पश्चिमी सिड्नीमा नेपाली समुदायद्वारा १२औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न

सांस्कृतिक समन्वय र स्वास्थ्य प्रवर्द्धन मुख्य उद्देश्य
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ अन्तर्राष्ट्रिय योग दिवस गत महिना अर्मिङ्गटन कम्युनिटी सेन्टरमा भव्य रूपमा सम्पन्न भएको छ। “स्वस्थ बुढ्यौलीका लागि योग (Yoga for Healthy Ageing)” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा योगले मानव जीवनका हरेक चरणमा शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे विशेष रूपमा प्रकाश पारिएको थियो।

कार्यक्रममा योग साधक–साधिका, योगप्रेमी परिवार, बालयोगी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन वरिष्ठ योगी यादव ढुंगेल तथा बसुन्धरा ढुंगेलले ज्ञान, शान्ति र आध्यात्मिक जागरणको प्रतीकस्वरूप दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उद्घाटनपछि बसुन्धरा ढुंगेल, सुलोचना पोखरेल, पुष्पा दाहाल, जानुका चौधरी तथा डा. शोभा नेपालीको मार्गदर्शनमा बालयोगी समूहले पाँच वैदिक मन्त्रको वाचन गरेको थियो। त्यसपछि बालयोगीहरूले पृथ्वी माताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै भूमि नमस्कार प्रस्तुत गरेका थिए। वैदिक मन्त्रको उच्चारण र योग अभ्यासले सम्पूर्ण वातावरणलाई आध्यात्मिक ऊर्जा तथा सकारात्मक भावनाले भरिपूर्ण बनाएको थियो।

कार्यक्रमको अर्को आकर्षण बालयोग प्रतियोगिता थियो। प्रतियोगितामा बालबालिकाहरूले पहेलमान बैठक, वृक्षासन, ध्रुवासन तथा ध्यान अभ्यासमार्फत आफ्नो शारीरिक क्षमता, एकाग्रता र आत्मविश्वास प्रदर्शन गरेका थिए। प्रतियोगिताले बालबालिकालाई सानै उमेरदेखि योग अभ्यासप्रति आकर्षित र प्रेरित गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा १०८ सूर्य नमस्कार सम्पन्न गरिएको थियो। बालबालिका तथा वयस्क योग साधकहरूले अनुशासन, सहनशीलता र मानसिक एकाग्रतासहित उत्साहपूर्वक सहभागिता जनाउँदै १०८ सूर्य नमस्कार पूरा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै समुदायकी अध्यक्ष तथा कार्यक्रम संयोजक डा. शोभा नेपालीले आधुनिक जीवनशैलीमा योगको महत्वबारे प्रेरणादायी मन्तव्य दिनुभयो। उहाँले योगले शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै तनाव व्यवस्थापन, स्वास्थ्य संरक्षण र जीवनमा सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

अनुसन्धान तथा अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले ३० मिनेट ट्रेडमिलमा दौडँदा करिब २५० क्यालोरी खर्च हुने, तर सोही अवधिमा सूर्य नमस्कार गर्दा करिब ४५० क्यालोरी खर्च हुने जानकारी दिनुभयो। उहाँका अनुसार सूर्य नमस्कारले शरीरका अधिकांश मांसपेशी र जोर्नीलाई सक्रिय बनाउने, शरीरको लचकता बढाउने, मानसिक तनाव कम गर्ने तथा मुटु र फोक्सोको कार्यक्षमता सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ। प्रत्येक आसनसँग श्वास–प्रश्वासको उचित तालमेल हुने भएकाले यसको प्रभाव अझ बढी हुने उहाँको भनाइ थियो।

कार्यक्रमका विशेष अतिथि सिटी अफ पारामाटा काउन्सिलका अर्मिङ्गटन वार्डका काउन्सिलर Sreeni Pillamarri ले योगका फाइदा, भगवान शिवप्रतिको आफ्नो आस्था तथा नेपाल र नेपाली समुदायप्रतिको सम्मान व्यक्त गर्नुभयो। उहाँले योगजस्ता साझा गतिविधिहरूले विभिन्न संस्कृतिका मानिसहरूलाई एउटै समुदायका रूपमा जोड्ने विश्वास व्यक्त गर्दै समुदायको विकास, भावी पुस्ताको स्वास्थ्य तथा सशक्तीकरणका लागि आफू सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो।

दिउँसोको सत्रमा वरिष्ठ योगी असिम लम्सालको नेतृत्वमा चक्र ध्यान सञ्चालन गरिएको थियो। साथै सन्तोष ढकाल, निमा पोखरेल तथा जेन खड्गीको संयुक्त सहजीकरणमा ध्वनि चिकित्सा (Sound Healing) सत्र सम्पन्न भएको थियो। ध्यान, ध्वनि कम्पन तथा ऊर्जामार्फत सहभागीहरूले मानसिक शान्ति, आन्तरिक सन्तुलन तथा समग्र स्वास्थ्यको अनुभूति गरेका थिए।

योग प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बालयोगीहरूलाई नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। समग्र उत्कृष्टतर्फ राशी लम्साल, द्वितीय समैया लम्साल तथा तृतीय ह्रिग बोगटी  सम्मानित भएका थिए। त्यसैगरी, सन् २०२१ देखि निरन्तर योग अभ्यास गर्दै हाल “योगा व्हील” नामक खेलयोगको अवधारणा विकास गरेका आश्रभ बोगटीलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको समापन सहभागीहरूलाई सात्त्विक, स्वास्थ्यवर्धक तथा प्रेमपूर्वक तयार गरिएको महाप्रसाद वितरण गरिएको थियो। महाप्रसादले सहभागीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै अनुभव आदान-प्रदान र सामाजिक एकताको भावना अझ बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

समारोहले योग केवल शारीरिक व्यायाम मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्य, आत्मिक शान्ति, सामाजिक एकता, मानवीय करुणा र आध्यात्मिक विकासलाई समेट्ने समग्र जीवनशैली भएको सन्देश प्रभावकारी रूपमा प्रवाह गरेको थियो।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण स्वयंसेवक, अतिथि तथा सहभागीहरूप्रति सिड्नीस्थित नेपाली समुदायले हार्दिक आभार व्यक्त गरेको छ। विशेष रूपमा प्रविधि व्यवस्थापन तथा बालयोग प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गर्ने नवीन खरेल, प्रतियोगिताकी निर्णायक तथा ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्रकी संयोजक मीना शर्मा, कार्यक्रम सञ्चालन गर्ने समुदायकी महासचिव कृष्णा रिमाल, बालबालिकाका लागि खाद्य व्यवस्थापन गर्ने उपाध्यक्ष सन्ध्या रेग्मी, महाप्रसाद व्यवस्थापन तथा अन्य कार्यमा योगदान दिने रोमा आले, निष्ठा कार्की, सन्जु ढुंगाना, बल्याकटाउन नेपाली पाठशालाकी प्राचार्य सरस्वती घिमिरे तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति समुदायले विशेष धन्यवाद ज्ञापन गरेको छ।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण सहभागीहरूको सुख, स्वास्थ्य, समृद्धि तथा उज्ज्वल भविष्यको कामना गर्दै समारोह सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।