माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।

आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

बैठकमा केन्द्रीय सदस्य प्रभु शाहले मात्रै दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए ।

उनले पार्टीमा दुई अध्यक्ष हुँदा नाटकजस्तो भएको भन्दै एउटै अध्यक्षको नेतृत्वमा जनतामा आशाको संचार गर्नुपर्ने बताएका थिए ।

पुष्पकमल दाहाल र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् ।

बैठकमा अर्का अध्यक्ष दाहालले विधानको व्यवस्थाअनुसार नेपाललाई अध्यक्ष बनाइएको बताएका थिए ।

‘पहिले पनि आलोपालोको मान्यता थियो । तर, ओलीको एकाधिकारवादी व्यवहरका कारण त्यो भएको थिएन । अब हामी मिलेर अगाडि जानेछौं,’ बैठकमा दाहालले भनेका थिए ।

पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।