सरकारद्वारा होमबिल्डर अनुदानको म्याद थप, रकममा कटौती,  के के छन् मापदण्डहरु?

-- Mahendra Kumar Lamsal / प्रकाशित मिति : आइतवार, मंसिर १४, २०७७

कोभिड -१९ संक्रमणका कारण ओरालो लागेको प्रोपर्टी मार्केटलाई जीवन्तता प्रदान गर्न र रोजगारीमा वृद्धि गर्न अष्ट्रेलियाको संघिय सरकारले गत जुन महिनामा प्रति परिवार २५ हजार होम बिल्डर ग्रान्ट प्रदान गर्ने घोषणा गरेको थियो। यो ग्रान्ट प्राप्त गर्नका लागि आफू बस्नका लागि निर्माण गरिने घर जसको अधिकतम मूल्य ७५०,००० अष्ट्रेलियन डलरसम्म हुनुपर्ने व्यवस्था थियो। त्यसका अतिरिक्त आफू बसेको घरमा उल्लेखनीय मर्मत (रिनोभेसन) गर्नका लागि पनि सरकारले प्रति परिवार २५,००० अष्ट्रेलियन डलर अनुदानको घोषणा गरेको थियो। रिनोभेसन ग्रान्टका लागि रिनोभेशन खर्च १५०,००० देखि ७५०,००० लाग्ने र प्रोपर्टीको मूल्य १५००००० (पन्ध्र लाख) भन्दा बढी हुन नहुने मापदण्ड सरकारले तोकेको थियो।

गत जुन महिना मा घोषणा गरिएको स्किम अन्तर्गत होम बिल्डर ग्रान्टका लागि सरकारले घर बनाउने वा मर्मत गर्ने करार (कन्ट्रयाक्ट) जुन ४, २०२० देखि डिसेम्बर ३१, २०२० सम्म गरिसक्नु पर्ने जनाएको थियो। र निर्माण कार्य उक्त कन्ट्रयाक्ट गरेको ३ महिना भित्र सुरु भइसक्नु पर्ने छ। साथै यो अनुदान रकम प्राप्त गर्नका लागि आवेदक अष्ट्रेलियन नागरिक हुनु पर्ने, घर आफू बस्ने उद्देश्यले खरिद गर्न लागिएको हुनुपर्नछ। रिनोभेसनको हकमा पनि आफु बसेको घर मात्र यस्तो ग्रान्टको लागि योग्य हुने मापदण्ड तोकेको छ। त्यसैगरी होम बिल्डर ग्रान्ट प्राप्त गर्नकालागि एकल आम्दानी प्रतिवर्ष १२५,००० र जोडीको प्रतिवर्ष २,००००० भन्दा बढी हुनु हुदैन ।

अनुदान आवेदनका लागि म्याद थप, रकम कटौती, मापदण्डमा सामान्य परिवर्तन  

गत जुन महिनामा घोषणा गरिएको होमबिल्डर ग्रान्टको रकम २५ हजार डलर बरावरको थियो र २७ हजार घरहरुका लागि प्रदान गर्ने लक्ष सरकारले राखेको थियो। आवेदनका लागि अन्तिम मिति ३१ डिसेम्बर २०२० सम्म मात्र थियो ।  यहि २९ नोभेम्बरका दिन सरकारले अर्को घोषणा गरि आवेदनका लागि ३१ मार्च २०२१ सम्म म्याद थप गरेको छ। थपिएको म्याद अनुसार थप १५,००० घरहरुलाई अनुदान पुर्याउने योजना सरकार को रहेको छ भने अनुदान रकम घटाएर १५,००० डलर प्रति परिवार बनाएको छ। तर ३१ डिसेम्बर सम्म आवेदन गर्ने हरुका लागि भने साविक को $२५००० नै प्राप्त हुने छ। यसरि सरकारले कुल ४२ हजार परिवारलाइ होमबिल्डर ग्रान्ट प्रदान गर्ने लक्ष राखेको छ । पहिलो ग्रान्ट स्किम अन्तर्गत नोभेम्बेर २०, २०२० सम्म करिब २४ हजार आवेदनहरु परिसकेको सरकारले जानकारी दिएको छ।

थप गरिएको अबधि (१ जनवरी २०२१ देखि ३१ मार्च २०२१) मा होम बिल्डर ग्रान्ट प्राप्त गर्नका लागि घरको खरिद मूल्यमा थोरै हेरफेर गरिएको छ। न्युसाउथवेल्समा ९ लाख पचास हजार र भिक्टोरियामा ८ लाख पचास हजार बढी हुन नहुने तोकेको छ । अरु राज्य हरुमा भने ग्रान्ट प्राप्त गर्नका लागि घरको मूल्य साविककै ७ लाख पचास हजार भन्दा माथि हुनु हुदैन । यसै गरि बिल्डिंग कन्ट्रयाक्ट साइन गरेको ३ महिना भित्र निर्माण सुरु गरिसक्नु पर्ने साविक नियममा पनि थप गरि सरकारले ६ महिनाको समयावधि बनाएको छ।

संसार अहिले कोभिड-१९ संक्रमणको चपेटामा पर्दै गर्दा अष्ट्रेलिया सरकार कोभिड-१९ करिब करिब निर्मूल पार्न सफल भएको देखिन्छ।  तर पर्यटन, निर्यात तथा अन्तर्राष्ट्रिय विद्यार्थीमा आएको गिरावटले गर्दा समग्र अर्थतन्त्र अझै थलिएको छ। यस्ता ग्रान्टहरु घोषणा गरेर यतिबेला सरकार “जब किपर”, “जब सिकर” पश्चात् अब “जब मेकर” अभियानमा जुटेको देखिन्छ ।  यस्तो विषम, परिस्थितिमा सरकारले प्रदान गरेको यो होमबिल्डर ग्रान्ट “जब मेकर” नीति तथा अभियानको एउटा हिस्सा हो। होमबिल्डर ग्रान्ट कै कारण घर खरिद बिक्रीमा अगस्त, सेप्टेम्बर, अक्टोबर क्वार्टरमा गत बर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको हाउजींग मन्त्रि माइकल सुक्कारले जनाएका छन् ।सरकारी आंकडा अनुसार हाउजींग सेक्टरबाट मात्र बार्षिक १ बिलियन डलर अष्ट्रेलियाको अर्थतन्त्रमा योगदान गर्दछ भने यो कुल गार्हस्थ उत्पादनको ५ प्रतिशित हो। करिब १० लाख मानिसहरु यस क्षेत्रमा रोजगार छन् ।

मानिसहरुलाई रोजगारी प्रदान गर्न र अर्थतन्त्रलाई गति दिन होम बिल्डिंङ् सेक्टरलाई महत्वका साथ हेरेको सरकारका ट्रेजर जोस फ्राईडेन्वर्ग बताएका छन् । ३१ डिसेम्बरमा होम बिल्डर ग्रान्टको म्याद सकिए पछि के हुन्छ भन्ने अन्योल रहदै गर्दा निर्माण क्षेत्रसंग सम्बन्धित बिज्ञहरुसंग परामर्श गरि ग्रान्टको म्याद ३१ मार्च २०२० सम्म थप गरिएको जानकारी हाउजींग सम्बन्धित मन्त्रि माइकल सुककारले बताएका छन् ।

आवेदन कसरि गर्ने ?

ग्रान्ट १४ अप्रिल २०२१ सम्म सम्बंधित राज्यको स्टेट रेभेन्यु अफिसमा आवेदन गर्न सकिने छ । ४ जुन देखि ३१ डिसेम्बेरसम्म कन्ट्रयाक्ट साइन गरेका आवेदकहरुले २५ हजार प्राप्त गर्ने छन् भने १ जनवरी देखि ३१ मार्च २०२१ सम्म कन्ट्रयाक्ट साइन गरेका आवेदकहरुले १५ हजार डलर प्राप्त गर्नेछन्। यसभन्दा अगाडी घोषणा गरिएको ग्रान्टका लागि घर निर्माण गर्ने वा रिनोभेशन गर्ने बिल्डर कम्पनि २०२० जुन महिनाको ४ अगाडी नै दर्ता भएको हुनुपर्ने छ भने नयाँ घोषणा गरिएको ग्रान्ट प्राप्त गर्नका लागि बिल्डर कम्पनि २९ नोभेम्बर अगाडी नै दर्ता भैसकेको हुनुपर्ने छ।

नयाँ घरको लागि गरिने आवेदनका साथ आफूले समयसिमा भित्र बिल्डरसंग साइन गरेको कन्ट्रयाक्ट, बिल्डरको लाइसेन्स, जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, ट्याक्स रिटर्न नोटिस अफ असेस्मेन्ट, निर्माण कार्य सुरु भएको प्रमाण सहित संलग्न राखी आफ्नो राज्यको स्टेट रेभेयू अफिसमा पठाउन पर्ने छ ।  आवेदन १४ अप्रिल २०२१सम्म बुझाउन सकिने छ ।

त्यसैगरी रिनोभेशन ग्रान्टका लागि पनि माथि उल्लेखित कागजपत्रका अतिरिक्त आफ्नो घरको भ्यालुएसन मान्यताप्राप्त भ्यालुअरबाट गराई रिनोभेशनको मूल्य १ लाख पचास हजार देखि ७ लाख पचास हजारसम्म रहेको र पहिलो किस्ता तिरेको प्रमाण सहित सम्बन्धितअफिसमा आवेदन दिनुपर्ने छ। आवेदन उपर स्टेट रेभेन्यू अफिसले करिब २ हप्ता मै निर्णय गर्ने छ। थप जानकारी तथा समसामयिक अपडेटका लागि सम्बन्धित राज्यका स्टेट रेभेन्यूको वेबसाइट मार्फत प्राप्त गर्न सकिने छ ।

Data Source : https://treasury.gov.au/coronavirus/homebuilder

The writer can be reached at : lamsalmk@gmail.com