राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धि विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । यसअघिको संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकप्रमाणीकरण गर्न सरकारले गत जेठ १२ गते राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

यसअघि संसदका दुवै सदनले पारित गरेको नागरिकता विधेयक २०७९ साउन १६ गत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर उनले विधेयक चित्त नबुझेको भन्दै संसद्लाई फिर्ता पठाएकी थिइन् । पुनः भदौ २० गते दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पठाउँदा पनि विधेयक शीतल निवासमा नै रोकिएको थियो ।

यसरी पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी नै शीतल निवासबाट बाहिरिएकी थिइन् । सोही विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएपछि विभिन्न कारणले नागरिकता पाउनबाट वञ्चित ५ लाख बढी युवाहरुले नागरिकता पाउने छन् । तर विधेयकमा गरिएको विभिन्न प्रावधानलाई लिएर विरोध पनि अझै कायम छ ।