँग मिलेर पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू गरिरहेका छौँ । विभिन्न फोरमहरूबाट अष्ट्रेलिया सरकारका सम्बन्धित निकाय, अन्य कूटनीतिक नियोगसम्म पनि यो अभियानको बारेमा जानकारी गराएका छौँ ।
त्यस्तै, यसै सिलसिलामा विभिन्न शहरमा रहेका वाणिज्यदूतहरू, गैरआवासीय नेपाली संघ र यहाँ रहेका अन्य संघ संस्थाहरूलाई संलग्न गराई भ्रमण वर्षको प्रवर्द्धनका कार्यहरू गर्ने योजना राखेका छौँ । नेपालको पर्यटन प्रवर्द्धन बोर्डसँग मिलेर अष्ट्रेलियाका ठूला र प्रमुख शहरहरूमा ट्रेन, ट्राम तथा बसमा नेपालसम्बन्धी प्रवर्द्धनात्मक सामग्री राख्ने, स्थानीय मिडिया, ट्राभल राइटर, एयरलाइन्स, टुर एजेन्टसँग मिलेर प्रचार प्रसार आदि गर्ने सोचमा छौँ । गत वर्ष करिब ३५ हजार अष्ट्रेलियनले नेपाल भ्रमण गरेकोमा सन् २०२० मा करिब ५० हजार अष्ट्रेलियनले भ्रमण गर्ने गरी प्रचार प्रसार गर्ने योजना गरेका छौँ ।
यही १० अक्टोबर २०१९ मा क्यानबेरामा हुन गइरहेको नेपाल र अष्ट्रेलियाबीचको विश्वकपको छनौट चरणको खेल, जुन करीब २५ हजार दर्शकले प्रत्यक्ष रूपमा र प्रत्यक्ष प्रसारण मार्फत लाखौं दर्शकले हेर्ने अपेक्षा गरिएको छ, त्यसमा पनि विभिन्न माध्यमबाट भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने गरी तयारी गरिरहेका छौँ ।
भ्रमण वर्ष २०२० लाई सफल पार्न तपाईंहरू सबैको महत्वपूर्ण योगदान रहने हुनाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत अनुरोध गर्दछु ।
विगत लामो समयदेखि नेपालमा अष्ट्रेलियाको कुनै त्यस्तो सरकारीस्तरको भ्रमण हुन नसकेको परिप्रेक्ष्यमा निकट भविष्यमा त्यस्तो कुनै योजना वा दूतावासको पहल केही छ कि ?
अष्ट्रेलियाबाट नेपालमा उच्चस्तरको भ्रमणको लागि पहल भइरहेको छ । सायद सन् २०२० मा जुन मैलै अघि नै भनी सकेँ नेपाल र अष्ट्रेलयाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ मनाउँदै छौँ त्यस वर्ष उच्चस्तरीय भ्रमणका लागि पहल भइरहेको छ र हामी यसमा आशावादीसमेत छौँ । नयाँ राजदूत आउनु भएपछि यो विषयमा काम गर्नुहुनेछ भन्ने आशा छ ।
नेपाली समुदायलाई दूतावासको के सन्देश छ ? र दूतावासले यहाँको नेपाली समुदायबाट कस्तो अपेक्षा गरेको छ ?
सर्वप्रथमत यहाँ रहनुभएका नेपालीहरूको दूतावासप्रति निरन्तर साथ, सहयोग र विश्वासका लागि म मेरो व्यक्तिगत र राजदूतावासको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । हाल म लगायत मेरो टिमका साथीहरू द्धितीय सचिव निर्मल भट्टराई, तृतीय सचिव यादव कोइरालालगायत सम्पूर्ण साथीहरूले दूतावासको उद्देश्य प्राप्ति तथा हाम्रो सेवालाई सेवाग्राही मैत्री, सहज, छिटोछरितो र सबैको पहुँचयोग्य बनाउन भरमग्दुर प्रयास गरिरहेका छौँ ।
यस सम्बन्धमा तपाईँहरूको केही राय, सल्लाह, सुझाव, गुनासा र पीरमर्का केही भएमा बिना हिच्किचाहट हामीलाई भन्नुहोला । तपाईँहरूको अमूल्य सुझावलाई सकारात्मक पृष्ठपोषणको रूपमा लिने छौँ जसबाट हाम्रो सेवालाई अझ प्रभावकारी बनाउनका साथै अन्य नवीनतम कार्य गर्ने हौसलासमेत प्राप्त हुनेछ ।
अन्त्यमा, म यति भन्न चाहन्छु कि अन्य विषयका अलवा अष्ट्रेलिया भरि रहनु भएका नेपालीहरू एवं यहाँ अध्ययनरत विद्यार्थीहरूको हक हित संरक्षणका लागि कार्य गर्नु र परेको बखत सेवा गर्नु हाम्रो प्राथमिकतामा रहेको छ र भविष्यमा पनि रहने छ । यसमा दूतावासले यहाँ रहेको विज्ञतापूर्ण र सफल डायस्पोरासँग सहयात्रा गरेर कार्य गर्ने छ भन्ने विश्वस्त गराउन चाहन्छु ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...