सरकारको नीति तथा कार्यक्रममा के छ ?

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही महत्वाकांक्षी घोषणा गरिएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा सूचना प्रविधि (आइटी) क्षेत्रबाट पाँच हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको हो । यस्तै, सरकारले थप १५ हजार पाँच हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याउने घोषणा गरेको छ । देशभरका पाँच लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा छ ।

सरकारले एक हजार युवालाई फेलोसिप प्रदान गर्ने भएको छ । यस्तै, एक वर्षमा एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । यस्तै, मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने, प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने, रक्सौल-काठमाडौं रेलमार्गको लगानी मोडालिटी टुंग्याउनेलगायत महत्वाकांक्षी योजना घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ । यस्तै, शिक्षक र कर्मचारीले राजनीतिको दलको सदस्यता लिन नपाउने भएका छन् ।

यस्तै, सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनर्उत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकतामा राखिएको छ । यस अघिका सरकारले पनि महत्वाकांक्षी घोषणा गर्ने गरेका थिए । तर, नीति तथा कार्यक्रमपछि आउने बजेट र कार्यान्वयन भने जहिल्यै निराशाजनक हुने गरेको छ । यसपालि पनि महत्वाकांक्षी योजना र ठुल्ठूला लक्ष्य राखिएको छ । अब यी योजनालाई समेटेर बजेट कसरी आउँछ ? त्यो भने हेर्न बाँकी छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको दाबी गरिएको छ । उत्पादन, उत्पादकत्व वृद्धि, सेवा सरलीकरण, भ्रष्टाचार नियन्त्रण लगायतलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको राष्ट्रपति पौडेलले बताउनुभयो । चालु आर्थिक वर्ष तीन हजार हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको, स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिएको, श्रम स्वीकृति, राहदानी लगायतको सेवा झण्झटमुक्त भएको सरकारको दाबी छ । सरकारले हालसम्मको कार्यकाल उत्साहजनक रहेको दाबी गरेको छ । सरकारले लिएका भ्रष्टाचार नियन्त्रण, सुशासन र मितव्ययिताको कार्यान्वयनबाट नागरिकमा आशा र भरोसा बढेको सरकारको दाबी छ ।

सरकारले विकासे कामलाई तीव्रता दिइरहेको दाबी गरेको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सरकारले विकासको गतिलाई तीव्रता दिएको बताउनुभएको हो । राष्ट्रपति पौडेलले सुनकोशी मरिन डाइभर्सनको सुरुङ निर्धारित समयभन्दा अगावै सकिएको बताउनुभयो । यस्तै, चालु वर्षमा थप तीन हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको समेत उहाँले बताउनुभयो । यस्तै, जलविद्युत् उत्पादनको जडित क्षमता दुई हजार ९४० मेगावाट पुगेको, कुल जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको समेत उहाँले बताउनुभयो । यसैगरी, विभिन्न कारणले लामो समयदेखि रोकिएको प्रसारणलाइन र सबस्टेसनको निर्माणको काम समेत चालु वर्षमा अघि बढेको बताउनुभयो । यसबाट उत्पादित बिजुलीको प्रसारणमा सहजता आएको बताइएको छ । यता, नेपालमा उत्पादित बिजुली भारत र बंगलादेशमा निर्यातको प्रक्रिया सुरु भइसकेको समेत राष्ट्रपति पौडेलको भनाइ छ ।

सरकारले सूचना प्रविधि (आइटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष पाँच हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (आव)को नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति पौडेलले आर्थिक वर्ष पाँच हजार रोजगारी सिर्जना गर्ने घोषणा गर्नुभएको हो । सरकारका लागि आवश्यक सफ्टवेयर निर्माणको काम सरकारी क्षेत्रबाटै निर्माण गर्ने र स्वदेशी उद्योगलाई प्राथमिकता दिने नीति लिइने उहाँले बताउनुभयो । आइटीलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण र समद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइने भएको छ । रोजगारी र सेवा निर्यातको मुख्य क्षेत्रका रूपमा यो क्षेत्रलाई दिइने उहाँले बताउनुभयो ।

सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले वर्ष २०८१/०८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरेको हो । सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरिने सरकारको योजना छ । समयमै बिउ र मलखादको आपूर्ति गरिएकाले धानलगायत कृषिबालीको उत्पादन बढेको सरकारको दाबी छ । कृषि क्षेत्रका उत्पादनका साधनहरूको अधिकतम परिचालनमा जोड दिइएको सरकारको भनाइ छ । चालु आर्थिक वर्षमा थप तीन हजार हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार भएको बताउँदै सुनकोशी-मरिन डाइभर्सन आयोजनाको १३.२ किलोमिटर लामो सुरुङ छिचोल्ने कार्य निर्धारित समयअगावै सम्पन्न भएको छ । कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण एवं बजारीकरणको स्पष्ट मार्गचित्र तयार गरी कार्यान्वयनमा ल्याइने सरकारको भनाइ छ । उत्पादनदेखि बजारीकरण सम्मको कृषि इकोसिष्टम सुधार कार्ययोजना कार्यान्वयन गरिने पनि कार्यक्रममा भनिएको छ । कृषि, पशुपन्छीपालन र वनको अन्तरसम्बन्ध स्पष्ट हुनेगरी भू-उपयोगमा आधारित कृषि प्रणालीको विकास गरिनेछ ।

सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । ‘महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

सरकारले क्रिकेट मैदानलाई प्राथमिकतामा राखेको छ । खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्दै काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशालाई तीव्रता दिइने सरकारले नीति तथा कार्यक्रममा उल्लेख छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढाउने पनि राष्ट्रपति पौडेलले बताउनुभयो । यस्तै, खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्दै काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशालाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रगंशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । कीर्तिपुरको क्रिकेट मैदानको स्तरोन्नतिका साथ थप निर्माण कार्य प्राथमिकताका साथ अघि बढाइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले सीपबिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सीपबिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको हो । श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको मागअनुसार उत्पादनशील रोजगारी प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रोजगार व्यवस्थापन र सीप विकासका लागि एकीकृत राष्ट्रिय रोजगार ढाँचा कार्यान्वयनमा ल्याइने राष्ट्रपति पौडेलले बताउनुभयो । सञ्चालनमा रहेका व्यावसायिक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तर उन्नति गरिने पनि उहाँले उल्लेख गर्नुभयो । रोजगार तथा स्वरोजगारसम्बन्धी प्रधानमन्त्री रोजगार, युवा स्वरोजगार कोष र सीप विकास तथा रोजगार प्रवद्र्धन लगायतका कार्यक्रमलाई एकीकृत रूपमा मर्ज गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताउनुभयो ।

सरकारले ठगी, मिटरब्याजलगायत अनुचित लेनदेन र जालसाजी जस्ता आर्थिक तथा वित्तीय अपराध कडाइसाथ नियन्त्रण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा ठगी, मिटरब्याजलगायत अनुचित लेनदेन र जालसाजी जस्ता आर्थिक तथा वित्तीय अपराध कडाइसाथ नियन्त्रण गर्ने घोषणा गरिएको हो । यस्तै, सार्वजनिक सम्पत्ति एवं स्रोतसाधन अनुचित दोहनजस्ता गैरकानुनी कार्य कडाइसाथ नियन्त्रित गर्ने घोषणा सरकारले गरेको छ ।

सरकारले विगत वर्षहरूजस्तै यो वर्ष पनि पुँजीगत खर्च वृद्धि गर्ने घोषणा गरेको छ । हरेक वर्ष प्राथमिकता साथ यो कार्यक्रम घोषणा गरिएको छ । तर, विगत वर्षहरूमा वर्षैभरि ६० प्रतिशतभन्दा बढी पुँजीगत खर्च हुन सकेको छैन । चालु आर्थिक वर्ष अहिलेसम्म ३७ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । विनियोजन कुशलता कायम गर्ने तथा सार्वजनिक ऋण अधिकतम प्रतिफल दिने क्षेत्रमा मात्रै उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वैदेशिक सहायतालाई प्राथमिकताका क्षेत्रमा प्रयोग गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ । चालु आवको नीति तथा कार्यक्रममा पनि यस्तै घोषणा गरिएको थियो ।

नीति तथा कार्यक्रमका केही महत्वपूर्ण बुँदाहरू

सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने
बालसुधार गृहका बालबालिकाको स्वास्थ्य बिमा गरिने
प्रहरीको अवकाश हुने समय अवधिमा हेरफेर हुने
रक्सौल-काठमाडौं रेलमार्गको लगानी मोडालिटी टुंग्याउने
कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने
समुद्रमा चल्ने पानीजहाज नेपालमा दर्ता हुने
आगामी वर्षभित्रैमा दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन सम्पन्न गरिने
प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने
मध्यपहाडी लोकमार्गलाई ‘समृद्धि करिडोर’ बनाइने
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता खोल्न प्रोत्साहन गरिने
गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरण गरिने
परम्परागत खेलकुदको प्रवद्र्धन गर्न राष्ट्रियस्तरका प्रतियोगिता गरिने
विश्वभर योग-ध्यान फैलाउने र पर्यटन प्रवद्र्धन गर्ने
मेलम्चीको खानेपानी काठमाडौंमा १२ महिना आपूर्ति हुने व्यवस्था मिलाइने
वीर, ट्रमा र कान्तिमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गरिने
शिक्षकको तलब मासिक रूपमा दिइने
दिवा खाजा कार्यक्रम परिमार्जन गरिने
 भू-उपग्रह स्थापनाको काम अघि बढाइने, डाटा सेन्टरका लागि मापदण्ड
इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने
हुलाक सेवालाई विद्युतीय व्यापारसँग जोडिने
कृषिसँग सम्बन्धित उद्योगलाई विद्युत्मा सहुलियत दिने
चक्रपथमा ‘अण्डरपास र ओभरपास’ बनाइने
नेपालमा चलचित्र छायांकनका लागि हलिउड र बलिउडलाई आकर्षित गरिने
औषधिमा आत्मनिर्भर हुन निजी क्षेत्रलाई प्रोत्साहन गरिने
ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनमा जोड दिइने
पोखरा र भैरहवा विमानस्थल चलाउन विशेष प्याकेज ल्याउने
बन्द उद्योग सञ्चालन गर्न निजी लगानी प्रोत्साहन गरिने
आगामी वर्ष पनि लघुवित्तका ऋणीको कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गरिने
गरिब परिवारलाई विद्युतीय चुलो उपलब्ध गराउने ।