बाईडेनको जीतः लयमा अमेरिकी लोकतन्त्र

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०७७

अमेरिका, लगातार ३७ वर्ष सिनेटर रहेर सन् २००९ देखि सन् २०१६ सम्म बाराक ओबामाको उपराष्ट्रपति रहेका जो बाईडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाईडेन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका हुन । आबश्यक ईलोक्ट्रोल मत पाएर निर्वाचित भएपनि उनले आगामी जनवरी १९ मा मात्र पद सम्हाल्ने अमेरिकी परम्परा रहेको छ । मतगणनाका क्रममा पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन् । अझै केहि एरिजोना, नेभाडा नर्र्थक्यारोलिना लगायत केहि राज्यहरुबाट मतपरिणाम आउन बाँकी छ । राजनीतिमा निकै खारिएका अनुभवी नेताका रुपमा परिचित बाईडनले वर्तमान अमेरिकी राष्ट्रपतिको गैरराजनीतिक अनुभवलाई परास्त गर्न सफल भएका हुन् । ४७ वर्ष अघि डेलावरबाट सन् १९७३ मा अमेरिकी सिनेटर निर्वाचित भएका उनी लगातार सात पटक सिनेटर चुनाव जितेको एक मात्र ईतिहास बनाएका छन् । अमेरिकी ईतिहासमा सबैभन्दा जेठो (७८ वर्ष) राष्ट्रपति बनेका बाईडेन सन् १९७८ मा राष्ट्रपतिका लागि चुनावी मैदानमा ओर्लिएका बेला भाषण चोरेको अभियोग लागेपछि मैदान छोडेका थिए ।
लामो राजनीतिक अनुभवका कारण बाईडेनलाई विश्वको राजनीतिक धरातल र अवस्था निकै सजिलो हुने देखिन्छ । उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष भैसकेका व्यक्ति हुन । आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन् । सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले । अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएको बताईन्छ । तर सो कारबाहीमा बिन लादेन मारिए । अमेरिकी युवाबीच अलोकप्रिय रहेका बाईडेनलाई सय वर्र्ष भने ट्रम्पको कारण हुनसक्दछ युवा मत बढी खसेको देखिन्छ ।

ट्रम्पको हारको कारण र अबको कठिन दिन ?
लोकतन्त्रको ठेकेदार ठान्ने अमेरिकामा पछिल्लो निर्वाचन परिणामले लोकतन्त्रका हिमायतीहरुलाई हौसला मिलेको टिप्पणी हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनलाई उति बेलै राजनीतिका पण्डितहरुले लोकतन्त्रकै लागि खतरा भन्दै आएका थिए । उनकै पार्टी रिपव्लिकनका एक गर्भनरले अमेरिकामा रिपव्लिकन वा डेमोक्र्याट भन्दा पनि यस पटकको निर्वाचनमा लोकतन्त्रको पक्षमा मतदान गर्न भन्दै बाईडेनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । राष्ट्रपति ट्रम्पले निर्वाचन हार्नुमा बाईडेन धेरै बलिया भएका होईनन् ट्रम्पको गैरराजनीतिक चरित्र दोषी हो । ट्रम्प एक त व्यापारिक घरनाबाट आएका र उनी समान्यतया ठाडो नाफा घाटामा विश्वास गरेर अमेरिकाको संस्थापकहरुले लिएको मुल्य मान्यतालाई चटक्क विर्से । उनको उत्ताउलो र छुचो बोलीले संचार क्षेत्रदेखि अन्तराष्ट्रिय सम्बन्धमा विश्वासिलो वातावरण बन्न सकेनन् । आफ्ना सहयोगीलाई विश्वास नगर्ने र परिवारवादमा विश्वास गर्न थालेपछि आफ्नै पार्टीका पूर्ववरिष्ठ अधिकारीहरुबाट टाढिदै गएका थिए । त्यतिमात्र होईन, आफनै पार्टीका केहि स्टेट गर्भनरहरुले ट्रम्पको साटो बाईडेनलाई समर्थन गर्न बाध्य भएका थिए । यो निर्वाचनले अमेरिकाको विश्वसामु रहेको दवदवाले पुर्नजिवित भएको टिप्पणी हुन थालेको छ । यस अर्थमा ट्रम्पले अमेरिकालाई विश्व राजनीतिबाट अलग्याउँदै लगेको आरोप लागेको थियो ।
ट्रम्पले ह्वाईट हाउसलाई निकै प्यारो यस अर्थ भनेका हुन की उनका लागि राष्ट्रपति पदमा नहुँदा सार्वजनिक जीवन सहज छैन । कारण उनीमाथि सयांै मुद्दाहरु छन् जुन राष्ट्रपतिपदबाट बाहिर आएसंगै सक्रिय रहने अनुमान गरिएका छन् । जसबाट उनको कठिन दिनहरु शुरु हुनेछन् । न्यूयोर्क टाईम्सले छापेको एक विश्लेशणमा ट्रम्प ह्वाईट हाउस बाहिर निस्किए लगत्तै कानुनी झमेलामा पर्नेछन् । ट्याक्स छली, र अन्य विभिन्न मुद्दाहरुको छिनोपानो हुन बाँकी रहेकोले पनि उनले आफ्नो बाँकी जीवन त्यति सहज नहुने ठानेर चुनाव जित्न कुनै हथकण्डा गर्न बाँकी राखेनन् । त्यसैले उनले एक पटक भनेका थिए आफुले राजनीतिमा हार र व्यापारमा घाटा भन्ने शब्द सुन्न नरुचाउने भएकोले चुनावी परिणाम आफ्नो पक्षमा रहेको बताएका थिए ।

कमला ह्यारिसः पहिलो महिला, कालाजाति तथा आप्रवासी उपराष्ट्रपति
अमेरिकी उपराष्ट्रपतिमा विजयी भएर कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन् । राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएपछि उनको विभिन्न नयाँ रेकर्ड कायम गरेकी छिन् । कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला हुन् । कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन् । उनका बुबा जमैकन र आमा भारतीय मुलकी हुन । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै एकाएक चर्चामा आएकी थिईन ।
अमेरिकी ईतिहासमा सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार मात्र बनेको तर तर दुवैजनाले चुनाव जित्न सकेनन् । कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए ।
उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् । कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् ।

राष्ट्रपति ट्रम्प के गर्दैछन् ?
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले धाँधली भएको कारण देखाउँदै निर्वाचन परिणाम अस्वीकार गरि विभिन्न राज्यहरुमा पुनः मतगणना हुनुपर्ने भन्दै मुद्दा हालेका छन् । कतिपय राज्यहरुले मुद्दा खारेज गरेको छ भने कतिपय राज्यहरुमा पुनः मतगणनाका लागि आ–आफ्नै नियमहरु रहेका छन् । ट्रम्पको चुनावी अभियानकर्ता टोलीले विस्कन्सिनमा पुनः मतगणना हुनुपर्ने माग गर्दै रिट दर्ता गरेका छन् तर त्यो संभवना कम देखिन्छ । घोषणा हुन् बाँकी मतगणनाको परिणामले विस्कन्सिनमा ट्रम्प र बाइननबीच मतान्तर एक प्रतिशतभन्दा पनि कम रहेको देखाएका छन् । यस्तो अवस्थामा उम्मेदवारहरूले पुनः मतगणनाको माग गर्न त पाउँछन् तर त्यस्तो मतगणनाको खर्च पनि मतगणनाको माग गर्ने उम्मेदवारले बेहोर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । त्यसैले ट्रम्पको चुनावमा संलग्न टोलीले मतगणना परिणामविरुद्ध दिइने कानुनी चुनौतीहरूका क्रममा हुने खर्च जुटाउन दाताहरूसँग चन्दा संकलन शुरु गरेका छन् । रिपब्लिकन पार्टीकी राष्ट्रिय अध्यक्ष रोना म्याडिनेयलले कानुनी लडाई बाँकी रहेको भन्दै निर्वाचन परिणामबारे प्रश्न गरेकी छिन् । त्यस्तो पुनः गणना कहिले होला भन्ने स्पष्ट छैन किनकि अधिकारीहरूले मतगणना परिणामको समीक्षा सम्पन्न नगरिकन त्यस्तो कार्य सामान्यतया सुरु हुन सक्दैन ।
सामान्यतय यस्ता प्रक्रिया सम्पन्न गर्न राज्यलाई नोभेम्बर १७ सम्मको समय रहेको छ । ट्रम्पको चुनावी खेमाले मिशिगनमा जारी मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरेको छ । मिचिगनमा मतपेटिका खोल्ने र गणना थाल्नु अघि त्यस प्रक्रियामा आफ्नो प्रतिनिधि राख्न माग गर्दै आएका थिए । मिशिगनको एक शहरमा त्यहाँको एउटा मतगणना केन्द्रमा ट्रम्पका सर्पोटरहरुले विरोध प्रदर्शन गरेर मतगणना प्रक्रियाको पर्यवेक्षण गर्न पाउनु पर्ने माग गरेका थिए । अमेरिकी मतदान र गणनाका प्रक्रियामा त्यस्ता भवनभित्र पहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू रहने प्रचलन छ ।
त्यस्तै गरी ट्रम्पले पेन्सिल्भेनियामा पनि त्यहाँ मतगणनामा पारदर्शिता कायम नभएको भन्दै मतगणना रोक्न दुईवटा मुद्दा दायर गरेको छ । उता राष्ट्रपति ट्रम्पले जोर्जियामा पनि मतगणना रोक्न कानुनी चुनौती दिने बताएका छन् । उनको अनुसार त्यहाँको एक काउन्टीमा ढिलो गरी प्राप्त हुलाकबाट मतदान गरिएका ५३ वटा मतपत्रहरू गैरकानुनी रूपमा मिसाइएको एकजना रिपब्लिकन चुनाव पर्यवेक्षकले देखेको भन्दै आएका छन् । मतदानको दिनको छाप लागेका हुलाकमार्फत् मतदान गरिएका मतपत्रहरू तीन दिनसम्म ढिलो गरी प्राप्त भएमा पनि तिनलाई मान्यता दिएर गणना गरिने उक्त राज्यको कानुनी प्रावधान रहेको छ तर राष्ट्रपति ट्रम्पले निर्वाचनको दिन भन्दापछि हुलाकबाट आएका मतपत्रहरुलाई गणना प्रक्रियामा सहभागी नगराउन माग गर्दै आएका छन् । यसबाट ट्रम्प आफ्नो पराजय सजिलै मान्न तयार छैनन् र अझै केहि दिन यस्तै अरु झमेला अमेरिकी राजनीतिमा देखिने पक्का छ ।

अमेरिकामा कार्यकारी राष्ट्रपति कसरी छानिन्छ ?
अमेरिकामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति छानिने भनिए पनि राष्ट्रपति जनताको प्रत्यक्ष मतबाट चुनिँदैन । सन् १८०६ बाट सविधानको १२ औं संशोधनबाट राष्ट्रपति र उपराष्ट्रपति छान्न ईलोक्ट्रोल कलेजको व्यवस्था गरिएको हो । जनताले राष्ट्रपतिलाई मतदान गर्ने प्रतिनिधिको समूहलाई मतदान गरेर निर्वाचित गर्छन् जसलाई इलेक्टोरल कलेज भनिन्छ । यी इलेक्टोरल कलेजको काम नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नु हो । हरेक चार वर्षमा राष्ट्रपति निर्वाचन भएको केही दिनपछि इलेक्टोरल कलेजहरू जम्मा हुन्छन् र उनीहरुले मतदान गरेपछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुन्छन । अमेरिकाको ५० राज्यहरुबाट राज्यको जनसंख्याको आधारमा कलेजको संख्या निर्धारित हुन्छ । कुनै राज्यबाट अमेरिकी संसद्मा जति सदस्य निर्वाचित हुन्छन्, इलेक्टोरल कलेज पनि त्यति नै निर्वाचित हुन्छन । सबैभन्दा बढी इलेक्टोरल कलेज क्यालिफोर्नियामा ५५ जना निर्वाचित हुन्छन् भने अलास्का, नर्थ डाकोटाजस्ता राज्यमा तीनजना निर्वाचित हुन्छन् । इलेक्टोरल कलेजमा कुल पाँच सय ३८ भोट हुन्छन् । कम्तीमा दुई सय ७० भोट ल्याउने उम्मेदवार विजयी हुन्छ ।
अमेरिकाको कुनै राज्यमा जुन पार्टीले लोकप्रिय भोट बढी ल्याउँछ, त्यस राज्यको सबै इलेक्टोरल भोट त्यही पार्टीले जित्छ । त्यसो हुँदा सम्पूर्ण मुलुकमा धेरै मत ल्याए पनि कम इलेक्टोरल कलेज निर्वाचित भएका कारण कुनै उम्मेदवारले राष्ट्रपतिको निर्वाचन हार्न सक्छ । यस्तो विगतमा पटकपटक भएको छ । मतको आधारमा राष्ट्रपतिको छिनोफानो लागे पनि कानुनी रुपमा अब डिसेम्बर १४ को दिन कंग्रेसमा इलोक्ट्रोल मतदान हुनेछ भने त्यो मत जनवरी ६ तारिकमा गणना गरेर औपचारिक विजयी घोषणा गर्ने कानुनी व्यवस्था छ । जित्ने उम्मेदवारले जनवरी २० मा पद तथा सपथग्रहण गर्नेछन र त्यहि दिन औपचारिक कार्यक्रम गरी नयाँको स्वागत र पुरानोको विदाई गर्ने प्रचलन रहेको छ ।

कुन राष्ट्रपतिले कति इलेक्टोरल मत पाए ?
राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक मत पाए पनि सम्पूर्ण मतपरिणाम आई नसकेकोले बाईडेनले कति मत पाउँछन यो समाचार तयार पार्दासम्म एकिन भएको छैन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा ३०६ इलेक्टोरल मत ल्याएका थिए भने हिलारी क्लिन्टनले २२७ मत पाएकी थिईन । २०१२ को चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत ल्याएका थिए । सन् २००८ को चुनावमा भने ओबामाले ३६५ इलेक्ट्रोरल मत ल्याएका थिए । सन् २००४ को चुनावमा जर्ज डब्ल्यु बुसले २८६ इलेक्टोरल मत ल्याएका थिए भने सन् २००० को चुनावमा उनले जम्मा २७१ इलेक्ट्रोरल मत ल्याएका थिए ।
सन् १९९६ को चुनावमा विल क्लिन्टनले ३७९ इलेक्टोरल मत ल्याएका थिए भने १९९२ मा उनले ३७० इलेक्टोरल मत ल्याएका थिए । सन् १९८८ मा जर्ज बुस सिनियरले ४२६ इलेक्टोरल मत ल्याए । सन् १९८४ मा रोनाल्ड रेगनले ५२५ इलेक्टोरल मत ल्याएका थिए । उनले सन् १९८० को चुनावमा उनले ४८९ इलेक्टोरल मत ल्याएका थिए ।

सर्वोच्च अदालतको भूमिका
पछिल्लो पटक आफुले मनोनित गरेको समेत गरी बहुमत रिपव्लीकन न्यायधिष सर्वोच्च अदालतमा रहेकोले आफुले माग गरेका कुरामा फैसला हुनसक्ने आंकलन गर्दै उनले अहिलेको चुनावी हारलाई कानुनी बाटो अवलम्बन गर्ने तयारी गरेका हुन । त्यसैले होला मंगलबार साँझ मतदान सकिदा केहि हौसिएका ट्रम्पले बुधवार बिहान सबेरै ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा विजय हासिल गरेको तर हारेमा यो विषयलाई सर्वोच्च अदालतसम्म लैजान तयार रहेको घोषणा गरेका थिए । तर कतिपय अवस्थामा अमेरिकी राज्यहरुमा छिनोफानो भएका निकै थोरै मुद्दाहरुमा सर्वोच्च अदालतमा पुग्छन् । तर बाईडनको चुनावी अभियानका कानुनी सल्लाहकार बब बाउअरले कानुनी रूपमा भएको मतदानलाई अवैध तुल्याउन ट्रम्पसँग कुनै आधार नभएको बताएका छन् । अमेरिकामा कहिले काही चुनावी मुद्दाहरु अदालत पुगेर टुगिएको ईतिहास पनि छ । ट्रम्पले भावी कानुनी लडाइँका लागि २० जना वरिष्ठ वकिलहरुलाई तयारी अवस्थामा राखिएको समाचारहरु सार्वजनिक भएका छन् ।