पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

यही जनवरी ७ का दिन अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ गएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।जनवरी ७ का दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया प्रस्थान गरेका हुन् । राष्ट्रमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोग सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ ।

कार्यक्रममा गैरआवासी नेपाली सङ्घ (एनआरएनए) लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ । कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नेपालको ५८औँ पटक भ्रमण गर्नुभएका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अष्ट्रेलियाबाट वार्षिक करिब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको छ ।

पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने प्रवक्ता तामाङले बताए । नेपाल र अष्ट्रेलियाबीच सन् २०१९ सेप्टेम्बरमा हवाई सेवा सम्झौता भए पनि अझै दुवैतर्फबाट उडान हुन सकेको छैन ।