महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा कार्यभार ग्रहण

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्नु भएको छ ।

वैधानिक प्रावधानअनुरूप महासङ्घको अध्यक्ष बन्नुभएका शेखर गोल्छा, शनिबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायी चन्द्रप्रसाद ढकाल, वस्तुगत समूहका उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट समूहका उपाध्यक्ष रामचन्द्र सङ्घई र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ र कार्यकारी सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका शेखर गोल्छाले महासङ्घको १९औँ अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको कार्यकालपछि स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप उहाँले अध्यक्षता ग्रहण गर्नुभएको हो ।

आइतबार बिहान सार्वजनिक भएको मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले करिब ५५ प्रतिशत र प्रतिद्वन्द्वी किशोर प्रधानले करिब ४५ प्रतिशत मत पाउनुभएको थियो ।

निर्वाचनका क्रममा समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएका भए पनि परिणाम भने मिश्रित आएको छ ।

वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी हुँदा उहाँको प्यानलबाट एसोसिएट उपाध्यक्ष सङ्घई मात्र विजयी हुनुभयो भने वस्तुगत र उद्योग वाणिज्य समूहबाट प्रधान विजयी हुनुभयो ।

कार्यकारी सदस्यमा पनि दुवै प्यानलबाट मिश्रित रूपमा विजयी हुनुभएको छ ।

जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत पाउनुभयो ।

दुवै किशोरकुमार प्रधान समूहबाट चुनावीमा उत्रनुभएको थियो ।

दिनेश श्रेष्ठ महासङ्घमा वस्तुगतबाट उपाध्यक्ष भइसक्नुभएको छ ।

वस्तुगत समूह उपाध्यक्ष अञ्जन श्रेष्ठ ६१ मत र प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत पाउनुभयो ।

उमेशलाल वर्तमान कार्यसमितिमा वस्तुगततर्फ उपाध्यक्ष नै हुनुहुन्थ्यो भने अञ्जन वस्तुगत समूह सदस्य हुनुहुन्थ्यो ।

एसोसिएट उपाध्यक्ष बन्नुभएका सङ्घईले ४५५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी सौरभ ज्योतिले ४३४ मत ल्याउनुभएको थियो ।

उहाँहरूले महासङ्घको निर्वाचनका क्रममा समूह बनाएर गएको भए पनि अबका दिनमा त्यसको कुनै प्रभाव नदेखिने गरी एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अध्यक्ष बन्नुभएका गोल्छाले प्रधान समूहलाई खुलेर समर्थन गर्दै आउनुभएको थियो तर वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित हुनुभयो ।

ढकालले समूहका कुरा निर्वाचनकै दिनबाट अन्त्य भएको र त्यसको कुनै असर नरहने प्रतिक्रिया दिनुभयो ।

गोल्छा हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँले भन्नुभयो-‘अब प्यानलको कुनै पनि प्रभाव
भोलिका दिनमा रहँदैन ।’

शपथ समारोहलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष भवानी राणाले महासङ्घको ५० वर्षे इतिहासमा महिला अध्यक्ष हुने इतिहास लेख्न पाएकामा गर्व गर्नुभयो ।

उहाँले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको भन्दै त्यसको श्रेय सामूहिक भाव र सबै पदाधिकारीको सहयोग रहेको बताउनुभयो ।

नवनियुक्त अध्यक्ष शेखर गोल्छाले महासङ्घलाई मन्दिरका रूपमा व्याख्या गर्दै यसको जिम्मेवारी र भूमिका प्रभावकारी बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

महासङ्घलाई गुट–उपगुटजस्ता राजनीतिबाट मुक्त गरेर व्यावसायिक तथा संस्थागत प्रतिष्ठा विस्तारमा लाग्ने उहाँले बताउनुभयो ।