प्रसंग मातातिर्थ औंशिको

-- लक्ष्मी पोखरेल / प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०७७

आज बैशाख ११ अथवा मार्च २३, हाम्रो धर्म र संस्कृति अनुसार मातातिर्थ औशी तथा आमाको मुख हेर्ने दिन । चार जात छत्तीस वर्णको साझा फुलवारीको नामले चिनिने हाम्रो देशमा विभिन्न जनजातीहरुले आ-आफ्नो रिती रिवाज अनुसार परम्परागत हिसाबले चलिआएका छुट्टाछुट्टै चाडपर्वहरु मनाउने चलन छ । ती मध्ये सबै धर्म, जाती र वर्गका परिवारले बाबु आमाको मुख हेर्न दिनलाई एक पूण्य पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरेको पाईन्छ ।

आफुलाई जन्मदिई हुर्काउने ममतामयी आमाको संझना र सम्मानमा यो पर्व हरेक बर्ष बैशाख कृष्ण औंशीका दिन मनाउने गरिन्छ । जीवित आमाहरुका लागि मिठामिठा परिकार खुवाउने तथा बस्त्र, गरगहना उपहार दिने, आशिर्वाद ग्रहण गर्ने गरिन्छ भने दिवंङ्गत आमाहरुको संझनामा श्राद्ध गरी तर्पण, पिण्ड, दान दक्षिणा गरी सम्झने चलन छ । यस पर्वलाई नेपालमा मात्रै नभएर पूर्वेली र पश्चिमेली सभ्यतामा पनि छुट्टाछुट्टै तिथि मितिमा धुमधामले मनाउने गरेको पाईन्छ ।

कथन अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफुसंग खाजा खान लगेको रोटी जब पोखरीको किनारमा बसेर खान खोज्दा जती पटक रोटी निकालेर खान खोज्यो, उती नै पटक सबै रोटी तलाउमा झरे अनी उ आफै तलाउमा हाम फालेर हेर्दा उसकी स्वर्गवासि आमाले उसका रोटीजती सबै हातमा लिएर बसेको देख्यो । अनि गोठालाले आमालाई जिद्दिका साथ आफुसंगै घर लैजाने अनुरोध गर्दा आमा मानिनन् तर केहि सीप नलागेपछि प्रत्येक वर्ष आजकै दिन आफु त्यहि पोखरीमा आउने र आमाले दर्शन दिने बताए पछि त्यो गोठालो घर फर्कियो र त्यो कुरा गोठालोले गाउँघरमा सबैलाई फैलायो । अनि गाउ भरिका मानिसहरु प्रत्येक वर्ष उक्त तलाउमा जादै आफ्नी स्वर्गवासि आमाको दर्शन गर्न थाले र त्यहि दिनलाई मातातिर्थ औंशीको रुपमा मनाउने चलन चल्न थाल्यो । अन्त्यमा एउटी नारी धेरै दिनसम्म पर्खदा पनि आफ्नी आमाले दर्शन नदिएपछि उक्त तलाउमा हाम फालेर आत्महत्या गरीन् र त्यस दिनबाट तलाउमा आमाका तस्वीरहरु देखिन छाडेको किंबदन्ती छ । आज पनि आफ्नी आमा गुमाई सकेकाहरुले उक्त तलाउमा मातातिर्थ औशीका दिन स्नान गर्दछन् जसलाई मातातिर्थ कुण्ड भनेर चिनिन्छ ।

संसारको सबैभन्दा प्रिय, बजनदार, स्नेह, सम्मान र आदरका साथ लिईने शब्द “आमा” जसको कुनै ब्याख्या र नाताको सिमा नै रहेनछ । ममता र श्रृष्टिकी भण्डार, जती मायाँ बाडे पनि नरित्तिने, सन्तानको हित र खुशीका लागि आफुलाई त्याग र बलिदान दिन सक्ने । जब एक बच्चा जन्मिन्छ तब एक आमा पनि जन्मन्छिन् । उनी पहिले एक नारी मात्र थिईन् तर बच्चा जन्मिए पछि एक आमा बन्छिन् । अर्कोतर्फ जब बच्ची जन्मिन्छिन् पहिलो परिचय छोरी त दोस्रो परिचय पत्नी हुदै तेस्रो परिचय आमा हुन पुग्छिन् र यिनै आमाभित्र लुकेको ममता र संघर्षले नै सन्तानको भविष्य निश्चित र तय गरेको हुन्छ भने आमाकै नाताले खुशी भएर जिउन सिकाउने अनि सन्तानकै खुशीको लागि आफ्नो खशीको पर्वाह नगरी लड्न सिकाउदो रहेछ । तोतेबोली सिक्नेदेखि लिएर जीवनका उपयोगी पाठका साथसाथै समाज र देश प्रतिको उत्तरदायी बनाउन सिकाउने पनि आमानै रहिछिन् । “आमाको काख अरुको लाख” भन्ने भनाई प्रचलित मात्र नभएर उत्तिकै सान्दर्भिक पनि रहेछ ।

आमा र सन्तान बिचको सम्बन्ध यति गाढा हुदाहुदै पनि नेपालको प्रसंगमा विगत दुई दशकभन्दा बढीको राजनीतिक अस्थिरता र युद्धको चपेटाले पिल्सिन बाध्य हामीहरु प्राथमिक तहको शिक्षादेखि माध्यमिक र उच्च शिक्षा हुदै उज्वल भविष्यको खोजीमा बैदेशिक रोजगारको लागि आफ्ना बाबु आमा र सन्तानबाट टाढा हुने क्रम दिनरात बढ्दो छ । गुणस्तरीय शिक्षाको खोजिमा गाउँका टाठाबाठा र अगुवाहरुले सहरमा र सहरका धनीमानी भनाउदाहरुले छिमेकी मुलुक भारतका विभिन्न सहरहरु मा आफ्ना दुधे बच्चाहरु छात्रावासमा राखि पढाउने होडवाजी नै चलेको छ । युवा जनमासहरु कोहि उच्च शिक्षाको लागि विदेशिने त कोहि केहि आफ्नी आमालाई मिठा खुवाउने, राम्रो लगाउने, ईच्छा पूरा गरिदिने आशा र सन्तानलाई सुखले पाल्ने सपनामा विदेशिदा, खरको चुहिने छाना टाल्न, साँझ बिहानको मानो जुटाउन विदेशी मरुभूमिमा ४५ डिग्रीको रापमा दिनको १८ घण्टा समेत खटिन बाध्य भएका छन् । त्यसैले समयको खेल, देशको अवस्था र सुखको खोजीमा भौतारिदा मानवीय स्वभावले कामको दुःख र पैसाको सुखमा केहि रमाएतापनि अधिकांशहरु दुखमा रोईरहेका पनि होलान् ।

आफ्ना सन्तानलाई मुटुका टुक्रा ठान्ने हरेक आमाहरु आफ्ना सन्तान सात समुद्र पारी भए पनि तिनै संगका मिठा याद र भविष्यका मिठा सपनालाई आफ्ना आँखाले हेर्दै एकमुठी श्वास फेर्न सकिरहेका हुन्छन् । आमा यी रहिछन् जसले हरेक श्वास र कसैले दिएको गासमा पनि त्यो शरीर लास नहुन्जेलसम्म सन्तानकै पिडामा बेचैन हुन्छिन् । आफुले बोरा ओढेर हुर्किए पनि, झुपडिमा बसे पनि, खोले र सिस्नु नै खाए पनि आफ्नो छाति सन्तानको लागि रसिलो बनाएर दश धारा दुध पिलाएकै हुन्छिन् । सन् २०१५ को महाभूकम्पले घरवार विहिन भएर झुपडि र टहराको बासले आमाहरुको जीवनमा त्यति कठिन भएको छैन होला जती सन्तानको यादले पिडा हुन्छ । पेटमा लातमार्दा देखि सात समुद्र पार रहदासम्मका हरेक पलहरु ओडेर त्यसको न्यानो र तिनै मायाँहरु खाएर बाँच्न बिवस रहेका हुन्छन् । कहिले काहिं कुनै साथिभाई छरछिमेक संगका आवत जावत संगै मिठो चोखो र पवित्र खानेकुरा दिदा खाँदा समेत सन्तानलाई नै पहिले संझिएर कतै उनीहरु भोकै पो छन् कि ? भन्ने पिडाको बेचैनीमा बाँचेका हुन्छन् । आफुलाई भोक लाग्दा सन्तान भोकाएको देख्ने, प्यास लाग्दा तिर्खाए कि ? भनेर झस्किने आमाहरु आफु कराउदा सन्तानलाई दुखेजस्तो लाग्ने ? कस्तो अचम्मको मन हुने रहेछ यो सम्बन्धको । सन्तान विदेशिदा वा टाढिदा एउटा तश्वीर नै भएपनि हेरेर चित्त बुझाउन बाध्य छन् आजका धेरै आमाहरु । आ-आफ्ना रहर बाध्यताका कारण आफै भोकभोकै बसेर सन्तानलाई छाति चुसाएर बचाउने आमाहरु आज तिनैलाई लाखौं खर्च गरेर विदेशिने भिसा पाउनुलाई महान उपलब्धी र भाग्यको ढोका खेलेको महसुस गर्नु आजका नेपाली जनमानसको एक तरंग नै बनेको छ । आफ्ना सन्तानहरु पश्चिमेली मुलुकहरुमा छन् भन्दा धेरै गर्व गर्ने र भिसा लागेको खुशीमा उत्सव मनाउने, विदेशिन लागेका सन्तानसंग एयरपोर्टमा सयपत्री फुलका माला लगाएर गाला जोडिएर खिचिएका रंगीन तश्वीरहरु सामाजिक संजालका भित्ताहरुमा छाउने लर्को एकदमै चर्को हुदै गएको छ भने यसरी सन्तानहरु विदेशिदा कालान्तरमा जीवन कष्ट र सकसपूर्ण हुन थालेको कुराको विस्तारै महसुस पनि नभएको होईन ।

यसरी हजार जिब्रो भएका शेष नागले पनि “आमा” शब्दको बर्णन गरेर नसकिने यो नातालाई आज हामीले आमाको मुख हर्ने दिनले पुकार्दै छौं । मेरो आफ्नो अनुभवमा पनि लगभग दुई दशकको विदेश बसाईका क्रममा शुरुशुरुका दिनमा आमाको मुख हेर्ने दिन भन्ने थाहै नपाई उडे । त्यसपछिका केहि दिनहरु फोनबाटै “आमाको मुख हेरें” भन्ने दिनहरु पार गर्दै आईयो । आज समयको परिवर्तन आधुनिकीकरण र संचार माध्यमको विकासले गर्दा यो दिवस मनाउने चर्चामा पनि धेरैनै आधुनिकीकरण हदै गईरहेको पाईन्छ । आजका दिनमा सामाजिक संजाल फेसबुक र ट्यूटरका भित्तामा Happy Mother’s day Mum,  I love you Mum, I miss you Mum, You are the best Mum यी शब्दहरु कोर्दै आमाका साथमा हुने भाग्यमानीहरु ले संगै फोटो खिची अपलोड गर्ने त संगै नहुनेले पनि ईतिहासलाई कोट्याउदै पुराना फोटोहरुले भित्ताहरु रंगीन पुगेका हुन्छन् । जसले मलाई कता कता लाग्दछ यो दिवश पनि फेसबुक मार्फत आमाहरुको ब्यूटि कन्टेष्ट चलाउदै त छैन ?

हो आमाको मुख हेर्ने दिन त्यतिबेला पनि थिए होलान् जतीबेला सामाजिक संजालको दिन थिएन त्यतिबेला यो दिनले त्यति धेरै चर्चा पाए जस्तो लाग्दैन थियो । आमाको नाममा शुभकामना दिई आशिर्वाद लिनु त सार्थक हो तर यसलाई अत्याधुनिक रंगले जलप लगाउदा कता कता फुस्रो र खोक्रो पनाको महसुस हुदै गएको त होईन ? हो आजका दिन जती समाचार र रंगीन तश्वीरहरु आमाको मुख हेर्ने बहानामा राखिएका हुन्छन्, धेरैजसो सन्दर्भमा तिनै आमाहरुलाई त्यतिपनि थाह हुदैन कि, उनीहरुका छोराछोरीहरुले कसोगरी आमा दिवश मनाए र तिनै भावुक शब्द देखावटी रुपमा लेख्नेहरुलाई फुर्सत र मन पनि भएको हुदैन कि आफ्नी आमालाई एक कल फोन गरेर वास्तवमै I Love You Mum भन्ने । हो आजका दिनका यिनै आमाका फोटोहरु र आमाको बाहानामा लेखिएका सन्देशहरु हेर्दा वास्तविक दैनिक जीवनमा पनि हामीले यत्तिकै मायाँ देखाउन सक्ने हो भने हामी नेपालीहरु सायद यो बाबु आमालाई मायाँ, प्रेम र सम्मान गर्ने कुरामा संसारकै प्रथम श्रेणीमा सम्मानित हुने थियौं होला ।

अर्कोतर्फ यिनै शब्दहरुलाई नियाल्दा नेपालमा बृद्धाश्रमहरु किन छन् ? खुल्दैछन् र खुल्नेक्रम किन बढ्दो मात्रामा छन् ? हरेक आमा खुशीले जीउनु पर्ने, किन सन्तानको मायाँ ममताबाट बञ्चित भएर तड्पिएर बाँचिरहेकी छिन् ? भन्ने प्रश्न पनि नउठेको होईन । वास्तवमा अहिले नेपालमा हाम्रा आमाहरुको पिडीलाई नियाल्दा, वास्तविकता अर्कै छ । पशुपति चोकको बृद्धश्रम देखि गाउघर डुल्दा, हरेक आमा बाबुको ढुकढुकि सुन्दा जुन हामीले आजका दिनमा लेखेका र देखेका शब्दहरु छन् ति सबै झुटा सावित हुन्छन् ।

कतिपय अवस्थामा हामीले आधुनिकताको आडम्बरमा आफ्नो मायाँ आमाप्रति रित्याएर वाहिरी देखावटी संसारका चिल्ला, सुकिला, मिठा स्वरहरु पछ्याउदै नक्कली आमाहरुको ढोंगमा मस्त नभएका पनि होईनौं । आजका हाम्रा आमाका पिडिका अधिकांस नारीहरु, हिजोका दिनहरुमा चुला चौकामा सिमित रहि, सामाजिक चौघेरामा रहेर जीवन यापन गर्न वाध्य थिए । जसले गर्दा अधिकांस हाम्रा आमाहरु आजकलका छोरा, बुहारी, छोरी ज्वाई जस्तो आधुनिक बोल्न नजान्नु मिठो पकाउन नसक्नु, फेसनको नक्कल गर्न नचाहनु, चिटिक्क सजिएर घरमा बस्ने अथवा बाहीर जावत आवत गर्न नसक्नुले कता कता यी दुई नाता बिच एउटा ठूलो भ्वाङ पर्दै गएको र बढ्दै गएको महसुस नगरिएको पनि होईन । हाम्रो पिडिले आजका दिनमा, आमाहरुका दिनका बन्धनलाई तोड्दै आर्थिक, सामाजिक, बौद्धिक हिसाबले सफलता हासिल गर्दै ईतिहास कोर्न थालेका छौं भने यी कुराहरुलाई मनन् गरी आमाहरुलाई कतिपय कुरामा मौका दिन सक्नु पर्छ । आर्थिक, पारिवारिक, मनोवैज्ञानिक र सामाजिक हिसाबले सशक्त बनाउने मौका दिएर, सिकाउनु पर्ने पनि हुन सक्छ । जसले गर्दा उहाँहरु प्रतिको सम्झना, आदरभाव र परिवारको जेष्ठ अभिभावक संगको सम्बन्ध न्यानो र श्रद्धापूर्ण बनाइराख्न सकियोस् । बाबु आमाको  सेवालाई सर्वोत्तम ठान्ने संस्कार संगै हुर्किएको हाम्रो समाजमा तिन प्रकारका ऋणबाट मुक्त हुनु पर्नेमा मातृऋण नै पहिलो मानिएको रहेछ । “आमा” जसलाई हामी हरेक पिडामा पुकार्छौ्र वहाँको दशधारा दुधको र न्यानो काखको ऋण त तिर्न के सकिन्छ र ? सकिन्छ त केवल दुईहात जोडी दण्डवत् र आत्मैदेखि मान, सम्मान । “नेपालीहरु वर्षभरी सर्प मार्छन् अनि नागपञ्चमीका दिन नागको पूजा गर्छन्” भनेझै बर्षभरी आमालाई विर्सेर, अपहेलना गरेर आजको एकदिन मात्रै सम्झने चिज होईनन् आमा । आमा रगतको थोपा थोपामा छिन्, बोलिबोलिमा छिन कहिले विर्सिएकि थिइन् र आज सम्झनु ??

भनिन्छ “शिक्षा पहिलो संस्कार हो , व्यापार भन्दा पहिलो व्यवहार हो  र भगवान् भन्दा पहिला बाबु आमा हुन्”

त्यसैले वहाँहरुलाई अग्र स्थानमा राख्न सके वहाँहरुकै आशिर्वादले जिन्दगीमा कहिल्यै दुःख र कष्ट भोग्नु पर्दैन । पौराणिक कथा अनुसार पनि शिव पार्वतीका छोराहरुमध्ये माता पिताको आज्ञा पालन गर्न कुमार आफ्नो बाहन मयुर चडेर सुमेरु पर्वत परिक्रमा गर्न गएका थिए भने गणेशले आफ्नै बाबु आमाको पूजा गरी परिक्रमा गरेको हुदा उनी माता पिताका सर्वश्रेष्ठ सेवक हुन पुगे । त्यसैले वर्षमा एकदिन आउने यस बैशाखे औंशीमा एकदिन भेटेर अनि मिठो खुवाएर के हुन्छ र जाबो एकसरो कपडा दिएर अनि एक पटक आमा भनेर देखावटी स्वाङ पारेर, एकदिन सामाजिक सञ्जालका भित्तामा फोटो झुण्ड्याउनुको सट्टा आमालाई दैनिक दिलमा पूजेर राख्नु, दैनिक उपभोग्य सामानको समस्या पर्न नदिनु, दुःख, बिरामी पर्दा औषधि उपचार गराएर मृत्युको मुखबाट बचाउनु, हातगोडा चल्न छाडेपछि स्याहार सुसार गर्नु अथवा व्यवस्था मिलाउनु र हरेक आमाको भावना, ईच्छा, आकांक्षा बुझ्नन सकिन्छ भने खुशी राख्नु, सन्तानका पिडामा जलेका अन्तर मनका घाउमा मलम लगाउनु, नसके तिनै घाउमा घ्यू नथप्नु र झिना, ससिना पिलन्धरे कुराहरुले आमासितको सम्बन्धलाई खुकुलो नबनाउनु र वर्षमा एकदिन मात्रै नभएर हरेक दिन आमा सम्मान र सम्मानको दिन बनाउन सक्नु पर्छ ।

“आमाको कोख नै पच्चाको पहिलो पाठशाला हो” भने झै मेरी आमा पनि मेरो पहिलो गुरु हुन्, आज म जे छु उनैको योगदानले छु । मेरी आमा जति शिक्षित, अशिक्षित, आधुनिक वा पुरातन बिचारधाराकी भएपनि मेरा लागि उनिनै Princess Diana उनि नै मेरा लागि Indira Gandhi  हुन्, Taslima Nasrin हुन्,  Queen Victoria हुन् , Angela त्यसैले आजको दिन संसारभरी छरिएर रहेका सबै नेपाली आमाहरुलाई सम्मान र आदर गर्दै यो संसारको सबैका लागि सबैभन्दा प्रिय शब्द आमा सदैब सबले बोलिरहन पाउन्, हरेक आमाको सुस्वास्थ्य, दीर्घ जीवन, स्नेही र हसिलो अनुहारहरु सधै सबै सन्तानका लागि शक्ति बनिरहोस् । यस दिनले सबै सन्तान र आमाबाबु बिच पवित्र र अबिचलित गठबन्धनलाई थप न्यानो गर्न र गहिराइपूर्ण बनाउन सकोस्, यहि छ मेरो शुभकामना ।

मातृदेवो भवः  पितृदेवो भवः

११, बैशाख २०७६ / २३ अप्रिल २०२०

मेलबर्न अष्ट्रेलिया