एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

चितवन- शनिबार एकै दिन चितवन जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

एकै दिन यतिधेरै सङ्क्रमण देखिएको यो पहिलो हो ।

बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् ।

धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन् ।

त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उहाँले जनाकारी दिनुभयो ।

जिल्लाबाट नमूना सङ्कलन गरिएका १२० जनामा सङ्क्रमण देखिएको छ ।

अठार जना भने जिल्ला बाहिरका रहेको उहाँले बताउनुभयो ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ ।

तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् ।

त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।

शनिबारै यहाँको चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ ।

तीमध्ये चार चितवनका हुन् भने अन्य उपचारका लागि यहाँ आएका हुन् ।

जिल्लाको सरकारी अस्पताल भरतपुर, दुई मेडिकल कलेज, निजी अस्पताल, संस्थागत आइसोलेसन र घरमा सङ्क्रमित रहेका छन् ।

दैनिक सङ्क्रमण बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।