खाद्य सुरक्षा र स्वस्थ्य जीबनशैलीका लागि कृषिक्षेत्रको बिकास आजको अबश्यकता

-- रमेश कुमार के.सी / प्रकाशित मिति : आइतवार, बैशाख २१, २०७७

खाना मानिसको आधारभूत आबश्यकता हो भन्ने कुराको अनुभुति हालको लकडाउनबाट अझबढि स्पष्ट भएको छ । मानिसको मृत्यु रोगले भन्दा भोकले छिटो हुनसक्छ भन्ने कुराको अनुभूति नेपाल लगायत बिश्वमा बलियो अर्थतन्त्र भएको देशका जनतामा समेत हुनगएको छ । यसको साथ–साथै २१ औं शताप्दीको बैज्ञानिक युगलाई चुनौति दिंदै फैलिरहेका नयां नयां रोगले मानव अस्तित्व नै संकटमा पर्नलागेको अबस्थामा यसप्रकारका रोगहरु संग लडनको लागि मानिसहरुले आफ्नो शरिरमा रोग प्रतिरोधात्मक क्षमाताको बिकास गराउनु एक मात्र भरपर्दो बिकल्प हो र जुन कुरालाई हाम्रो पूर्वीय संस्कृति र अभ्यासले समेत पुष्टि गरिसकेको छ । शरिरमा रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्नको लागि स्वस्थकर आर्गानिक खानाको प्रयोग, सकारात्मक सोच र दैनिक ब्ययाम आबश्यक हुन्छ । राम्रो लुगा, बजारमा पाउने स्वादिष्ट खाना, सुबिधा सम्पन बासस्थान र अन्य जे जस्तो भौतिक सुबिधा उपभोग गरेतापनि शरिरमा रोग प्रतिरोधात्मक क्षमाता बलियो भएन भने रोगलाई रोक्न सकिदैन भन्ने कुरा बर्तमान महामारीको अबस्थाले विश्वलाई नै सबक सिकाईरहेको छ । रोग प्रतिरोधात्मक क्षमाताको बिकास गराउनको लागी मानिसले शारिरीक तथा मानसिक अबस्था बलियो बनाउनु अबश्यक छ । हाम्रो गलत खाद्या आचरणमा परिबर्तन गर्नको लागी सोहि किसिमको आर्गनिक खाद्यपर्दाथको उपलब्धतामा ध्यानदिनुपर्दछ । जसको लागी हामीले हाम्रो कृषि प्रणलीलाई ब्यापक सुधार गरी आर्गनिक उत्पादनलाई ब्याबसायिकरण गर्नुपर्दछ । हामीले सानैदेखि पाठ्यक्रमा पढदै अएको नेपाल एक ‘कृषि प्रधान देश हो’ भन्ने मान्यतालाई मध्यनजर राख्दै एकपटक गम्भिर भएर सोच्ने बेला अएको छ । बर्षौसम्मलाई पुग्ने खाद्यान्न उत्पादन गर्न सक्ने किसान बर्ग किन अज १ महिना लकडाउन हुंदा खाद्यान्न राहात थाप्न विबश छ ? के यो हाम्रो लागि गम्भिर प्रश्न हैन र ? शहरी क्षेत्रमा राहात थापिरहेका अधिकांश मानिसहरुको आफ्नो गाउँमा जग्गा जमिन पक्कैपनि बाँझै हुनुपर्दछ, यसप्रकार आफ्नो जग्गा जमिन बाँझो राखेर राहातको लाईनमा बस्नुपर्ने बाध्यता आउनु दु:खद पक्ष हो । कुल जनसंख्याको ६५ प्रतिशत मानिस काम गरिरहेको नेपालको कृषि क्षेत्रले अपेक्षा गरेजति प्रतिफल दिन सकिरहेको छैन, यस बारेमा हामीले बिश्लेषण गर्नुपर्ने बेला आएको छ ।

अर्थतन्त्रको प्रमुख क्षेत्र र जीवन यापनको मेरुदण्डको रुपमा स्वीकार गरिएको कृषि क्षेत्रको विकास र व्यवसायिकरणमा हामी कहाँँ चुक्यौ भन्ने कुराको लेखा जोखा हुनुपर्दछ । राष्ट्रिय कृषिनीति २०७६ ले ज्यामीको अभाब र युवा शक्तिहरु बिदेशीनुलाई कृषिक्षेत्रको मुख्य चुनौतिको रुपमा स्वीकार गरेको छ । यो समस्याको निराकरण गर्नको लागि हामीले ठोस योजना तथा रणनीति बनाउनु पर्दछ । विदेशी भूमिमा ४०–४५ डिग्री गर्मी हुने मरुभूमीलाई हराभरा बनाउन सक्ने नेपाली युवाले आफ्नै देशको बाँझो जमिन फोर्न सक्दछ, मात्र यस क्षेत्रमा भविष्य बन्न सक्छ भन्ने कुरामा उनीहरुलाई सपना देखाउनु आबश्यक छ । कुल जी.डि.पि को २७ प्रतिशत क्षेत्र ओगटने यति ठूलो कृषिक्षेत्र भित्र आत्मनिर्भर हुनसकिन्छ भन्ने कुरामा युवावर्गलाई बिश्वश्त बनाउन सक्नुपर्दछ । भोलि आईपर्नसक्ने खाद्य संकटबाट बच्न र बिभिन प्रकारका महामारीबाट बच्नको लागि अधिकांस परिवारले आफुलाई पुग्ने खान आफै उत्पादन गर्नसक्ने वातवरणको निर्माण गनुपर्दछ र त्यसकोलागी बिशेष योजाना अगाडि ल्याउनु पर्दछ साथै यस क्षेत्रको बिकास र बिस्तारको लागि सरकारले गरेको लगानी प्रयाप्त छ कि छैन भन्ने प्रश्न अगाडि आउदछ । यति ठूलो क्षेत्रमा कूल बजेटको करीब ४ प्रतिशत मात्र छुट्टाउनु कतिको प्रर्याप्त छ भन्ने पुर्नबिचार गर्नु पर्दछ र त्यसको साथ–साथै गरिएको लगानी सही ठाउँमा खर्च भयो कि भएन भन्ने कुरा बिचारणीय छ र त्यसबाट देश र किशान बर्गले के कति प्रतिफल लियो भन्ने कुराको शुक्ष्म अध्ययन गर्ने प्रणलीको बिकास गरिनुपर्दछ । देशले खर्चगरी कृषि क्षेत्रमा क्षमता बृद्धि गरिएका कृषकहरुले तालिम तथा भ्रमण अवलोकन पश्चात कृषक र उनीहरुको समाजको कृषि अबस्थामा के कति परीवर्तन ल्याउन सहयोग गरे त्यसको बारेमा लेखाजोख गरी समग्रमा त्यसबाट देशलाई प्राप्त भएको प्रतिफलको मुल्याङ्कन हुनु आबश्यक छ ।

सर्वप्रथम कृषि क्षेत्रको विकासबाट नै देश समृद्ध बन्न सक्छ भन्ने कुरामा युवाबर्ग, राज्य र सबै सरोकारवालाहरु विश्वस्त हुन सक्नुपर्दछ र यसको साथ–साथै पेशागत सम्मान र व्यवसायिक समानता हुनु आवश्यक देखिन्छ । सोही अनुरुप सबै किसानलाई बिउ–बिजन, सिचांई, मलखाद, बजार व्यवस्थापन तथा प्रभाबकारी कृषि परामर्श र आबस्यक औषधिको सही व्यवस्थापन गर्नु पर्दछ र अबको नेपालमा हरेक कृषकका छोरा–छोरीले तिमी भबिष्यमा के बन्छौ भन्दा, म कृषक बन्छु भनेर ढुक्क संग भन्न सक्ने वातावरण बनाउन सबै क्षेत्रबाट पहल हुनु आबश्यक छ । दैनिक रुपमा हामीले प्रयोग गरीरहेको उपभोग्य बस्तुहरु जस्तै, आलु, प्याज, लसुन, खुर्सानी, दाल, चामल, माछा मासु र अन्य दैनिक भान्सामा प्रायोग गरिने तरकारीहरु विदेशबाट नै भित्रिरहेको छ र त्यसको गुणस्तर मापन गर्ने कुनै भरपर्दो प्रणाली छैन । यहाँ उत्पादित कृषि बस्तुले बजार नपाउनु र विदेशबाट निर्बाध रुपमा बिना चेकजाच दैनिक करोडौंको मुल्यमा उपभोग्य सामान भित्रिनु शंकाको बिषय बनेको छ । कृषकले २ रुपैया के.जी. गोलभेडा बेच्ने बजार नपाएर बारीमा नै कुहिएको छ, दुर्गम क्षेत्रमा स्याउ नबिकेर स्याउको रुख काटिएका छन्, जुनकुरा हाम्रो लागि दूर्भाग्य हो । त्यसकारण कृषि क्षेत्रलाई बिचौलियाहरु बाट मुक्त गराई कृषि बजारको सही व्यवस्थापन गर्नुपर्ने आबस्यकता महसुस भएको छ साथै कृषि बजारलाई प्रभावकारी बनाउनको लागि आधुनिक प्रविधिको प्रयोग गरी बस्तुको मुल्य कृषक र ग्राहकले रियल टाईम थाहा पाउने गरी व्यवस्था मिलाउनु पर्दछ साथै भुगोल सुहाउँदो कृषि प्रविधिको बिकास र त्यसको प्रयोग गरी यस क्षेत्रबाट देश र समाजले बढीभन्दा बढी फाईदा लिनसक्नु पर्दछ । देशलाई पुन: कृषि प्रधान देशमा फर्काउनको लागि कृषि उत्पादनलाई तीब्ररुपमा बढाउनको साथ साथै विदेशबाट आउने खाद्याबस्तुलाई क्रमस रोक लगाउदै लैजानु पर्दछ । दैनिक रुपमा बाहिरिने करोडौ रकमलाई देशभित्र नै कृषि क्षेत्रमा लगाउन सकेको खण्डमा देशले दीर्घकालिन रुपमा समृद्धिको बाटो समाउने कुरामा दुईमत हुन सक्दैन । खेतियोग्य जमिनको संरक्षण र अव्यवस्थित बसोबासलाई व्यवस्थित तरीकाले एकिकृत बस्तिमा रुपान्तरण गर्नेतर्फ ध्यान दिदै यस क्षेत्रमा बढी भन्दा बढी रोजगारी सृजना गरी युवा बर्गलाई आकर्षित गर्नुपर्दछ र गाउँमा भएका युवालाई गाउँमा नै रोक्न र गाउँ छाडेका युवालाई गाउँ फर्काउनको लागि ठोस नीति तथा कार्यक्रम अति अबश्यकता महसुस भएको छ ।

तसर्थ, कृषि क्षेत्रमा रोजगारी सृजना गरी खाद्या संकट टार्दै देशलाई दीर्घकालिन रुपमा आत्मानिर्भर बनाई आर्थिक संबृद्धि हासिल गर्न र आफ्नै देशमा उत्पादित आर्गनिक खाद्या सामाग्री को उपभोगबाट मानिसको रोग प्रतिरोधात्मक क्षमतामा बिकास गरी भावि दिनमा आउन सक्ने बिभिन्न प्रकारका माहामारीहरुबाट बाच्नको लागी कृषि क्षेत्रलाई प्रत्येक युवा बर्ग, सरोकारवाला र राज्यले सम्मानका साथ अगाडि बढाउनु पर्दछ र यस क्षेत्रको बिकास गरी आफु, आफ्नो समाज र देशलाई बलियो बनाउन हामी सबैले आ–अफ्नो ठाउँबाट भूमिका खेल्ने समय आएको छ ।