लक डाउन -बाध्यता र अवसरको संगम

-- उत्तम विचार / प्रकाशित मिति : शुक्रबार, चैत्र २८, २०७६

हामी नेपाली, बिक्रम संबत २०७७ को नयाँ वर्षको संघारमा छौं। बर्षहरू आउँछन् जान्छन् । भित्तामा झुन्डिएका क्यालेन्डरहरू फेरिन्छन्। सधैं जसो यो नयाँ वर्षको पूर्व सन्ध्यामा उमंग छैन मान्छेमा । कारण एउटै छ कोरोनाको त्रास । कोभिड-१९ नामक ज्यानमा जिबाणु चीनको हुवान प्रान्तबाट सुरु भई संसारका २०० भन्दा बढी मुलुकमा फैलिसकेको छ भने तीन लाखको हाराहारीमा सन्चो भएर घर फर्किए पनि मृतकको संख्या झन्डै एक लाख (पन्चानब्बे हजार प्लस) पुग्न लागिसक्यो जबकी संक्रमितको आँकडा सोह्र लाख ज्यादा छ । दैनिक रूपमा संक्रमित र मृतकको संख्या बढ्दै जानु दु:खद हो ।


‘उपचार भन्दा रोकथामनैं उत्तम’ भन्ने सोचले नेपालले पनि विश्वले लगाएको लक डाउन अर्थात् बन्दाबन्दी अर्थात् घर बसाईको अनुसरण गर्दै तीन हप्ता पहिले नेपाल लक डाउनको घोषण गर्‍यो । यो बीचमा जम्माजम्मी गरेर नौ वटा कोरोना संक्रमणको केस पुष्टि भएकाछन् भने कुल परीक्षणको संख्या तीन हजार पनि नपुग्नुले हाम्रो परिक्षण प्रणालीमै प्रश्न नउठाईएका हैनन् । अब लक डाउनको परिप्रेक्ष्यमा यो बाध्यता मात्र हो या त अवसर पनि भन्ने बारेमा केही चर्चा गरौं ।

बाध्यता !
एकाध ड्युटी गर्नेहरू (डाक्टर, नर्स, स्वयंसेवक, सुरक्षा निकायका कर्मचारी र प्रतिनिधिहरू) बाहेक अधिकांस मान्छे पिजडाको चरी झै घर बन्दिमा छन् यतिबेला। चरी बरू खुल्ला आकाशमा स्वस्फूर्त डुल्न पाउछे तर मान्छेले पाउदैन त्यो । अर्थात यस्लाई यसरी भनौं हिजो पशुपंक्षीलाई आफ्नो अधिनमा थुनेर स्वस्फूर्त बाहिरी दुनियाँ डुल्ने मान्छे आफ्ना गल्ती र कमजोरीको फल भोग्दैछ यतिबेला । सयलाई सोध्ने हो भने नब्बे भन्दा बढीले चुपचाप यस्लाई बाध्यतानैं भन्ने छन् कारण झन्डै महिनौंदेखि घरबन्दी(घरजाम)मा छन् उनीहरू ।
दैनिक कामकाजीको काम ठप्प भै रोकिंदा (घरबाटै हुने यदाकदा काम बाहेक) कस्तो भएको होला कर्मचारीलाई । कामै नगरी रल्लिने जमात चोकको चिया पसल अनि भट्टी र भुलिरहेका होलान् साईंलीहरूलाई । बृद्ध बृद्धाको मन्दिरमा गएर खैचडीमा नाँच्ने रहर थाँतीमै छ । घरबन्दीले दिनानुदिन सकस थप्दै गरेको सुनाउछन् गृहिणी महिलाहरू । ज्याला मजदुरी गर्नेको मजबुरी बुझी साध्य छैन । सरकारले बाँढेको राहतको प्रसाद तिन्का चिसो चुलोसम्म पुग्नेमा बाँढ्नेहरूनैं विश्वस्त नरहेको अवस्था छ । पढ्न जानबाट वन्चित बालबालिकाको पीडा सुनिसाध्य छैन । यिनै प्रतिनिधि घटनालाई मात्र लिने हाे भने पनि लक डाउनलाई बाध्यता नभनेर कस्ले के भन्ने ? प्रश्न आफैतिर सोझिन्छ ।

अवसर !
नब्बे भन्दा बढीले लक डाउन बाध्यता सिवाय केही भनी रहदा झन्डै दस प्रतिशतको हाराहारीमा यस्ता बर्ग र तप्काका मानिसहरू पनि छन् जस्ले यस्लाई बाध्यता भन्दा अवसरको रूपमा अर्थ्याउन र पुष्टि गर्न रुचाउँछन् । सधैभरी कामै कामको चपेटामा परेका कर्मचारीहरू जस्ले यति लामो घर विदाको अनुभव गर्न पाए । साँझ विहान आक्कल झुक्कल देखिने र भेटिने परिवारका सदस्य ( विशेष गरि बालबालिका अनि बुढा बा आमा)हरू सँगै बस्ने, कुरा सेयर गर्ने, नयाँ नयाँ खानाका रेसिपी बनाएर खाने र खुवाउने (अनावश्यक रूपमा अरूलाई देखाउनेहरू लाई छोडेर) कृयटिभ आर्ट्स, ड्रयिङ, स्टोरी राइटिङ, काव्य सिर्जना (गीत,गजल,कविता,खन्ड काव्य, छोटा मुक्तक, हाइकु, तान्का आदि)मा आफुलाई व्यस्त राख्नेहरूको दिन बितेको पत्तै हुन्न र त उनीहरू अवसर ठान्दछन् ।

कुरा यिनै हुन् । मोहि जति बाक्लो भए पनि दोर्‍याएर घ्यू निस्कदैन । कुरोको चुरो यत्ती हो लक डाउन थप अझै जति दिन भए पनि मान्छेलाई सुरक्षित राख्ने सवालमा यस्लाई धेरै बाध्यता र थोरै अवसरको रुपमा लिई सोही बमोजिम यस्को पूर्ण पालनामा जोड दिन चाहान्छु ।