लगानी बोर्डको सिइओमा भट्ट

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील भट्ट नियुक्त भएका छन् ।

भट्ट खुला प्रतिस्पर्धाका आधारमा सिइओ नियुक्त भएका हुन् ।

मन्त्रिपरिषद्को सोमबार बालुवाटारमा बसेको बैठकले भट्टलाई आगामी चार वर्षका लागि बोर्डको सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टसँग व्यवस्थापन, बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ ।

उनी नेपाल व्यवस्थापक संघ, नेपाल इन्जिनियरिङ एसोसिएसनलगायतमा आबद्ध छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

यी तीनमध्येबाट मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने यो बोर्डलाई लगानीको वातावरण सिर्जना गरी पूर्वाधार संरचना क्षेत्र तथा अन्य क्षेत्रमा सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी लगानी परिचालन गरी व्यवस्थापन गर्ने जिम्मेबारी तोकिएको छ ।

बोर्डमा विभिन्न विभागीय मन्त्री, गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्य सचिवलगायत सदस्य रहन्छन् ।

तत्कालीन सिइओ महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएपछि यो पद रिक्त थियो ।

सिइओ पदका लागि सुरुमा १२ जनाले आवेदन दिएका थिए ।

१२ जनामध्येबाट पाँच जनाको सर्टलिस्ट तयार गरी अन्तर्वार्ता र प्रस्तुतीकरणमार्फत छनोट गरिएको थियो ।

स्नातकोत्तरबापत तीन अंक, विद्यावारिधि गरेको भए सोबापत थप दुई अंक, अनुभवबापत (काम गरेको प्रत्येक वर्षका लागि एक अंकका दरले पन्ध्र अंक) प्रस्तावित रणनीति र कार्ययोजनासहितको प्रस्तावबापत ५० अंक, रणनीतिगत छलफल (स्ट्र्याटेजिक डिस्कसन) वा अन्तर्वार्ताबापत २५ अंक र व्यक्तित्वबापत पाँच अंक जोड्दा भट्टको नम्बर सबैभन्दा वढी आएको बताइएको छ ।

भट्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । प्रचण्डका विश्वासपात्रका रूपमा रहेका भट्टले बोर्डको सिइओ बन्ने दाबेदारी प्रस्तुत गर्दै आएका थिए ।

भट्टले व्यवस्थापक विज्ञका रूपमा सरकारबाट प्रबल जनसेवा श्री सम्मान प्राप्त गरिसकेका छन् । उनले सिइओ विथ एचआर ओरिन्टेसन अवार्ड पनि २०१८ मा भारतमा प्राप्त गरेका थिए ।