लक डाउनलाई फर्केर हेर्दा !

-- उत्तम विचार / प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७

नेपालीमा ‘बीस’को अर्थ लेखाइ नहेरेर सुन्ने मात्र हो भने दुईवटा अर्थ लाग्छन् । एउटा अंक बीस र अर्को औषधिको उल्टो बिष भए जस्तै भएको छ यो बर्ष सन् २०२० । अर्थात खाँदै नखाएको बिष लागेर मर्नुपर्ने अवस्था जुन विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ रोगको कारण देखा परेको छ । यसै कोभिडको माहामारीका कारण बिश्व भर संक्रमित हुनेको मात्र नभएर मर्नेको संख्या घट्नु साटो बढ्दै जानु अर्को डरलाग्दो पक्ष हो ।
चीनको वुहानबाट सुरु भएको महामारी नेपाल आइपुग्न केही समय अवस्य लाग्यो । जतिबेला चीन दुई महिना भन्दा लामो लक डाउनमा थियो, इटाली, इरान, स्पेन, जर्मनी, फ्रान्स, बेलायत लगायतका युरोपेली मुलुकहरू कडा लकडाउनको माताहतमा चलिरहँदा हामी भने नेपालमा बसेर कस्तो हुन्छ होला यो लक डाउन ! हामीलाई त पशुपतिनाथले बचाउँछन् ! कोरोना सोरोना केही आउँदैन नेपालमा आदि आदि भन्दै अड्कल लगाएर बस्थ्यौँ । अन्ततः कोरोना नेपाल भित्रियो । साबधानी स्वरूप सरकारले लगाएको लक डाउन एकपछि अर्को चरण गर्दै थपिँदै थपिँदै सय दिन माथि पुगेपछि लक डाउन मात्र कोभिड नियन्त्रणको अचुक उपाय नहुन सक्छ, रोग भन्दा गरिब जनता भोकले मर्ने अवस्था आयो गरि खान देऊ पि सि आर परिक्षणको दायरा बढाऊ, इनफ इज इनफ जस्ता नाराहरू लागे सँगै नेपाल सरकारले लक डाउन त अन्त्य ग¥यो तर मानिस मानिस बीचको सामाजिक दूरी कम गर्न र गराउन सकेन । मान्छेहरूमा रहेको यो आफ्नाहरू बीचमा सर्दैन, अफिसका साथीहरू र मिल्नेहरू सँग सर्दैन ! यो रोग त नचिनेका अपरिचित व्यक्तिबाट मात्र सर्छ भन्ने मानसिकताले मानिसहरू विनामास्क सहर बजार र भिडभाडमा भेटिनुका कारण नेपालमा कोरोनाका बिरामी घट्नुको साटो बढेर जाँदो छ ।
हो लामो लक डाउनका कारण देशको अर्थतन्त्र उठ्नै नसक्ने गरी थलिएको छ, जनतामा बढ्दो महँगीमा उद्योगधन्दा बन्द हुनुका कारण रोजगारी गुम्नुले थप नैरास्यता मात्र छाएको छैन, डिप्रेसनका बिरामी र दैनिक आत्महत्या गर्नेको आँकडा चुलिँदो छ । नेपाल पुलिसको लगत अनुसार पच्चीस सय भन्दा माथिले लक डाउन भएदेखि यता आत्महत्या गरिसकेका छन् जबकी कोभिडका कारण ज्यान गुमाउनेको संख्या दुई सय तलै छ ।
कोभिडले ज्यान मात्र लिएन । मानिसहरूलाई घर भित्रै बस्नुपर्छ, परिवारका जेष्ठ सदस्य अनि केटाकेटीका कुरा सुन्नुपर्छ । सामाजिक प्राणी भएका कारण मान्छे साँच्चै सामाजिक भएर बाँच्नुपर्छ भन्नेजस्ता अति उपयोगी टिप्स पनि सिकाएको छ मानिसलाई यो कोभिड महामारी र जस्का कारण बाध्यात्मक बनेको लक डाउनले । यस्का साथै मास्क, स्यानिटाईजर, सोसल डिस्ट्यान्स, पि सि आर, जस्ता अंग्रेजी शव्दहरू पनि सिकाएको छ उसले । उसो त लक डाउन जारीनै रहँदा, केही सकारात्मक सोच प्रवाह गर्ने खालका कोटहरू, इट इज जस्ट अ लक डाउन नट लाइफ डाउन…आदिले यसलाई सामान्य रूपमा सहयोग पु¥याउँथे ती दिनहरूमा । लक डाउनका सुरु सुरुका दिनहरू दैनिक भोज र मीठा मीठा परिकार जमघट, खेलबाड आदिमा बितेका भए पनि लामो लक डाउन बाध्यताको कडीको रूपमा रह्यो ।
अहिले उपत्यका लगायत देशका विभिन्न सहरहरूमा दोश्रो चरणको लक डाउन अर्थात निषेधाज्ञा जारी रहेको कारण यसलाई पालना गर्दै घर भित्र बस्नुनै उत्तम विकल्प हुनसक्छ । भनिन्छ नि जीवन रहे जगत देखिन्छ । भेन्टिलेटर, आइसोलेसन, क्वारेन्टाइनदेखि नजिकको घर भएकोले अनुशाशित बनौँ कोरोना भगाऔँ भन्न चहान्छु ।