काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेनले दिए ‘धन्यवाद’

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अत्यधिक मतसहित निर्वाचन जितेका छन् ।
निर्वाचन आयोगले औपचारिक घोषणा नगरे पनि बालेनले अत्यधिक मतसहित मेयर पदमा विजयी हासिल गरेका हुन् । आफू निर्वाचित हुने पक्का भएपछि बुधवार बिहान सामाजिक सञ्जालमार्फत संगीतकर्मीसमेत रहेका बालेनले काठमाडौंका मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनी लेख्छन्– ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुँदैन ।’

‘जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ, बालेनले भनेका छन्– ‘यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।’

बालेनले ठाउँ–ठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौं भन्दै अनुरोध गरेका छन्– ‘हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरु कोही पनि र्यालीका लागि काठमाडौं आउने दुःख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।’ ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा धन्यवाद र्याली गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ, उनले भनेका छन्– ‘नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । बालेनहरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।’

बालेनले अबको बाटो सहज नभएको भन्दै लेखेका छन्– ‘हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिंड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ । हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’ हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् । अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।’