एक हजार ५६६ कोरोना मुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ- नेपालमा शनिबार एक हजार ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६६ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ४१ जना सङ्क्रमित देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार शनिबार १२ हजार ४७३ जनाको पीसीआर परीक्षणका क्रममा थप एक हजार ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको हो ।

शुक्रबार एक हजार ३५९ जनामा कोरोना पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार सङ्क्रमित भएका एक हजार ४१ मध्ये ३४९ महिला र ६९२ पुरुष छन् ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४५ हजार २७७ पुगेको छ ।

हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८७० मात्र छ ।

कोरोनाबाट कतिपय जिल्ला भने मुक्त भएका छन् ।

मन्त्रालयका अनुुसार सङ्क्रमित शून्य रहेका जिल्ला छवटा छन् ।

पाँच सय भन्दामाथि सङ्क्रमित रहेका जिल्ला १२ वटा छन् ।

सङ्क्रमित शून्य रहेका जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

यस्तै पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् ।

देशभरका क्वारेन्टाइनमा छ हजार ५६१ जना रहेका छन् ।

होम क्वारेन्टाइनमा आठ हजार चार जना रहेका छन् ।

त्यस्तै संस्थागत आइसोलेसनमा नौ हजार ८६६ जना रहेका छन् ।

भेन्टिलेटरमा २४ जना र आईसीयूमा १६७ जना रहेका छन् ।