बलात्कारको आरोप लागेका सन्दीप लामिछाने निलम्बित

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । नाबालिगमाथि बलात्कार गरेको आरोपमा उजुरी परेपछि उनलाई निलम्बन गरेको क्यानले जनाएको छ ।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न अनुमतिसमेत लिएपछि क्यानले निलम्बन गरेको हो । क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
‘नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्य सम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ‚’ क्यानद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो ।
गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाइ छ । लामिछानेले भने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लसँगको टेलिफोन कुराकानीमा आफू निर्दोष भएको र सीपीएल सकिनेबित्तिकै वेस्ट इन्डिजबाट फर्किने बताएका छन् । लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएका हुन् । बिहीबार बिहान उनीसम्मिलित टिम जमैका तलावाजको खेल भए पनि उनलाई भने खेलाइएको थिएन । क्यानसँगको कुराकानीमा भने उनले टिमले घटनाबारे थाहा पाए पनि खेल्न कुनै समस्या नहुने बताएका छन् ।
जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ । स्रोतका अनुसार सुरुमा लामिछानेका साथीसँग किशोरीको चिनजान भएको थियो । उनै साथीमार्फत किशोरी लामिछानेको सम्पर्कमा पुगेकी थिइन् । एक महिनाअघि मात्र दोहोरो चिनजान भएका उनीहरूबीच त्यसपछि सामाजिक सञ्जालमा कुराकानी र फोटो आदानप्रदान हुने गरेको थियो । पछिल्लो समय आफू केन्या जान लागेको भन्दै लामिछानेले किशोरीसँग भेट्न चाहेका थिए । प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।
जाहेरीमा उल्लेख गरेका केही विषय उद्धृत गर्दै परिसरले बुधबार जारी गरेको विज्ञप्तिमा लामिछानेले किशोरीलाई भदौ ५ मा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी पुनः त्यही रात ११:५५ मिनेटमा गौशालाको एक होटलमा ल्याई पटक-पटक जबर्जस्ती करणी गरेको उल्लेख छ । दुवै जना भोलिपल्ट बिहान पौने ७ बजेतिर होटलबाट बाहिरिएका थिए । जाहेरीमा किशोरीले आफूले लामिछानेसँग सामाजिक सञ्जाल (स्न्याप च्याटमार्फत) एक प्रशंसकका रूपमा कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर होटलमा लगी बलात्कार गरेको बताएकी छन् । जाहेरीलगत्तै प्रहरीले घटनास्थल पुगेर सीसीटीभी फुटेज निकाल्नुका साथै होटल सञ्चालकसँग पनि सोधपुछ गरिसकेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



