नवौं एनआरएनए विश्व सम्मेलन प्रारम्भ: अध्यक्षमा पन्त र आचार्य भिड्दै

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् ।
‘नेपाल लगानीका लागि अनुकूल हुँदै गएको छ’, मंगलबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आन्तरिक र बाहृय वातावरण लगानीका लागि योग्य रहेकाले ढुक्क भएर लगानी गर्नुस् ।’
राजनीतिक अस्थिरताका कारण विगतमा लगानी असुरक्षित भएको तर्फ संकेत गर्दै राष्ट्रपतिले अब त्यस्तो नहुने बताइन् । लगानी सुरक्षाका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको राष्ट्रपतिको भनाइ छ । ‘तपाईंहरूले आर्जन गरेको ज्ञान, सीप, क्षमता र दक्षतालाई नेपालको विकासमा उपयोग गर्नुपर्दछ’, राष्ट्रपतिले थपिन्, ‘यसका लागि सरकारले संयन्त्र खडा गरिसकेको छ । यसमा म खुशी छु ।’
संसारभर छरिएर रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबार(आज) देखि काठमाडौंमा सुरु भएको हो ।
‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सम्मेलन सुरु भएको हो । एनआरएनएका महासचिव बद्री केसीका अनुसार अहिले विभिन्न देशबाट करिब १ हजार ५ सय प्रतिनिधि काठमाडौं आइसकेका छन् । जसमध्ये १ हजार ३ सय जनाले नामसमेत दर्ता गरिसकेका छन् ।
एनआरएनए प्रवक्ता भुवन घिमिरेले यस सम्मेलनमा सहभागी हुने प्रतिनिधिको नामदर्ता सोमबार ३ बजेसम्म र वैकल्पिक प्रतिनिधिको साँझ ७ बजेसम्म नाम दर्ता गरिने व्यवस्था मिलाइएको बताए । मंगलबारदेखि सुरु भई आगामी बिहीबार तीन दिनसम्म काठमाडौको हयात रिजेन्सी होटलमा आयोजना हुने सो सम्मेलनबाट संघको आगामी नयाँ नेतृत्वसमेत चयन हुनेछ ।
सोही सम्मेलनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव अन्य पदाधिकारीलगायत विभन्न पदकालागि कुल ४२ जना निर्वाचित हुनेछन् । यस संघको आगामी नयाँ नेतृत्व चयनका लागि हुने मतदानको कार्यतालिका बुधबार निर्धारण गरिएको छ ।
संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुने छन् । यसैगरि, हरेक क्षेत्रीय समितिबाट एक÷एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरू यस सम्मेलनबाट निर्वाचित हुने छन् ।
त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ । त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १÷१ जना क्षेत्रीय उप संयोजकमा निर्वाचित हुन पाउने छन् । प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चयन हुने सो संघले जनाएको छ ।
संघको आगामी नेतृत्वका लागि अहिलेसम्म अध्यक्ष पदमा जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । गत शुक्रबार संघको अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गरेका पन्त वर्तमान उपाध्यक्ष हुन् । उनी दोस्रो कार्यकाल उपाध्यक्ष भइरहेका छन् । गोर्खाको फुजेलका पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसाय गरेर बसेका छन् ।
यसैगरी, संघको आगामी नयाँ नेतृत्वका लागि अध्यक्षमा उमेदवारी घोषणा गरेका आचार्य संघका केन्द्रीय उपाध्यक्ष हुन् । एनआरएनए बेलायतको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका आचार्यले एनआरएन यूकेको कार्यसमितिको सदस्य, उपाध्यक्ष हुँदै कार्यसमितिमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । यसैगरी, उनी अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै गत आठौं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
अध्यक्ष पदका प्रत्यासी आचार्यले सोमबार मात्र आफ्नो समूहका उमेदवारीहरूको नामलाई अन्तिम रूप दिएका छन् । निकै लामो छलफलपछि सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो समूहका उम्मेदवारहरूको नाम घोषणा गरेका हुन् । आचार्यले मुख्य पदका उम्मेदवारलाई एकै ठाउँमा राखेर आफ्नो समूह बलियो रहेको दाबीसमेत गरे ।
यसअघि एक महासचिवका लागि धेरैले उम्मेदवारी दिने घोषणा गरेकाले आचार्य समूहले सबै उमेदवारको नाम सार्वजनिक गर्न सकेको थिएन । महासचिवमा अन्ततः बेल्जियमका जानकी गुरुङको नाममा सहमति भएको थियो । आचार्य समूहको समर्थनमा गुरुङले महासचिव पदमा उम्मेदवारी दिने छिन् । यसअघि आचार्य समूहबाट अमेरिकाका डा. केशव पौडेलले पनि महासचिव पदका लागि दाबी गर्दै आएका थिए । सबैको सुझाव एवं छलफलपछि अमेरिकाका पौडेलले अन्ततः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । आचार्य समूहबाट संघको उपाध्यक्षमा पौडेलसँगै मन केसी (अस्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), रविना थापा (अमेरिका) ले उम्मेदवारी दिने भएका छन् । यस्तै, वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
अध्यक्षका प्रत्यासी उमेदवार पन्तले गैरआवासीय नेपाली संघको लगानीमा चलिरहेका परियोजनालाई जतिसक्दो छिटो सम्पन्न गरी हस्तान्तरण गर्ने कार्यलाई उच्च प्राथमिकता दिने आफ्नो एजेन्डा रहेको बताए । उनले सरकारले मनाउँदै गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन विश्वभरबाट पर्यटक नेपाल भित्राउने एजेन्डालाई यो वर्ष मुख्य प्राथमिकतामा राख्नेसमेत बताए । उनले आफ्नो उमेदवारी घोषणा कार्यक्रममा ‘भिजन २०२०’को योजना आफ्नो मूल नारा भएको दाबी गरे । उनले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्र रहेको जानकारी गराए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...