बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि प्रधानमन्त्रीले अपील गरेका छन् ।

‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित गर्दछ,’ प्रधानमन्त्रीद्वारा जारी सूचनामा उल्लेख छ । यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्व तयारीको काम गरिरहेको प्रधानमन्त्रीको दावी छ ।

शुक्रवारदेखि भैरहेको अविरल वर्षाका कारणको राजधानी काठमाडौंसहित देशका अधिकांश भूभाग प्रभावित भएको छ । काठमाडौंका बागमती, विष्णुमति, मनोहरा, हनुमन्ते आदि खोलाहरुको जलस्तर बढेर पानी वस्तीमा समेत पसेको छ, जसका कारण नदी आसपास बसोबास गर्नेहरुको जनजीवन प्रभावित भएको छ । काठमाडौं बाहिरसमेत विभिन्न राजमार्गहरु पहिरोका कारण अवरुद्ध भएका छन् भने अधिकांश नदीहरुमा पानीको स्तर खतराको सिमाभन्दा माथि पुगेको छ । स्थानिय प्रशासनले बाढी तथा पहिराबाट हुने सम्भावित खतराबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन् ।