कोभिड-१९ ले कृषि क्षेत्र धराशायी, बिशेष योजना ल्याउन अवास्यक  – एनआरएनए विज्ञहरु!

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज २५, २०७७

गैरआवासीय नेपाली संघले हालै आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षा सम्बन्धि बिषयले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषि क्षेत्रको उत्थानका लागि कृषिसँग सम्बन्धीत आधा दर्जन भन्दा बढी कार्यपत्र प्र्रस्तुत भएका थिए ।

सम्मेलनमा “कृषि तथा खाद्य सुरक्षा” विचार गोष्ठीका संयोजक डाक्टर जगदीश तिम्सिनाले कार्यपत्रहरु प्रस्तूत गर्दै नेपाल कृषिप्रधान देश भएपनि कृषिमा आत्मर्निभर हुन नसकेको, उत्पादन घट्दै जाँदा कृषिक्षेत्रमै परनिर्भरता बढ्दै गएको बताए । ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भएपनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको यसको योगदान बढ्न सकेकोले नेपालले वर्षेनी २ खर्ब भन्दा बढीको कृषिजन्य वस्तु आयात गर्नु परेको बताए।

भौगोलिक बिबिधताका कारण नेपालको कृषि प्रणाली क्षेत्रीय, जैविक र भौगोलिक दृष्टिकोणले चुनौतिपूर्ण छ । यस्तो चुनौतीलाई अवसरमा परिणत गर्न, सरकार, बिज्ञ र स्थानीय कृषकहरुसंग मिलेर काम गर्नु पर्ने बताउदै कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको डा. जगदीश तिमिल्सनाले बताए ।

गोष्ठीमामा आफ्नो विचार राख्दै राष्ट्रिय योजना आयोगको पूर्व सदस्य विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको बताउदै कृषिमा प्रशस्त संभावना भएपनि उत्पादनमा जान नसकिएको बताईन । नेपालमा धेरै संभावना भएपनि धेरै आयात गर्नुपरेको अवस्था छ। कोभिडले समग्र अर्थतन्त्रमा असर पारीरहेको अवस्थामा कृषि क्षेत्रमापनि समस्या सिर्जना गरेकोले ‘कोभिड १९ ले भोकमरीको अवस्था आउन सक्ने देखिएको छ’ उनले भनिन् ।

त्यसैगरि डेरी, तरकारी र पोल्ट्री व्यवसाय कोभिडले धराशायी बनाएको छ, मलको समस्या समाधान गर्न सरकारले सकेको छैन, कृषि पूर्वाधार तथा प्रविधि नभएका कारण कृषि आत्मनिर्भर हुन नसक्नु,  किसानको प्रवद्र्धन हुन नसकेकोमा उनले चिन्ता ब्यक्त गरिन । ‘रोडम्याप बनाएर निर्यातमा भन्दा आयात प्रतिस्थापन गर्न सके छोटो समयमै नेपालले कृषि क्रान्तिमा फड्को मार्न सकिने विचार ब्यक्त गरिन ।

धान विशेषज्ञ भोलामान सिंह बस्नेतले चैते धान र बर्खे धान उत्पादन बढाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउन सके मात्रै धानमा आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले खाद्य र पोषण सुरक्षामा जोड दिनुपर्ने बताए । खाद्य सुरक्षा नीति र पोषण सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ । कृषि विकास रणनीतिले समेत खाद्य सुरक्षामा प्राथिमकता दिएको छ।

नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य यमुना घलेले धेरै खाद्य वस्तु संस्कृति र पहिचानसँग जोडिएको बताइन । खानेकुराको स्वाद, बनाउने शैली र समयले पनि खाद्यवसस्तुको उपयोगिता बढ्ने उनको भनाइ छ। खाना र पहिचान जोडिएर आउँछ,  उनले भनिन ‘बच्चा जन्मेदेखि मृत्युसंस्कारसँग खानाको महत्व छ ’ ।

रबर विज्ञ तिलक भण्डारीले नेपालमा रबरको व्यवसायिक  खेतीको संभावनाका प्रशस्त रहेको बताए । वर्षेनी ११ अर्बको रबर आयात भइरहेको भन्दै स्वदेशमै रबर उत्पादन गर्न सरकारले ध्यान दिन नसकेको बताए । रबर धानपछि दोस्रो बाली हो र यसबाट ५० हजार वस्तु उत्पादन गर्न सकिन्छ ।  २ प्रतिशत मात्रै स्वदेशी रबरले धानेको, ९८ प्रतिशत बाहिरबाट आउदा ११ अर्बको रबर आयात भएको छ । नेपालमा रबरको खेतीबाट रोजगार दिन सकिने उनले बताए ।

 

कोरोना कहर: माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन

कोरोना भाइरस (कोभिड १९) ले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएपनि तत्काल पूरा हुने नदेखिएको हो ।

गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको क्रममा ‘कोरोनापछि पशुपालनको समस्या र समाधान’ कार्यपत्र प्रस्तुत गर्दै पशुसेवा विभागका निर्देशक बंशी शर्माले माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिएपनि कोभिडले असर पुर्याएको बताए ।

कुल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ । कृषि क्षेत्रमै पशुपंक्षीको योगदान ३० प्रतिशत छ । ६० प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन् ।

निर्देशक शर्माले पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले पशुपालन क्षत्रलाई प्राथमिकता दिदैँ आएको बताए । व्यवसायिक पशुपालन गर्न सक्दा गरिबी निवारण र रोजगारी सिर्जनामा यसले महत्वपूर्ण योगदान पु-याउँछ ।’ उनले भने । कोरोना भाइरस(कोभिड १९)ले दूधमा पूर्णरुपमा असर पुगेको छ ।

 

निर्देशक शर्माले पशुमा लाग्ने रोग खेरेट, पिपिआर लगायत निर्मूल पार्न सरकार लागिपरेको बताए। व्यवसायिक पशुपालनको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा काम गर्न सके पशुपालन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिने बताइएको छ ।

निर्देशक शर्माले गरिबीका कारण माछा, मासु र दूधको उपयोग बढ्न नसकेको बताए । पछिल्लो समयमा कोभिडले मासुको उपयोग झन् घटाएको र दूधको बिक्री हुन नसक्दा पाउडर बनाउनुपर्ने अवस्था आएको बताए ।

 

कृषि उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पु-याइने

नेपाली कृषि उत्पादन विश्वबजारसम्म पु-याइने भएको छ । नेपालको अर्गानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पु-याउने तयारी भएको हो ।

गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनका क्रममा ‘कृषि उत्पादन र बजारीकरण’ प्यानल छलफलका क्रममा बोल्ने वक्ताहरुले कृषि उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पु-याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने वक्ताहरुले बताए । केमिकल, विषादी तथा एन्टिबायोटिकको प्रयोग बढीरहेकोमा चिन्ता व्यक्त गर्र्दै अर्गानिक खेतीमा ध्यान दिन सके स्वदेश तथा विश्वबजारमै बिक्रीको समस्या नहुने वक्ताहरुले उद्घोष गरेका छन् ।

उद्योगी पवन गोल्यानले कृषि क्षेत्रमा पछिल्लो समयमा प्राथमिकता दिएको बताए । दुई तिहाइ किसान कृषिमै रहेकाले देशको लागि केही गर्न कृषि क्षेत्रमा जोडिएको उनको भनाइ छ । ‘गाउँगाउँमा गएर अर्गानिक खेति पनि सिकाँदै छौं’ उनले भने,‘ बिषादी खाद्यवस्तु खाएर धेरै बिरामी परेको अवस्था छ। ’ गोल्यानले २५ वटा गाउँमा अर्गानिक जैविक मल र जैविक खेती गरी बिक्री गर्न नसक्ने किसानको वस्तु आफै किनिदिने गरेको बताए ।

बजारीकरण महत्वपूर्ण विषय भएको भन्दै उनले नेपाल र विदेशमा बजारीकरण गर्न ध्यान दिनुपर्ने बताए। एग्रो प्रोसेसिङ इन्डस्ट्रीमा हात हालेर सरकार तथा नीजि क्षेत्रले बजारीकारणमा काम गर्नु जरुरि छ । तालिम दिएर नेपाली श्रमिकलाई दक्ष बनाउनुपर्ने र विदेशी श्रमिक विस्थापित गर्दै जानुपर्ने उहाँको भनाइ छ ।

सरकारले रिटर्नी माइग्रेनलाई १० लाखसम्मको सहुलियत कर्जा बिना धितो ५ प्रतिशत ब्याजमा दिने व्यवस्था गरेको छ । एनएमबी बैंकका अध्यक्ष समेत रहेका गोल्याणले सहुलियत कर्जामा उच्च प्राथमिकता दिएर विदेशबाट फर्केकालाई उद्यमी बनाउन लागिपरेको बताए ।

निम्बस ग्रुपका एक्जुकेटिभ डाइरेक्टर दिनेश गौतमले कृषिजन्य वस्तुको निर्यातमा प्राथमिकता दिइरहेको बताउनुभयो । किसानसँग प्रत्यक्षरुपमा जोडिएर फार्मिङ सञ्चालन गरी कृषिमा प्रत्यक्ष काम गरिरहेको उहाँले बताए ।

निम्बसले अन्नमन्डी कन्सेप्ट ल्याएका छ । खाद्यबाली धान, गहुँ र मकैको जीडिपीमा ठूलो योगदान दिएकाले यसको उत्पादन बढाउन सबै जागरुक हुनुपर्ने उनले सुनाए । किसानलाई बजार, बिक्री, कर्जा, ढुवानी, भण्डारण र बिमामा सहयोग गर्न सके कृषि उत्पादन बढ्ने र बजारीकरण हुन थप सघाउ पुग्ने उनको भनाइ छ ।

कन्चनजंगा टि स्टेटका डाइरेक्टर शान्ता कोरोइराला बास्कोटाले साना किसानलाई प्रोडक्सनमा जोड्न ध्यान दिएको बताउदै अर्गानिक उत्पादनको विश्वबजारमा माग बढ्दै गएको मन्तब्य ब्यक्त गरिन । कञ्चनजंगा टि स्टेटले सन् २००२ देखि नै अर्गानिक उत्पादन गर्दै आएको छ । ‘हामी विभिन्न देशको स्ट्याण्डर्ड मापन गरी उत्पादन गर्ने गरेकाले बिक्रीमा समस्या छैन् ।’   क्वालिटी स्ट्यान्ड हुने भएकाले डिमान्ड बढी भएको उनको अनुभव छ  ।

नेपाली उत्पादन अन्र्तर्राष्ट्रिय बजारमा पु-याउन सरकारले निर्यातमा सहजीकरण गर्नुपर्छ । विदेशमा पु-याउन ल्यावटोरी जिटुजी हुन सके सहज हुने उनले सुनाइन् । ‘क्षेत्रगत अनुसार सर्टिफिकेसन देश टु देश अनुसार गर्नुपर्छ ।’ उनले भनिन् । मास प्रोडक्सनका लागि फन्डिङ आवश्यक पर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

मास प्रोडक्सनमा जान कोरोना भाइरस(कोभिड १९) बाट रोजगारी गुमाएर विदेशबाट फर्केकालाई समेट्नुपर्ने बताउदै ‘छुट्टै योजना ल्याएर उनीहरुलाई उद्योग र कृषिमा प्राथमिकता दिनुपर्छ’ ।  मार्केटिङको लिंकअप गर्न सके किसानले बजारको समस्या भोग्नुपर्दैन।’

खाद्य प्राविधिक सक्झना दाहालले फुड सेफ्टी एण्ड क्वालिटी हुन सके बजारको समस्या नहुने बताउछन । ‘यसो भए एक्सपोर्ट मार्केटमा जान सक्छ’उनले भनिन्,‘तर बिक्री वितरणमा सहज बनाउन आइएसओलगायत सर्टिफिकेट लिनुपर्छ ।’ फुड क्वालिटी र सिस्ष्टममा उत्पादन गर्न ध्यान दिनुपर्ने उनले बताउनुभयो ।

विचार गोष्ठीमा नेपाल र विदेश गरि  १६ वटा कार्यपत्र हरु प्रस्तूत गरिएका थिए ।