अगष्ट महिनामा नेपालमा भएका केही मुख्य मुख्य गतिविधिहरु
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2020/09/Gurung-Museum-Rasuwa.jpg)
गुरूङ संग्रहालय निर्माण
प्रदेश सरकारको सहयोगमा संग्रहालय निर्माण भएपछि भोर्ले, रसुवाका गुरूङ समुदाय हर्षित भएको छ । वाग्मती प्रदेश सरकारको २० लाख रुपैयाँ सहयोगबाट नौकुण्ड गाउँपालिका वडा नं ५ ठूलोभोर्ले नजीक रहेको गुरूङ गाउँमा दुई कोठा भएका संग्रहालय निर्माण सम्पन्न भएपछि गुरूङ समुदायमा उमङ्ग छाएको वडाध्यक्ष घोण्टे ग्याम्दानले जानकारी दिनुभयो । उक्त संग्रहालय भवनबाट गुरूङ समुदायका भावी पुस्तालाई पुर्खाको रीतिरिवाज देखाउन र कला संस्कृति संरक्षण गर्न सहज हुनाका साथै पर्यटकसमेत आगमन हुनेमा आफूहरू आशावादी भएको स्थानीय बासिन्दाले बताएका छन् । गुरूङ समुदायको हितका लागि संग्रहालय निर्माणमा रकम उपलब्ध गराई सङ्घीयताको मर्म र भावनानुरूप वाग्मती प्रदेश सरकारले गरेको सहयोग अविस्मरणीय भएको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो । ठूलोभोर्ले नजिक कोलडाँडा क्षेत्रमा करीव ४४ घरपरिवार गुरूङ समुदायको बस्ती छ । आ–आफ्ना घरमा रहेका पुख्र्यौली सामग्री संग्रहालयमा राख्न संकलन भइरहेको बताइएको छ । रसुवा जिल्लाको भोर्ले एवं ठूलो गाउँ समेतका क्षेत्रमा २५० भन्दा बढी गुरूङ समुदायको घरबस्ती रहेको बुद्धिजीवी बमबहादुर गुरूङले बताउनुभयो ।
१६ सय सुरक्षाकर्मी संक्रमित
विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर संक्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन । प्राप्त विवरणमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा एक हजार ६३३ जनामा संक्रमण देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन् । सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै संक्रमण देखिएको थियो । त्यसपछि संक्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ । सबैभन्दा बढी नेपाल प्रहरीमा संक्रमित भेटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार उपत्यकामा मात्रै १६३ जना फेला परेका छन् । पाँच सयभन्दा बढी निको भएर फर्किसकेका उहाँले बताउनुभयो । सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४३५ सशस्त्र प्रहरी संक्रमित भएका छन् । त्यसमध्ये १८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उहाँले जानकारी दिनुभयो । नेपाली सेनामा आजसम्म ४०३ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५०० भन्दाबढी संक्रमित भइसकेका छन् ।
नेपालको रेलमार्गमा भारत इच्छुक
काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड संक्रमण ङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको उहााको भनाइ छ । अझै एक दुई महिनासम्म टोलीलाई बोलाउन नसकिने हुनसक्छ । दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा उक्त रेलमार्ग निर्माणको सम्झौता भएको थियो । भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर उक्त रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो । नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति थियो । भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेल निर्माणको समझदारी भएको थियो । सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढिसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी – काँकडभिट्टा, नौतनहवा – भैरहवा र नेपालगञ्जरोड – नेपालगञ्ज रहेका छन् ।
संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ
कोरोना भाइरस संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना संक्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीको अगष्ट २१ का दिन शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत निकालिएको छोरीको अगष्ट २८ का दिन रिपोर्ट आएको हो । अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक रहेको अस्पतालले जनाएको छ । शिशुको रिपोर्ट आए पनि आमाको रिपोर्ट आउन बााकी रहेको अस्पतालले जनाएको छ । उहाँको रिपोर्ट नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज गरिने उपनिर्देशक श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना भाइरस संक्रमित गर्भवतीको उपचारको व्यवस्था नभएपछि उहाँलाई कोहलपुर रिफर गरिएको थियो ।
अकबरे खुर्सानीमा नयाँ रोग
नयाँ रोगले अकबरे (खुर्सानी) सखाप भएपछि इलामका किसान चिन्तित बनेका छन् । व्यावसायिक खेतीमा लागेका किसानको अकबरे रोगले सखाप बनाएपछि उत्पादन घटेको छ । अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको जरा ओइलाउने र एक्कासी कुहिने रोग देखिएको हो । यस वर्ष रोगले अकबरेबाट आम्दानी आधा हुने इलाम नगरपालिकाका अकबरे किसान डिल्ली चापागाईंको भनाइ छ । गएको वर्ष अकबरेबाट डेढ लाख रुपैयाँ कमाइ भएकामा यस वर्ष ५० हजार रुपैयाँमात्र हुने उहाँको अनुमान छ । ‘डाँठ कालो भएर कुहिने रोगले सबै सखाप पारेको छ’ चापागाईंले भन्नुभयो— ‘बढी पानी र हुस्से परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।’ गएको वर्ष एक हजार बिरुवा लगाएकामा करिब डेढ/दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चापागाईंको भनाइ छ । किसानले मौसम बदली भएर अकबरे मासिएको भने पनि प्राविधिक र विज्ञले भने नयाँ रोग भित्रिएको बताएका छन् । गत फागुनमा ८०० बिरुवा अकबरे खेती गर्नुभएका सूर्योदय नगरपालिका–९ का किसान एवं प्राविधिक खेमराज भट्टराईले सबै बोट कुहिएको दुखेसो सुनाउनुभयो । रोगले अकबरे सखाप भएपछि अकबरे लगाएको बारीमा फूलगोभी खेती गरिएको भट्टराईको भनाइ छ ।
सेनामार्फत सञ्चालित आयोजनाको प्रगति ८० प्रतिशत
नेपाली सेनाको व्यवस्थापनमा आथिर्क वर्ष २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजनामध्ये बंकरदेखि ब्यारेकसम्म कार्यक्रमको कार्य प्रगति सबैभन्दा अब्बल देखिएको छ । उक्त कार्यक्रम अन्तर्गत १२१ वटा भवन सेनाले निर्धारित समय अघि नै पूरा गरेको छ । उक्त आर्थिक वर्षमा त्यस कार्यक्रमका लागि १ अर्ब ८२ करोड ११ लाख ७१ रुपैयाँ बजेट विनियोजन भएकामा त्यस बजेटबाटै सेनाले थप १८ वटा पूर्वाधार निर्माण गरेको रक्षा मन्त्रालयले जनाएको छ । कोभिड–१९ का कारण मुलुकका धेरै आयोजना अलपत्र अवस्थामा रहेका बेला यो कार्यक्रमको वार्षिक कार्यप्रगति १०२.५ प्रतिशत छ । जुन अरु आयोजनाको तुलनामा निकै प्रशंसनीय मन्त्रालयले जनाएको छ । सेनाकै व्यवस्थापनमा निर्माणाधिन कालीगण्डकी करिडोरको वार्षिक लक्ष्यको कार्यप्रगति पनि शतप्रतिशत रहेको तथ्याङक प्रस्तुत गरिएको छ । उक्त आयोजनाका लागि उक्त आर्थिक वर्षमा २५ करोड रुपैयाँ रकम विनियोजन भएको थियो । त्यस्तै कर्णाली करिडोरको ९३ प्रतिशत र बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको वार्षिक कार्यप्रगति लक्ष्यको शतप्रतिशत नै भएको विवरण प्रस्तुत भएको छ । कर्णाली करिडोरलाई ३५ करोड रुपैयाँ तथा बेनीघाट–आरुघाट–लार्केञ्ज्याङ सडकलाई ११ करोड ७५ लाख रुपैयाँ रकम छुट्याएको थियो । दार्चुला–घााटीबगर गोरेटो ट्र्याक निर्माण पनि उक्त आर्थिक वर्षमा लक्ष्यको ८० प्रतिशत काम पूरा भएको छ ।
नेपालमा संक्रमण अझ बढ्ने स्वास्थ्य मन्त्रालयको अनुमान
नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताउनु भयो । उहाँले संक्रमण वृद्धि भएसंगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढिरहेको उहाँको भनाइ छ । उहाँले संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गर्नुभयो । प्रवक्ता डा. गौतमले संक्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गर्नुभयो । सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट संक्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार कोभिड–१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ ।
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Samita-Giri.jpg)
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/MRS-Vogue-Nepal-2024.jpg)
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...