यो वर्ष मच्छेनारायण मेला नलाग्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ ।

यस वर्ष सेप्टेम्बर १८ देखि करिव एक महिनासम्म अधिकमास अर्थात मलमास परेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मच्छेनारायण मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ ।

एक महिनामा लाखौँ भक्तजनको भीड लाग्ने मेलाका कारण कोरोना फैलन सक्ने भयले मेला स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोनाका कारण यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो ।

रातो मच्छेन्दनाथको रथयात्रा ढिला गरी साङ्केतिक रूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी सरोकार भएका निकायले गरेका छन ।

अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा २० सौँ लाख धार्मिक पर्यटक मच्छेनारायणको पूजा आराधनाका लागि जाने गर्थे ।

मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्लाई गरिने विशेष पूजा आराधना भने यथावत रहेको नगरपालिकाले जनाएको छ ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ ।

मत्स्यनारायणका रूपमा भगवान्ले पहिलो अवतार लिएको स्थान भए पनि यहाँको विकासमा सरकारले ध्यान नदिएको स्थानीयवासी राम श्रेष्ठले बताउनुभयो ।