विदेशबाट ५० हजार इच्छुक, २४ हजारलाई मात्र फर्काउन सिफारिस

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

 

काठमाडौँ – कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् ।

जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ ।

भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोजेकालाई पहिलो प्राथमिकतामा राखेर फर्कने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई पठाएको सूची अनुसार युएइबाट मात्र १७ हजार ३७५ ले फर्कन चाहना राखेका छन् ।

जसमध्ये ४१० जनाले फर्कने सिफारिस प्राप्त गरेका छन् ।

त्यस्तै, बहराइनबाट एक हजार ११८ मध्ये ३७२ जनाले फर्कने अनुमति पाएका छन्

मलेसियाबाट फर्कन चाहेका छ हजार ४२५ मध्ये सबैले फर्कन सिफारिस पाएका छन् ।
कतारबाट आठ हजार ३७० मध्ये तीन हजार ६०८ जना फर्कन पाउने भएका छन् ।
कुवेतबाट ७९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कन पाउने भएका छन् ।

साउदी अरबको रियादबाट छ हजार ५४४ मध्ये दुई हजार १५२ ले र साउदीकै जेद्दाबाट फर्कन चाहेका एक हजार १६० जना सबैले फर्कने सिफारिस पाएका छन् ।

त्यसैगरी, निवेदन दिएकामध्ये सबैले फर्कन अनुमति पाएकामा ओमानबाट ६५६ जना, साइप्रसबाट ४७१ जना, बङ्गलादेशबाट ८६० जना, श्रीलङ्काबाट ३६ जना, मालदिभ्सबाट ७२४, पाकिस्तानबाट १२५ र कम्बोडियाबाट १४१ जना रहेको समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।