धरौटीमा रिहा भए दुर्गा प्रसाईँ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । दुई छुट्टा–छुट्टै घटनामा डिल्लीबजार कारागारमा रहेका प्रसाई २८ लाख धरौटी बुझाएर सोमवार राति रिहा भएका हुन् । गत वर्षको १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर मुद्दा दुबैमा उनलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश गरेको थियो ।

राजावादी आन्दोलनसँग जोडिएको मुद्दामा तीन लाख र बैंकिङ कसुर मुद्दामा उनले २५ लाख धरौटी बुझाएका थिए । सोमवार न्यायाधीशहरू टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीन लाख धरौटी माग उक्त आदेश गरेको हो ।

त्यस्तै, सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग मागेका हुन् । प्रसाईंसहित चार जनाले जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै उच्चमा गएका थिए । उक्त आदेशलाई उच्च अदालतले बदर गरेसँगै धरौटी माग गरेको हो ।

काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईंसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । तीनकुने घटनामा पक्राउ परेकामध्ये सातजना हिरासतमै थिए । उनीहरूमध्ये प्रसाईंसहित चार जनाले उच्चमा पुनरावेदन गरेका हुन् । बाँकी तीन जनाको तर्फबाट पुनरावेदन भएको छैन ।

प्रतिवादीहरू सुशील बराल, डण्डपाणी रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमसँग पनि धरौटी माग भएको छ । सुशील बरालसँग ५० हजार, दण्डपाणी रेग्मीसँग १० हजार र तारा राजावादीसँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको हो ।

प्रसाईंलाई लिन नेपाली कांग्रेसका सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए । कारागारमुक्तिपछि पहिलो पटक सार्वजनिक रुपमा फेसबुकबाट प्रतिक्रिया दिँदै प्रसाईंले देश तथा विदेशमा रहेका सबै समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

प्रसाईंले भनेका छ्न्– ‘जिल्ला अदालतको आदेशअनुसार म खुशीसाथ कारागार गएको थिएँ, उच्च अदालतको आदेशले आज मलाई घर फर्किने बाटो देखायो । तर मेरो यात्राको अन्त्य होइन, देश निर्माणका योजनासहित म पुनः अघि बढ्दैछु ।’

उनले अदालतप्रति विश्वास व्यक्त गर्दै न्याय प्रणाली अझै बाँचेको महसुस दिलाएको उल्लेख गरेका छन् । कारागारमा रहँदा साथ दिने सम्पूर्ण कारागार व्यवस्थापन, प्रहरी र थुनुवा साथीहरूलाई समेत उनले धन्यवाद दिएका छन् ।

‘म मेरो लागि हैन, देशकै लागि थिएँ, छु र रहिरहने छु’, प्रसाईंले स्पष्ट रुपमा भनेका छन्– ‘तरिका र शैली फरक हुन सक्छन्, तर राष्ट्रसेवा र जनताप्रतिको मेरो संकल्प परिवर्तन हुँदैन ।’

उच्च अदालत पाटनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश पनि सदर गरेको छ । जिल्ला अदालत काठमाडौंले मिश्र र राणालाई तीन–तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी पक्षमा उच्च अदालतमा पुनरावेदन गरेकोमा अदालतले आदेश सदर गरिदिएको हो । उच्चको आदेशपछि मिश्र र राणाले कारागारबाहिरै रहेर मुद्दा लड्न पाउने छन् ।