विदेशमा रहेका नेपाली अभियन्ताले गर्न सक्ने परिणाममुखी पहल

-- विकाश दवाडी / प्रकाशित मिति : सोमवार, पुस १३, २०७७

वर्तमान विश्वको सबैभन्दा सर्वश्रेष्ठ प्राणी हामी मानव जाति जसको आफ्नै जीवनको समयावधि समान्यतया छोटो नै रहेकोे पाइन्छ । वर्तमान अवस्थाको आँकडामात्र केलाएर हेर्ने हो भने पनि विश्व मानवजातिको आयु मोटामोटी ७९ वर्ष र हामी नेपालीहरुको औषत आयु पनि करीब ७१ वर्ष मात्र रहेको पाईन्छ । यति छोटो समयमा पनि आफूले गर्नुपर्ने शैक्षिक, व्यवहारिक, पारिवारिक, आर्थिक उन्नतिका निमित्त ऊ निरन्तर अग्रसर रहिरहन्छ । मानवजातिको परिवर्तनमा आफूलाई आत्मसाथ गर्ने चाहना नयाँ सभ्यता तथा नयाँ शैलीमा अभ्यस्त हुन सक्ने खुवी र यसलाई प्राप्त गर्न निरन्तर लागि पर्ने अनुसन्धान तथा सोच नै प्राचीन विश्व र आधुनिक विश्वबीच रहेको ठूलो सकरात्मक खाडलको कारक हो भन्ने लाग्दछ । मानव जातिको रुपमा एउटै ब्रह्माण्डका फरक फरक स्थानमा जन्मिएर पनि समयक्रम सँगै एउटै सोच एउटै विचार अनि मानिसहरुकै लगाव तथा अनुसन्धानको उपज नै वर्तमान आधुनिक विश्वमा मानवजातिले अवलम्बन गर्न पाएको आधुनिक र आनन्दमयी जीवनशैली हो भन्ने लाग्दछ । अझै सामान्य भाषामा भन्नुपर्दा दिनानुदिन बढ्दै गइरहेको वर्तमान विश्व भूमण्डलीकरणको कारण नै मानवजातिले निरन्तर पछ्याइरहेको बसाइसराइ अर्थात Migretion नै हो ।
हो साच्चिकै प्राचीन सभ्यतादेखि नै मानवजातिले निरन्तर अवलम्बन गर्दै आएको बसाईँसराईँले गर्दा नै आज नेपालीहरुपनि नेपालभित्र कै एक स्थानबाट अर्को स्थानमा मात्रै होइन कि नेपालभन्दा बाहिर विभिन्न देशहरुमा रहेर स्थापित जीवन यापन गरिसकेका छन्, गर्ने क्रममा छन् यात गर्ने सोचाइमा पनि छन् । आज नेपालीहरुले विश्वका सयभन्दा बढी देशहरुमा आफ्नो उपस्थिति मात्र होइन विश्वका करिव असीभन्दा भढी देशहरुमा त आफ्नो समुदायको अस्तित्वलाई मजबुद बनाउँदै नेपालीहरुको भेला, सम्मेलन आयोजना गर्दै स्वदेश तथा विदेशमै रहेका नेपालीहरुको पनि एकआपसमा दुःख सुखको दरिलो खम्बा बन्न सकेका छन् । आज विश्वभरी छरिएर बसेका नेपालीहरु नै नेपाल राष्ट्रलाई आवश्यक परेको बेलामा विभिन्न देशहरुबाट नै आर्थिक, प्राविधिक, कुटनीतिक सहयोग पुर्याउन सक्ने नेपाल सरकार र नेपाली जनताको एउटा आशा बनेका छन् । विदेशमा रहेका प्रत्येक नेपालीले आफ्नो सीप, मिहिनेत तथा कलाको माध्यमबाट कुनै न कुनै रुपमा नेपाल र नेपालीको अस्तित्व विश्वव्यापी रुपमा गुञ्जायमान गराउन सकरात्मक भूमिका खेलेका नै छन् । माथि नै उल्लेख गरेजस्तै परिवर्तनमा आत्मसाथ गर्ने चाहना, आधुनिक जीवनशैलीमा आफूलाई उभ्याउने मनोकामना तथा अवसरको सम्भाबनाले नै नेपालबाट केही वर्ष पहिले अष्ट्रेलिया आएको म यहाँ रहँदा भोगेको अनि देखेको विभिन्न अनुभवबाट विदेशीएका नेपालीहरु थोरै मात्र सामाजिक समय र सामुहिक पहलबाट नेपाल राष्ट्र र नेपाली जनतामा सकरात्मक परिवर्तनको सुरुवात गर्न सकिन्छ भन्ने लाग्दछ ।
हामी नेपालीहरु जे जस्तो अवस्थामा जहाँ रहेपनि विकसित मुलुकका मानिसहरुको दाँजोमा बढी नै सामाजिक, सांगठनिक र सामुदायिक छौं । हो समुदायलाई प्रतिनिधित्व गरेर गठन गरिएका संगठनलाई नेतृत्व गर्ने नेपालीहरुको संख्या सिमित मात्र भएपनि यसको आवाज र यसको कार्यदिशाले समग्र समुदायलाई नै समेट्छ । त्यसकारण यता रहेका विभिन्न स्थानका नेतृत्व गर्ने टोलिले स्थानीय राज्य, सरकार वा त नेताहरुसँग समन्वय गरेर निश्चित मापदण्ड बनाएर स्वदेशबाट वर्षेनी केही दक्ष जनशक्ति साथै स्थानीय नेतागणको पनि परिणाममुखी भ्रमण गराएर यहाँ भए गरेका विकासक्रम कामको लगनशिलता, शैली र अनुशासन मात्रै पनि देखाउन सक्यौं भने यसको दूरगामी प्रभाव नेपाल राष्ट्रको प्रगति र उत्थानमा नै हुन्छ भन्ने लाग्दछ । जस्तै : म आफू बसेको क्षेत्र डब्बोमा रहेका इन्जिनियर र रजिष्टर्ड नर्सले आ आफूले काम गरेको कार्यक्षेत्रमा नेपालको कुनै जिल्लामा काम गर्ने त्यहाँको सडक विभागको इन्जिनियर तथा सरकारी नर्सहरुलाई ल्याएर उताको र यताको काम गर्दाको जिम्मेबारीपन, लगाव तथा प्रभावकारितालाई थोरै मात्र भएपनि देखाउन सक्यौं भने नेपालमै काम गर्ने इन्जिनियर तथा नर्सहरुको काम गर्ने शैलिमा अझ बढी जोस तथा निखारता आउँछ कि भन्ने लाग्दछ । अनि मात्र हामीले नेपालका सडकको गुणस्तर र यहाँको गुणस्तरको निमित्त गरेका मिहिनेत मात्र नभइ नेपालका सरकारी अस्पतालमा नर्सहरुबाट विरामीहरुलाई बेलाबेलामा सुन्न पाइरहने व्यवहार र यहाँको नर्सले विरामीलाई दिने सेवा तथा आतिथ्यताको भिन्नता राम्रै सँग देखाउन सक्छौं । त्यसकारण वर्षेनी फरक फरक जिल्लाहरुबाट केही केही गरेर स्थानीय नेता एवं दक्ष जनशक्तिलाई निश्चित मापदण्डको आधारमा डब्बो मात्र होइन अष्ट्रेलियाका विभिन्न राज्यहरुमा त्यहीकै स्थानीय जनशक्तिहरु सँगै मेलखाने गरी निश्चित समयको लागि भित्राएर केही समय सम्बन्धित काममै मिलाएर पुन स्वदेश पठाउने हो भने पक्कैपनि नेपाल राष्ट्र र नेपालमै रहेका नेपाली समुदायमा यसको पुरापुर सकरात्मक प्रभाव देखिन्छ ।
अन्त्यमा अष्ट्रेलियाको विभिन्न राज्यमा रहेका नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने नेतृत्वले वर्षेनी फरक फरक प्रदेश एवं जिल्लाहरुबाट केही न केही जनशक्ति भित्राउँदै, देखाउँदै, सिकाउँदै र पठाउँदै गर्ने हो भने यो मार्गदर्शनले अष्टेलियाको अन्य नेपाली समुदायमात्र नभइ विश्वका अन्य देशहरुमा भएका नेपालीहरु बीच पनि एउटा मार्गदर्शन प्रदान गर्दछ । अष्टेलियामै पनि नेपाली समुदायको नेतृत्वदायी संस्था एनआरएनए तथा नेपाली राजदूताबासले कुटनीतिक पहल गरेर यहाँका ठूला ठूला विश्वविद्यालय तथा अस्पतालहरुमा वर्षेनी १५ २० जना विषय विशेषज्ञ र मेडिकल डाक्टरहरुलाई मात्र भएपनि भित्राउन पहल गर्ने र सार्थकता पाउने हो भने उक्त अवसरलाई सदुपयोग गर्दै अवको केही वर्षपछि नेपालीहरु अष्टेलियाकै पनि विश्वविद्यालय र अस्पतालहरुमा अग्रपंक्तिमा आउन सक्षम हुनेछन् । तसर्थ : सबै नेपालीहरुले आ आफ्नो स्थानबाट केही न केही पहल गर्दै र जिम्मेबारी लिंदै जाने हो भने अबको केही वर्षमै विदेशिएका नेपाली र नेपालमै रहेका नेपालीको स्तर पनि पक्कै धेरै माथि उठाउन सकिन्छ ।