एनआरएनएले पशुपति क्षेत्रमा वृद्धाश्रम बनाउने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका छन् । सोमबार अपरान्ह संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा.बद्री केसी तथा रबिना थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका हुन् । नेपाल आउन नसकेका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिएका थिए । गत शनिबार र आइतबार होटेल हिमालयमा आयोजित संघको दशौँ महाधिवेशनमा तीन जना अध्यक्ष लगायत १०० बढी पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो । तीनै जना अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए ।

पशुपति क्षेत्रमा एनआरएनएले वृद्धाश्रम बनाउने

नवनिर्वाचित अध्यक्ष कुल आचार्यले नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसंग सहकार्य गरी एउटा वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए । उनले राखेको कम्तीमा १०० कोठा रहेको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न वृद्धाश्रम बनाउने प्रस्तावलाई कार्य समितिको पहिलो बैठकले पारित गरेको छ । आचार्यले आफ्नो तर्फबाट उक्त परियोजनाका लागि एक करोड रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरे । उक्त वृद्धाश्रमका लागि उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव गौरी जोशी तथा कोषाध्यक्ष सुनिल साहले २५, २५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए । त्यस्तै अर्का महासचिव डा.केशव पौडेलले १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । पहिलो बैठकबाटै उक्त परियोजनाका लागि ३ करोड रुपैयाँ भन्दा बढी रकमको प्रतिबद्धता व्यक्त गरिएको छ ।

अर्का नव निर्वाचित बद्रि केसीले यो कार्यकालमा स्मार्ट एप प्रयोग गरेर ‘क्राउड फन्डिङ’ गर्ने जनाए । उनले कूल परियोजना लागतको ३३-३३ प्रतिशत रकम उठाउने जिम्मा तीनै जना अध्यक्षले लिने बताए । उक्त बैठकले वृद्धाश्रम बनाउनका लागि सकभर पशुपति क्षेत्रमै जग्गा उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने प्रस्ताव पनि पारित गरेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएपछि रकम उठाउन शुरु गर्ने बताए । संघको केन्द्रीय सचिवालयले उक्त परियोजनाको लागि १५ देखि १७ करोड रुपैयाँसम्म लागत लाग्न सक्ने अनुमान गरेको छ । यसअघि सोमबार निवर्तमान अध्यक्ष कुमार पन्तले नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा.बद्री केसी तथा रबिना थापालाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । आइतबार राति संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेपछि संघका पदाधिकारीहरु सोमबार बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।