निको भएर घर फर्किए दुई जना कोरोना भाइरस संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना निको भएर शनिबार घर फर्किएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत दोस्रो कोरोना भाइरस (कोभिड–१९) संक्रमित २७औं र धौलागिरि अस्पतालमा उपचाररत ६५ वर्षीया महिला १७औं दिनमा घर फर्किएका हुन् ।

१९ वर्षीया प्रसिद्धि श्रेष्ठले भिडियो सन्देशमार्फत सरकारलाई धन्यवाद दिएकी छन् ।

यस्तै, ६५ वर्षीया महिलाको अन्तिम दुईपटक कोभिड–१९ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ ।

श्रेष्ठ गत ४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

टेकु अस्पतालमा उपचाररत श्रेष्ठको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपाल आएपछि गरिएको परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।

लगत्तै ९ चैतमा उनी अस्पताल भर्ना भएकी थिइन् । १० चैतमा स्वास्थ्य मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनमा संक्रमण देखिएको जानकारी दिइएको थियो ।

उनीसँगै कतार एयरलाइन्सबाट आएका १ सय ५६ जना सम्पर्कमा आइसकेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ३१ पुगेको हो ।

चीनको वुहानबाट आएका ३२ वर्षीय युवकमा गत १० माघमा संक्रमण पुष्टि भएको थियो ।

दोस्रोपटक उनको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

उनी पनि निको भएर घर फर्किसकेका छन् ।

हालसम्म पहिलो संक्रमित, दोस्रो र बागलुङकी ६५ वर्षीया महिला संक्रमित घर फर्किएका हुन् ।

२८ संक्रमित चिकित्सकको निगरानीमा छन् ।

हालसम्म १९ हजार ४ सय ५४ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका अस्पतालमा १ सय १७ जना आइसोलेसनमा उपचाररत छन् ।

पाँच जना उपत्यकाभित्र र १ सय १२ जना उपत्यकाबाहिरका अस्पतालमा उपचाररत छन् ।

अहिलेसम्म ४ हजार ५ सय ५३ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।