पाँचपोखरी यात्रा

-- मधुसूदन पाण्डेय / प्रकाशित मिति : बिहिबार, साउन १, २०७७

आन्तरिक पर्यटन प्रबर्धनका लागि हरेकदिन नेपाल टेलिभिजनले पाँच पोखरीको सुन्दर दृष्य देखाई रहन्थ्यो । त्यो दृष्य देख्दा देख्दै अन्तरआत्माले भन्यो, “जा ! एकपटक पुगिहाल । खुट्टा दह्रो हुंदासम्म त होनी घुम घाम गर्ने ।” मन देखिनै कन्भिन्स भएँ र त्यसै क्षेत्रका एकजना छिमेकीसंग राय सल्लाह पनि लिएँ । उनी त्यो ठाउँसम्म पुगेका पनि रहेछन् । उनको सल्लाह नै उचित हुने लाग्यो । उनले भने, “एकदिन बसमा, दुईदिन पैदल हिंडेपछि पुगिन्छ । अल्टिच्युड (लेक) पनि लाग्न सक्छ ।” उनका कुरा सुनेपछि पाँचपोखरी जाने बिचार दिमागबाट सदाकालागि हटाइदिएँ । यो दुईवर्ष अघिको कुरा हो ।

आज भोलि आन्तरिक र बाह्य पर्यटनका लागि बग्रेल्ति ट्राभल तथा टुर एजेन्सीहरू खुलेका छन् । सोसल मिडियामा आवद्ध सबैलाई यस बिषयमा राम्रोसंग जानकारी छ । एकदिन यसो फेसबुक चलाउँदै थिएँ । कुनै ट्राभल एजेन्सीले पाँचपोखरीको प्याकेज राखेर विज्ञापन गरेको रहेछ । त्यो देखेपछि मेरो सुसुप्त आत्मा पुनः एकपटक जागृत भयो र सम्पर्क गरिहालें । उसले राखेको खर्चको अफर र प्रोग्राम हेर्दा राम्रै लाग्यो । साथमा गाइड पनि भएपछि समस्या नहुने देखेर आफ्नो नाम लेखाई हालें र हाम्रो ग्रुपलाई पनि खबर गरें । सबैजना जान राजि हुनुभयो । यसरी हाम्रो पाँचपोखरी जाने योजना अकस्मात तय भयो र भदौ २६ गते घरबाट निस्कियौं । हाम्रो सेड्युल अनुसार २६ गते माकलबारीमा ७.३० मा सबैजना भेट भई त्यहिंबाट लोकल बस चढेर सिन्धुपाल्चोकको मेलन्चीमा खाना खाने र भर्तांग गएर बस्ने । २७ गते त्यहाँबाट पैदल हिडेर नासिमपाटी बस्ने । तेस्रोदिन त्यहाँबाट हिंडेर पाँचपोखरी बास बस्न जाने । चौथोदिन पाँचपोखरीबाट हिंडेर टुपिड डाँडा आएर खाना खाने अनि भर्तांग आएर बस्ने । पाँचौं दिन भर्तांगबाट बिहानै बस चढेर मेलन्चीमा आएर खाना खाने अनि काठमांडौ फर्किने कार्यक्रम थियो ।

निर्धारित मिति र समयमा हामी माकलबारी पुग्यौं । हामी पुग्दा हाम्रो टुर प्याकेज वाला शेरबहादुर वाइवा आइपुगेकै थिएनन् । हामीभन्दा झण्डै आधा घण्टा ढिलोगरि आए । उनिहरू तीनजना थिए भने हामीहरू पनि तीनजना थियौं । यसरी हाम्रो यात्रा ग्रुप छ जनाको बन्यो । हामीहरू माकलबारीबाट प्रस्थान गर्दा साढे आठ बजेको थियो । निर्धारित सेड्युल अनुसार नै ११ बजे मेलन्चीमा खाना खायौं र १२ बजे प्रस्थान गर्यौं । भर्तांग पुग्दा छ बजेको थियो । भर्तांगमा शेरबहादुरले राम्रै होटलमा बस्ने ब्यवस्था मिलाएका रहेछन् । साह्रै सुन्दर ठाउँ रहेछ त्यो । चारैतिर पहाडको माला लगाएर बसेको, पानीको छेलोखेलो भएको, मोटरबाटोले छोएको, बिजुली बत्ती, नेट सबै भएको, पाँचपोखरी जस्तो ऐतिहासिक स्थल जाने मार्गमा अवस्थित ठाउँलाई सुगम नै भन्नु पर्छ ।

यात्राको दोस्रोदिन हामी बिहान छ बजे भोर्तांगबाट प्रस्थान गर्यौं । हामी बसेको होटल अगाडिको पसलमा पाँचपोखरी जानेमानिसहरूले धमाधम प्लाष्टिक किनिरहेको देख्यौं । उनीहरू किन किन्दैछन् भन्नेसमेत नबुझी हामीले पनि एक एक वटा प्लाष्टिक सत्तरी सत्तरी रूपैया हालेर किन्यौं र झोलामा हालेर बाटो लाग्यौं । झण्डै चार घण्टाको बाटो काटिसकेपछि चित्रामा आएर चिया नास्ता गर्यौं । टुपिडांडा पुग्ने पुग्ने बेलामा पानी पर्न थाल्यो र झोलामा छाता खोज्न थाल्छु त छातै छैन । झोलाको साइड पकेटमा राखेको छाता बसको छतमा बसेर यात्रा गर्नेहरूले चट् पारिसकेका रहेछन । जतिखोजेपनि भेटिएन । साथीहरूले त छाता ओढे मैंले चाँहि त्यहि कुरै नबुझेर भोतांगमा किनेको प्लाष्टिक ओढें । अन्जानवस गरेको ब्यापारले पनि साथ दिंदो रहेछ । त्यो नकिनेको भए दिनभरी परेको पानीमा के दशा हुंदो हो ।

भोर्तांगबाट हिंडेको केहिबेरमैं कपनका साथीहरू बिनोद पौडेल र केशव पाठक भेटिनुभयो । पाँचपोखरी जान आउनुभएका उहाँहरूपनि भोर्तांगमै बस्नुभएको रहेछ । उहाँहरूसंग ग्रुपफोटो लियौं र उहाँहरू त्यहिंबाटै छुट्टीहाल्नुभयो । हामी बिस्तारै हिड्नेहरूसंग कसरी साथ हुन्थ्यो र ? फर्किनेदिनमा फेरी एकपटक झुलुक्क भेट भएको थियो । त्यत्ति हो ।

पाँचपोखरी जानेबाटो साह्रै राम्रो लाग्यो । डांडाकांडा झरना र हरियाली त झन के भन्नु र ? कतै कतै एक दुई ठाउँमा बाहेक जताततै ढुँगा छापेको फराकिलो बाटो छ । ठाउँ ठाउँमा खाना चिया नास्ताकालागि होटलहरू छन् । खासगरी जनै पूर्णिमामा पाँचपोखरी मेंला लाग्ने भएकाले त्यहाँ पुग्ने उपयुक्त समय त्यहि रहेछ । त्यतिबेला जान सके सबैभन्दा उत्तम समय हो । अन्य समयमा जानेहरू पाँच सात जनाको टिमबनाएर मात्रै जाँदा राम्रो हुन्छ । किनकी अन्य समयमा मानिसहरू त्यतातिर त्यति नजानेहुंदा सुनसान हुन्छ । जताततै होटलपनि पाइँदैनन ।

भोर्तांगबाट हिंडेका हामी ११ बजे टुपिडांडा पुगेर खाना खायौं । त्यहाँबाट हिंडेका हामी सातबजे नासिमपाटी पुगेर बास बस्यौं । जनैपूर्णिमा मेलाको समय भएकाले मान्छेको आउनेजाने चाप पनि उत्तिकै थियो भने बासबस्ने ठाउँहरूपनि त्यत्तिकै प्याक थिए । हामी आफुखुसी गएकोभए त बासपनि पाइन्थ्यो पाइदैनथ्यो तर टुरप्याकेज अन्तर्गत गएकाले शेरबहादुरले नै सबथोक बन्दोवस्त गरे । हामीलाई कुनै झमेंला भएन । बिवाहमा जन्तिलाई गाँउघरमा जसरी सुताइन्छ त्यसैगरी भएपनि बीस पच्चीसजनाको समुह लहरै सुतेर रात काट्यौं । थकाइले पनि होला निंद्रापनि राम्रैसंग लाग्यो । भुख नजाने जुठीभात, निंद नजाने टुटी खाट, इस्क नजाने जात कुजात भनेर त्यसै भनिएको होइन रहेछ ।

बिहान साढे छ बजे एक एक प्याकेट चाउचाउ उमाल्न लगाएर त्यहि खाइवरी नासिमपाटीबाट प्रस्थान गर्यौं । नासिमपाटीबाट पाँचपोखरीको दुरी सोध्दा कसैले डेढघन्टा भन्थे । कसैले तीनघण्टा भन्थे । उनीहरूको हिंडाई र हाम्रो हिंडाइमा केको तालमेंल मिल्थ्यो र ? तीनघण्टा त हामीलाई लौरीबिनायक पुग्नै लाग्यो । लौरीबिनायक हामी साढे नौं बजे पुगेका थियौं । मोवाइलमा लौरीबिनायकको उचाई हेर्दा ३९६५ मिटर देखायो । कसैकसैले लेक लाग्छ पनि भनेका थिए । ४२०० मिटरसम्म पुगेका हामीलाई पाँचपोखरीमा लेक लाग्दैन भन्ने कन्फर्म भयो । पाँचपोखरी पुग्न लौरीबिनायक बाटै हामीलाई डेढ घण्टा लाग्यो । हामी पाँचपोखरी पुग्दा ११ बजेको थियो । पानी अविरल परिरहेको थियो । मान्छेको भिड उत्तिकै थियो । कुनै होटल खाली थिएनन् । टुर गाइडले कसो कसो गरेर एउटा होटलमा बासबस्ने व्यवस्था त मिलाए तर त्यहाँको धुवाँले हामीलाई न बसिसक्नु न सुतिसक्नु बनायो । घुम्न जाउँ झम झम पानी परिरहेकोछ । बसौं धुवाँले बसिनसक्नु भएको छ । झरीनै सहि हामीले छाता ओढेर भएपनि घुम्ने निर्णय गर्यौं र निस्क्यौं । पाँच पोखरी क्षेत्रलाई एक फन्को मार्यौं । एक फन्को मार्न झण्डै १ घण्टा नै लाग्दो रहेछ । त्यहाँको मन्दिर दर्शन गर्यौं ।

पाँच पोखरीका पाँच नाम रहेछन जसलाई सुर्य कुण्ड, भैरव कुण्ड, नाग कुण्ड, पार्वती कुण्ड र महादेव कुण्ड भनिंदो रहेछ । पाँच पोखरी र गोसांईकुण्डको भौगोलिक अवस्थितीलाई हेर्दा समान किसिमको देखिन्छ ।