उपनिर्वाचनमा ६० प्रतिशत मतदान, मंगलबारसम्ममा परिणाम आउने

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले तीनवटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीनवटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जानकारी दिनुभएको होे । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औसतमा ६० प्रतिशत मतदान भएको छ । आयुक्त थपलियाले समग्रमा साढे ५९ देखि ६० प्रतिशत मत खसेको जानकारी दिनुभयो ।
आयोगका अनुसार बारा(२ मा ६४ प्रतिशत, चितवन-२ मा ६३ प्रतिशत र तनहुँ-१ मा ५३ प्रतिशत मतदान भएको छ । उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा गत मंसिर ४ को मा सम्पन्न आमनिर्वाचनभन्दा कम मत खसेको छ । तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाताको करिब ५३ प्रतिशत हो । यहाँ एक लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको निर्वाचनमा तनहुँ-१ मा ५४.३६ प्रतिशत अर्थात् ६६ हजार ९६५ खसेको थियो ।
यसैबीच, तनहुँ–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ । प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत आइतबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी रहँदा समकक्षी भन्दा दोब्बर मतले वाग्ले अगाडी रहनुभएको हो । आज बिहान ६ बजेसम्म ९ हजार २ सय ४६ मत गणना हुँदा वाग्लेले ५ हजार १९ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार २ सय ५१ मत पाउनुभएको छ । तेस्रो प्रतिस्पर्धीको रुपमा देखिनुभएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत पाउनुभएको छ ।
यसअघि, चितवन क्षेत्र नम्बर २ को उपचुनावमा पनि गत मंसिरको निर्वाचनभन्दा कम मत खसेको छ । मंसिरमा ६७।६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा ६३ प्रतिशत मत खसेको छ । चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार ६९८ छन् । मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्योभन्दा कम खसेको हो । त्यतिबेला एक लाख २४ हजार २१७ मतदाता थिए । बारा-२ मा ६४ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ रिक्त तीन सिटमा भएको उपनिर्वाचनको मतगणना आइतबार रातिदेखि नै सुरु भएको छ । आयोगका अनुसार बारा–२ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन-२ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ-१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतगणना भइरहेको छ । यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने दाबी गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘हामीले सोमबार साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने सोचेका छौँ, मंगलबार साँझसम्म त सकिन्छ नै ।’ गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापतिसमेत रहनुभएका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो । त्यस्तै, तनहुँ र बाराबाट निर्वाचित सांसदहरू क्रमशः राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार बिहान मतदानको समयमा भरतपुर महानगरपालिका–११ भोजाडको नयाँ किरण कमलकुसुम माविमा आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेको छ । आइतबार बिहान मतदान भइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा त्यस क्षेत्रका उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले पक्षमा नाराबाजी गर्नुका साथै चुनाव चिह्न घण्टीको प्रयोग गरेका थिए । त्यही विषयलाई लिएर अन्य दलले आचारसंहिता उल्लंघन भएको आरोप लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । आइतबार दिउँसो भएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूबाट आचारसंहिता उल्लंघन भएको स्वीकार गरेको हो । सर्वदलीय बैठकको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा मतदान चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’ सर्वदलीय भेलाको निर्णयअनुसार रास्वपाले माफी मागेपछि रोकिएको मतदान पुनः सञ्चालन भएको थियो । रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भिडभाड गरेपछि मतदान अवरुद्ध भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि त्यहाँ तनावको स्थिति भएर मतदान स्थगित भएको थियो । यस्तै, चितवन(२ कै कृष्णपुर माविमा पनि केही बेरसम्म मतदान अवरुद्ध भएको थियो ।
बाराको देवताल गाउँपालिका वडा नं ७ पिपरपातीमा निर्वाचन बिथोल्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाहिरी जिल्लाबाट आएर बारा–२ मा निर्वाचन बिथोल्न खोजेको र एक जनाले नमुना मतपत्र बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले छानविन गरेको थियो ।
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका रवि लामिछानेले उपनिर्वाचनका क्रममा उम्मेदवार र कार्यकर्तालाई सम्झाइदिन प्रमुख दलका शीर्ष नेतालाई अपिल गर्नुभएको छ । मतदान जारी रहेकै बेला सामाजिक सञ्जाल फेसबुकबाट लाइभ सन्देश जारी गर्दै रविले भन्नुभयो, ‘मलाई लोकतान्त्रिक पद्धतिमा विश्वास छ । उम्मेदवारले यस्ता गतिविधि नगर्नुहोला । आममतदातालाई भोट हाल्न दिऊँ । भयरहित भोट हाल्न दिऊँ । म आउँदा, तपाईं आउँदा ताली बजाए होलान्, हुटिङ गरे होलान्, यस्ता गतिविधिबाट आवेगमा नआइदिनुहोला । शीर्ष नेताहरूलाई आग्रह गर्छु, मसँग चुनाव लडेका उम्मेदवारलाई सम्झाउनुहोला । नेता कार्यकर्तालाई सम्झाउनु होला ।’ लामिछानेले आफ्ना शुभेच्छुकलाई पनि भड्किलो टिप्पणी नगर्न अनुरोध गर्दै भन्नुभयो, ‘सामाजिक सञ्जालमा शुभेच्छुकहरूले भड्किलो कमेन्ट नगर्दिनुहोला । मभित्र पनि आवेग छ, तपाईंहरूसँग पनि होला । तर, हामी संयम हुनुपर्छ । कमेन्टमा गाली नगर्नुहोला । तपाईंको गालीको भारी हामीले बोक्नुपर्छ ।’
निर्वाचन आयोगले तनहुँ(१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगको तनहुँस्थित निर्वाचन अनुगमन समितिले उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोवाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना पाएको भन्दै निर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण पेस गर्न भनेको हो । आयोगका अनुसार उम्मेदवार भट्टराईले ७ गते राति १२ बजेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ ९ग० प्रतिकूल हुने गरी भ्वाइस म्यासेजमार्फत मत माग्नुभएको थियो । आचारसंहिता अनुगमन समितिले उम्मेदवार भट्टराईलाई आफैँ वा आफ्ना प्रतिनिधिमार्फत २४ घण्टाभित्र प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण पेस गर्न निदर्शन दिएको छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ का दुई मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाउनुभएको छ । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उहाँको आरोप छ । आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा प्रवेश गर्न नदिएको राउतले आरोप लगाउनुभयो । आफूहरूले मतदानको अघिल्लो दिनदेखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको राउतको जिकिर छ । स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भएको जानकारी दिएको छ ।
निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार बारा जिल्ला क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना कार्य गरेको र त्यो कार्य निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो रु भनेर स्पष्टीकरण सोधेको हो । आयोगले त्यहाँ जानुको कारण खुलाउन भनेको छ । ‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन रु तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन रु निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?’
आइतबार सम्पन्न उपनिर्वाचनमा केही दलका उम्मेदवारहरूले आफैँलाई मतदान गर्न पाएनन् । मतदाता नामावली अन्य स्थानमा रहेका उनीहरूले मतदान प्रकियामा सहभागी हुन नपाएका हुन् । चितवन(२ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले शक्तिखोरस्थित चतुर्मुखी उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो । यहाँ रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने आफैँले मतदान गर्न पाउनुभएन । रविको मतदाता नामावली काठमाडौंमा र एमालेका न्यौपानेको चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा रहेकाले उपनिर्वाचनमा मतदान गर्न नपाएका हुन् । यस्तै, तनहुँ १ मा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको मतदाता नामावली काठमाडौंमा रहेकाले उहाँहरूले यहाँको उपनिर्वाचनमा मतदान गर्न पाउनुभएन । यहाँ नेपाली कांग्रेसबाट उम्मेदवार गोविन्द भट्टराईले भने मतदान गर्नुभयो । बारा–२ मा रास्वपाका उम्मेदवार रमेश खरेल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र नेकपा एमालेका पुरुषोत्तम पौडेलले मतदान गर्न पाउनुभएन । यादवको मतदाता नामावली सुनसरीमा रहेको छ । पौडेलको बारा क्षेत्र नम्बर १ मा रहेको छ भने खरेलको मतदाता नामावली काठमाडौंमा रहेको छ । यो क्षेत्रमा जनमतबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहले भने मतदान गर्नुभएको छ ।
चितवन क्षेत्र नं.२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । लामिछानेले आचारसंहिताविपरीत कार्यहरू गरेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिनुभएको हो । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले लामिछानेले खुलेआम आचारसंहिता उल्लंघन गरेपछि बाध्य भएर आयोगमा उजुरी गर्नुपरेको जिकिर गर्दै भन्नुभयो, ‘उहाँबाट आचारसंहिताको धज्जी उडाउने काम भएको छ । यहाँ सबैले देखेका छन् । उहाँले १२र१४ वटासम्म गाडी प्रयोग गर्नुभयो । सडकमा पेन्टिङदेखि मतदानका बेला घण्टी बजाउँदै, नारा लगाउँदै मतदान केन्द्रमा घुम्ने र मतदातालाई प्रभावित पार्ने काम भयो । यस्तो खुलेआम आचारसंहिताविपरीत गरेपछि बाध्य भएर हामीले उजुरी दिएका हौँ ।’
मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्बर २ को देवताल गाउँपालिका(७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव छन् । यादव देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समितिको सदस्य रहेको बताइएको छ । स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोज्दा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको थियो । यादवलाई पक्राउ गरेपछि जसपाका स्थानीय नेता कार्यकर्ताले पनि लफडा गरेका थिए ।
नेकपा एमालेले उपनिर्वाचनमा धाँधलीको आरोप लगाएको छ । बारा-२ बाट नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले विभिन्न मतदान केन्द्रहरूमा धाँधली भएको उल्लेख गर्दै सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको हो । पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रहरी नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रूपहरू नांगो रूपमा देखिइरहेका छन् । यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको चरित्र प्रष्ट पारेको छ । हामी यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन जोडदार माग गर्दछौँ ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



