देशभरी थपिए १२ सय एक संक्रमित, काठमाडौंमा ४३१

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपालमा कोरोना भाइरसका एक हजार २०२ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट थप एक हजार २०१ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५३ हजार १२० जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ८५२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३७ हजार ५२४ पुगेको छ ।

यसैगरी, काठमाडौं उपत्यकामा ४३१ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ४३१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित पुष्टि भएकोमा सबैभन्दा बढी काठमाडौंका ३७७ जना छन् ।

ललितपुरका ३७ र भक्तपुरका १७ जना छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा सङ्क्रमित पुष्टि भएकामा १५० महिला र २२७ पुरुष, ललितपुरमा १६ महिला र २१ पुरुष तथा भक्तपुरमा पाँच जना महिला र १२ जना पुरुष सङ्क्रमित थपिएका हुन् ।