अमेरिकामा २ साता १० लाख संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

न्यूयोर्क– कोरोना संक्रमणको दरको दृष्टिकोणले हेर्ने हो भने अमेरिका गलत बाटोमा रहेको देखिएको छ ।

अमेरिकामा गत जनवरी २१ मा पहिलो पटक संक्रमण देखिएको थियो ।

त्यसको ९९ दिनमा संक्रमितको संख्या १० लाख पुग्यो ।

त्यसपछि २० लाख पुग्न जम्मा ४३ दिन लाग्यो भने अर्को २८ दिनमा ३० लाख पुग्यो ।

१० लाख थपिन भने जम्मा २ सातामात्र लाग्यो ।

बिहीबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ३९ लाख ५५ हजार ८ सय ६० पुगेको छ भने १ लाख ४२ हजार ९ सय ४२ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकाका केही राज्यहरुमा संक्रमणको दरले अझै पनि रेकर्ड बनाइरहेको छ ।

बुधबारमात्र अमेरिकामा ४१ हजार ३ सय ८१ नयाँ संक्रमित थपिएका थिए।

अनुसन्धानकर्ताहरुले अमेरिकामा १ नोभेम्बरसम्म २ लाख १९ हजार ८ सय ६४ जनाको मृत्यु हुने आँकलन गरेका छन् ।

केही दिनअघि २ लाख २४ हजार ५ सय ४६ जनाको मृत्यु हुने आँकलन गरिएकोमा केही राज्यहरुले मास्क अनिवार्य र सामाजिक दूरी अपनाउन भनेपछि मृतकको संख्या केही कम हुने आँकलन गरिएको हो ।

४१ राज्यले राज्यले मास्क अनिवार्य बनाएका छन् भने केहीले स्वास्थ्य सुरक्षा मापदण्डका योजना बनाइरहेका छन् ।

दर्जनौं अस्पताल आइसीयु बेड अभावबाट गुज्रिरहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ करोडभन्दा बढी मानिसको परीक्षण गरिसकेको बताएकाका छन् ।

पछिल्लो पत्रकार सम्मेलनमा उनले आफ्ना नागरिकलाई मास्क लगाउनुपर्ने उल्लेख गर्दै सामाजिक दुरी अपनाउन र हात धुन आग्रह गरेका थिए ।