एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७८

काठमाडौं- एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।

ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो ।

इरानका लागि खेलको ४७औँ मिनेटमा मेहदीले गोल गर्नुभएको थियो ।

त्यस्तै इरानका होसेनले खेलको ७७औँ र ७९औँ मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाउनुभएको थियो ।

यासिनले इन्ज्युरी समयको चौंथो मिनेटमा गोल गर्दै इरानलाई चार शून्यको जित दिलाए ।

जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अङ्क जोडेको छ भने नेपाल अङ्कबिहिन छ ।

नेपालले अब बिहीबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।