‘अष्ट्रेलियाको मिस नेपाल ओसिनियामा सिकेको कुरा मिस यूनिभर्स नेपालमा काम लाग्यो : अंशिका शर्मा, विजेता, मिस यूनिभर्स नेपाल– २०२०

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, माघ १३, २०७७

काठमाडौं– करिव छ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइरहेकी २४ वर्षीया अंशिका शर्माको परिचय अहिले परिवर्तन भएको छ । एक महिना अघिसम्म विद्यार्थीको रुपमा मात्र चिनिने अंशिकाको परिचयमा पछिल्लो पटक ‘मिस यूनिभर्स नेपाल–२०२०’ को उपाधि पनि जोडिएको छ । हालै काठमाडौंमा सम्पन्न ‘मिस यूनिभर्स नेपाल–२०२०’ प्रतियोगितामा मुख्य उपाधि जित्दै अंशिकाले आफ्नो जीवनकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेकी छिन् । नगद १० लाख रुपैयाँ राशिको उक्त उपाधिसहित विशेष रुपमा डिजाइन गरिएको १५ लाख रुपैयाँ बराबरको क्राउन पनि प्राप्त गरिन् । यसका साथै अंशिकाले अमेरिकामा आयोजना हुने मिस यूनिभर्स–२०२० मा नेपाललाई प्रतिनिधित्व गर्ने ऐतिहासिक जिम्मेवारी समेत पाएकी छिन् । पाँच फिट १० ईन्च अग्ली अंशिका यही प्रतियोगिताका लागि अष्ट्रेलियाबाट काठमाडौं आएकी थिइन् । कोभिड–१९ को संक्रमणको जोखिमका कारण अष्ट्रेलियाले लगाएको यात्रा प्रतिवन्धका बीच अष्ट्रेलिया नफर्किने कठोर निर्णय गर्दै ‘मिस यूनिभर्स नेपाल–२०२०’ मा सहभागि भएकी अंशिकाले अन्तत: आफ्नो निर्णयलाई सहि सावित गर्दै उपाधि आफ्नो शिरमा सजाउन सफल भइन् । उपाधि जितेपछि पछिल्लो एक सातादेखि सेलिब्रेटी बनेकी अंशिकाले यसै वर्षको प्रारम्भमा अष्ट्रेलियामा सम्पन्न मिस नेपाल ओसिनियामा फस्ट रनर्स अपको उपाधि जित्न सफल भएकी थिइन् । यसैबीच, अष्ट्रेलियाबाटै सूचना प्रविधिमा स्नातक उत्तिर्ण अंशिका शर्मासंग द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधिद्वारा गरिएको कुराकानीको सम्पादित अंश :

मिस यूनिभर्स नेपाल २०२० को उपाधि विजेता हुन सफल हुनुलाई कसरी मूल्यांकन गर्नु भएको छ ?

यो उपाधि जित्न सफल भएकोमा मैले आफूलाई एकदमै धेरै ‘प्राउड फील’ गरेकी छु । यो प्रतियोगिताका लागि कति धेरै मेहनत गरिएको थियो, सम्झँदा खेरी त्यो मेहनतको फल पाएको जस्तो लाग्छ । मेरो लागि त यो प्रतियोगिताको सहभागिता झन् कठिन थियो । कोभिडका कारण अष्ट्रेलियाबाट आउनै नमिल्ने थियो, आएपछि फर्किन नमिल्ने कडा नियमका बाबजुद म यो प्रतियोगितामा भाग लिन आएँ । त्यस्तो अवस्थामा गरिएको सहभागिताले सफलता दिएकोमा अत्यन्त खुशी छु । आफैंप्रति गौरव अनुभव भैरहेको छ ।

प्रतियोगितामा भाग लिनुभन्दा अघि नै उपाधि जित्छु भन्ने लागेको थियो ? 

हुन त हरेक प्रतिस्पर्धिहरुले जित्नकै लागि प्रतियोगितामा भाग लिएका हुन्छन् । मैले पनि जित्नकै लागि भाग लिएकी थिएँ । तर, मैलै नै जित्छु भनेर ढुक्क चाहिँ थिइन । यद्यपि, मैले त्यति ठूलो रिस्क लिएर यो प्रतियोगितामा भाग लिएकी थिएँ । मलाई परिवारको साथ र समर्थन थियो, म आफैं पनि आत्मविश्वासले भरिएकी थिएँ । आफ्नो मेहनतप्रति पुरै विश्वस्त थिएँ । यो प्रतियोगितामा उपाधि जित्न सकिन भने पनि नेपालमै बसेर केही गर्छु भन्ने लक्ष्य बोकेर आएकी थिएँ । यद्यपि, मेरो पहिलो प्राथमिकता भने उपाधि जित्नु नै थियो । मन भित्रबाट जित्नु पर्छ भन्ने थियो, यद्यपि जितिन भने पनि पनि केही छैन भन्ने पनि सोचेकी थिएँ ।

मिस यूनिभर्स नेपालमा चाहिं कसरी आउनु भयो ?

मैले यही वर्षको मार्च महिनामा अष्ट्रेलियामा सम्पन्न मिस ओसिनिया–२०२० मा सहभागिता जनाएर फस्ट रनर्स अपको उपाधि जित्न सफल भएको थिएँ । सोही उपाधिका कारण मैले मिस यूनिभर्स नेपाल–२०२० मा सहभागिता जनाउने मौका पाएकी हुँ ।

मिस ओसिनिया–२०२० को सहभागिताले मिस यूनिभर्स नेपालमा कत्तिको फाइदा पुग्यो ?

मलाई त्यो प्रतियोगिताको सहभागिताले अहिले निकै नै फाइदा पुर्‍यायो । त्यहि प्रतियोगिताकी कोरियोग्राफरले सिकाउनु भएको धेरै वटा कुरा यता आएर काम लाग्यो । समग्रमा उक्त प्रतियोगिताले मेरो पृष्ठभूमि राम्रो बनाउने कार्य गर्‍यो ।

मिस ओसिनियामा उपाधि जित्नबाट के ले रोक्यो जस्तो लाग्छ ?

ईमान्दार भएर भन्छु, मैले त्यो प्रतियोगितामा उपाधि जित्न नसक्ने कारण आफूमा कन्फिडेन्स कम भएरै हो । अहिले ममा शत प्रतिशत कन्फिडेन्स छ, त्यसैले मैले अहिले आएर मिस यूनिभर्स नेपालको उपाधि जित्न सफल भएँ । हामीलाई अघि बढ्नका लागि कन्फिडेन्सले ठूलो भूमिका निर्वाह गर्छ भन्ने कुरा अहिले आएर बुझें ।

मिस यूनिभर्स नेपाल २०२० प्रतिस्पर्धा कत्तिको टफ थियो ?

मलाई लाग्छ नेपालमा हालसम्म आयोजना भएका व्युटि पेजन्टहरुमा सबैभन्दा टफेस्ट प्रतियोगिता नै यही हुनुपर्छ । किनभने यो प्रतियोगितामा पहिला नै उपाधि जितिसकेका ब्यूट क्विनहरुदेखि लिएर सेलिब्रेटीहरुले समेत प्रतिस्पर्धा गर्नु भएको थियो । हरेक प्रतिस्पर्धिहरु उत्तिकै क्षमतावान हुनुहुन्थ्यो । त्यसैले पनि यो निकै नै कडा टक्कर भएको प्रतिस्पर्धा थियो । प्रतियोगिता जति नै कडा भए पनि जित्नु पर्छ भनेर म अघि बढेकी थिएँ । मेहनत पनि त्यही अनुसारले गरेकी थिएँ । आफूलाई हरेक प्रकारले तयार पारेकी थिएँ । हुन त मैले यो प्रतियोगिताका लागि नाम रजिस्टर गर्दा यति धेरै सेलिब्रेटीहरु आउनु भएको थिएन । बिस्तारै ब्यूटी क्विनहरु पनि थपिनु भयो । त्यसपछि भने मलाई डर लाग्न थालेको थियो । त्यसपछि मैले अझ बढी मेहनत गरें । त्यही मेहनतले मलाई आज सफलता दिलायो ।

मिस युनिभर्स नेपाल–२०२० प्रतियोगिताबाट सिकेको सबैभन्दा ठूलो कुरा के हो ?

आफूलाई आफैंप्रति विश्वास हुनु पर्छ । आफूमा विश्वास भएन भने अघि बढ्न सकिँदैन । मैले सिकेको मुख्य कुरा नै यही हो । किनभने म अष्टेलियाबाट आउँदै नआएकी भए यो प्रतियोगितामा भागै लिन्न थिए । भाग नलिएपछि जित्ने कुरै आएन ।

मिस यूनिभर्स नेपालको उपाधि जिति सकेपछिको तयारी के छ ?

अबको सम्पूर्ण तयारी अप्रिल–मे महिनामा अमेरिकामा सम्पन्न हुने मिस यूनिभर्स २०२० मा केन्द्रित भएको छ । मिस यूनिभर्स भनेको विश्वकै सबैभन्दा ठूलो ब्यूटी पेजेन्ट हो । सन् २०१७ देखि नेपालले पनि यसमा सहभागिता जनाउन थालेको छ । विश्वमा नै यो प्रतियोगितालाई पहिलो स्थानमा राखिएको छ । यो प्रतियोगितामा विश्वका ९० भन्दा बढी देशका सुन्दरीहरुले भाग लिन्छन् । यो वर्ष नेपालको प्रतिनिधित्व गर्नका लागि म छनोट भएकी छु । त्यसैले अहिले मैले मेरो सम्पूर्ण ध्यान मिस यूनिभर्समै केन्द्रित गरेकी छु । यसका लागि असाध्यै मेहनत गर्नु पर्नेछ । त्यो मेहनत म एक्लैले गर्न सक्ने कुरा भएन, यसका लागि मिस यूनिभर्स नेपालको आयोजक संस्था नै मसंग छ । मिस यूनिभर्सको तयारीकै लागि आयोजकले मलाई अर्को महिना फिलिपिन्स पठाउँदैछ । फिलिपिन्समा मैले तीन साताको प्रशिक्षण लिने छु, जहाँ यसअघि मिस यूनिभर्सको उपाधि जितिसकेकाहरुले पनि प्रशिक्षण लिएका थिए । फिलिपिन्सको प्रशिक्षणले मलाई निकै सहयोग गर्नेछ भन्ने कुरामा म ढुक्क छु ।

व्यक्तिगत रुपमा मिस यूनिभर्स २०२० का लागि के कस्तो तयारी थाल्नु भएको छ ?

उपाधि जितेको केही दिनपछि नै आयोजक संस्थासंग बसेर छलफल गरिसकेकी छु । उहाँहरुले ममा भएको क्षमता तथा कमजोरीका बारेमा जानकारी लिनु भएको छ । मैले आफ्नो स्ट्ेरन्थ तथा कमजोरीका बारेमा बताएकी छु । मैले सुधार्नु पर्ने ठाउँमा उहाँहरुले सिकाइरहनु भएको छ । प्रशिक्षणका लागि फिलिपिन्स जानका लागि म तयारी छु । प्रतियोगितामा नेशनल कस्ट्यूम लगाउनु पर्छ, त्यसका बारेमा पनि छलफल भएको छ । मलाई लाग्छ, हामीले छलफल र योजनाहरु बनाएरै मिस यूनिभर्सको तयारी थालिसकेका छौं ।

मिस यूनिभर्सपछिको योजना के छ ?

मिस नेपाल यूनिभर्सको उपाधि विजेताको रुपमा मिस यूनिभर्स–२०२० मा सहभागिता जनाउनु अहिलेको मुख्य जिम्मेवारी हो । त्यसपछि पनि म आगामी एक वर्षभरी मिस नेपाल यूनिभर्सको रुपमा नेपालमै रहने छु । त्यसपछि पनि मैले नेपालकै बसाईलाई निरन्तरता दिने योजना बनाएकी छु । मैले अष्ट्रेलियामै छँदा साथीहरुको सहयोगले जुम्लाका १० जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेर उनीहरुलाई विद्यालयमा भर्ना गराएर पढाइरहेका छौं । नेपालमा बसेर म यो सामाजिक कार्यलाई अझ फैलाउन चाहन्छु । मिस यूनिभर्स नेपालसंग आवद्ध भएको टिच फर नेपालमा आवद्ध भएर सामाजिक कार्यमा सक्रिय हुने मेरो योजना छ ।

अष्ट्रेलिया जानु भएको कति भयो ?

म अष्ट्रेलिया गएको ठ्याक्कै साढे पाँच वर्ष भयो । म काठमाडौंमा प्लस टु सिध्याएर सूचना प्रविधिमा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति पाएर अष्ट्रेलिया गएकी थिएँ । मैले स्नातकको अध्ययन गरेको दुई वर्ष भयो । अध्ययन पुरा भएपछि म पछिल्लो दुई वर्षदेखि आईटी क्षेत्रमै कार्यरत थिएँ ।

चलचित्रमा आउने कि नआउने ?

मलाई अभिनय गर्नै आउँदैन, कोशिस गर्दा पनि अभिनय गर्न चाहिँ पटक्कै आएन । नृत्यमा भने रुची छ ।

फुर्सदमा के गर्न मन लाग्छ ?

म यात्रा गर्न रुचाउने स्वभावकी छु । फुसर्द भयो कि घुम्न निस्कन्छु । घरमै बस्दा पनि यूट्युब अथवा गूगलमा विभिन्न ठाउँहरुको बारेमा एक्सप्लोर गरिरहन्छु ।

खानपिनका कत्तिको सौखिन हुनुहुन्छ ?

मलाई नेपाली खाना खासगरी थकाली खाना असाध्यै मनपर्छ । दाल, भात,मास, मुला र गुन्द्रुकको अचार भएपछि मलाई अरु केही चाहिँदैन । मलाई चिया बाहेक अरु केही पनि पकाउन आउँदैन । मैले पकाएको खानेकुरा मीठो हुँदैन ।

तपाईंलाई मनपर्ने पहिरन ?

मलाई गाउनहरु लगाउन मन पर्छ । गाउन लगाउँदा फोटो पनि राम्रो आउँछ, सुहाउँछ पनि । सजिलोका लागि भने टिसर्ट, जिन्स र स्र्पोट्स सुज नै मन पर्छ ।

कत्तिको राम्री हुन्छ ?

म त मनैदेखि राम्री छु । बाहिरी सुन्दरता भन्दा पनि म भित्रबाट सुन्दर छु जस्तो लाग्छ । मलाई बुवा–आमाले बाहिरबाट जति नै राम्री भए पनि भित्र मुटुदेखि नै राम्रो भएन भने कुनै अर्थ छैन भनेर सिकाउनु भएको छ । म यही कुरामा विश्वास गर्छु ।

आफूलाई मेन्टेन गर्न के–के गर्नु हुन्छ ?

फिजिकली भन्दा पनि माइण्डबाटै सकारात्मक कुरा सोच्छु । शरीरको केयर पनि त्यही अनुसार गर्छु । दिनमा ५–१० मिनेट मेडिटेसन गर्छु । चिनी खान्न । डेरी प्रोडक्ट कम खान्छु । माछा, मासु, तरकारीसहित भिटामिन बिको पनि सेवन गर्छु ।

सोसल साइटमा कत्तिको व्यस्त हुनुहुन्छ ?

सामाजिक सञ्जालमध्ये इन्स्टाग्राममा अलि बढी नै सक्रिय हुन्छु । हरेक घण्टा जसो इन्स्टाग्राम चलाइरहेकी हुन्छु । फेसबुक भने दुई–तीन दिनमा एक पटक खोल्छु ।

अष्ट्रेलियाको समग्र बसाइ कस्तो भयो ?

म २०१५ मा १८ वर्षको उमेरमा अष्ट्रेलिया गएकी थिएँ । भिएस निकेतन स्कूलबाट एसएलसी तथा त्यही कलेजबाट प्लस टु गरेपछि म अष्ट्रेलिया गएकी थिएँ । अष्ट्रेलिया पुगेको पहिलो चार महिना म एउटा परिवारसंग बसें । त्यसपछि भने म साथीहरुसंग बस्न थालें । प्रारम्भमा सबै खर्च बुवा–आमाले राखिदिनु हुन्थ्यो । बिस्तारै आफैंले खर्च जुटाउन थालें । नुन, बेसार, तरकारीदेखि पेस्ट सम्म आफ्नै कमाइले किन्न थालें । १८ वर्षको उमेरदेखि नै मैले आफ्नो व्यवहार आफैंले सम्हाल्न थालें । यो कुरामा पनि मलाई प्राउड फील हुन्छ ।

अन्त्यमा, अष्ट्रेलिया पुन: फर्किने सम्भावना कत्तिको छ ?

यो एक वर्ष त म नेपालमै बस्नु पर्छ, किनभने मिस यूनिभर्स नेपालको सम्झौता पत्र अनुसार पनि मैले यो कार्यकाल नेपालमै बिताउनु पर्नेछ । त्यसपछि पनि म सम्भवत: नेपालमै रहेर काम गर्न मन पराउने छु ।

 

v