अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन सिड्नीमा हुँदै

उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट गर्ने
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई २४ र २५ मा सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन आयोजना हुने भएको छ। विश्वभर रहेका नेपाली उद्यमी, लगानीकर्ता, नीति निर्माता, बैंकिङ क्षेत्रका नेतृत्वकर्ता, प्रविधि विज्ञ तथा नवप्रवर्तकहरूलाई एकै मञ्चमा ल्याई उद्यमशीलता, नवप्रवर्तन, लगानी तथा आर्थिक विकासका विषयमा विचार विमर्श, अनुभव आदानप्रदान र सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।

सम्मेलन आयोजक समिति संयोजक तथा FINYE अष्ट्रेलियाकी अध्यक्ष सुजाता चालिसेका अनुसार सम्मेलनले विशेष गरी युवा उद्यमशीलताको प्रवर्द्धन, व्यवसायमा देखा परिरहेका चुनौतीहरूको पहिचान र समाधान, भावी युवा नेतृत्वको विकास तथा ए.आई, सूचना प्रविधि र डिजिटल मार्केटिङको प्रभावकारी प्रयोगजस्ता समसामयिक विषयमा केन्द्रित छलफल गर्नेछ।

उहाँका अनुसार सम्मेलनको उद्घाटन समारोहमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अर्थमन्त्री वाग्लेको सम्बोधन नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता, नवप्रवर्तन, लगानीको वातावरण, प्रवासी नेपालीको भूमिका तथा विश्वव्यापी नेपाली व्यावसायिक सञ्जालको सम्भावनामा केन्द्रित रहने अपेक्षा गरिएको छ।

सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, Forbes 30 Under 30 US 2026 सूचीमा परेका अजर राजभण्डारी, मानसिक स्वास्थ्य तथा कल्याणसम्बन्धी प्लेटफर्म Happy Minds की संस्थापक श्रेया गिरी, डेटा वैज्ञानिक तथा सूचना-प्रविधि विज्ञ डा. भोजराज घिमिरे, बरउड सिटी काउन्सिलकी काउन्सिलर सुकीर्ति भट्ट, प्राध्यापक कृष्णकुमार श्रेष्ठ लगायत काजल नैना राई, सयना ढकाल, रञ्जु वाग्ले थापा, निकोलस अब्राहम, निशान्त शर्मा, मोती नारल, निरज खनाल, ओम ढुंगेल, सविना सिलवाल, स्वेता पौडेल र सूचना पौडेलले विभिन्न विषयमा आफ्नो अनुभव, ज्ञान र विशेषज्ञता साझा गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा सहभागीहरूले उद्यमशीलताको वर्तमान अवस्था, व्यवसाय विस्तारका सम्भावना, स्टार्टअप इकोसिस्टम, अन्तर्राष्ट्रिय बजार, प्रविधिमैत्री व्यवसाय, लगानी तथा नवप्रवर्तनका विविध आयाममा केन्द्रित छलफल र अन्तरक्रियामा सहभागिता जनाउनेछन्।

संयोजक चालिसेले आफ्नै व्यवसाय वा स्टार्टअप सुरु गर्ने सोच बनाएका युवाहरूका लागि सम्मेलन विशेष रूपमा उपयोगी हुने बताइन्। सम्मेलनमा सहभागीहरूलाई विभिन्न क्षेत्रका सफल उद्यमी तथा विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूले सामना गरेका चुनौती र समाधानबारे सिक्ने तथा आफ्नो व्यवसायिक यात्रा अघि बढाउन आवश्यक मार्गदर्शन प्राप्त गर्ने अवसर मिल्ने उनको भनाइ छ।

नेपाल र प्रवासी नेपाली समुदायबीच व्यापार, लगानी, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्नुका साथै नेपाली उत्पादन, सेवा, प्रतिभा र व्यावसायिक क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न यो सम्मेलन महत्वपूर्ण अवसर बन्ने बताउंदै  FINYE अष्ट्रेलियाका महासचिव कमल सिलवालले सम्मेलनमा चार सयभन्दा बढी उद्यमी, व्यवसायी तथा उद्यमशीलतामा रुचि राख्ने युवाको सहभागिता रहने अपेक्षा गरिएको जानकारी दिए। सम्मेलनले विचार–मन्थन, सहकार्य, नेटवर्किङ तथा अनुभव आदानप्रदानमार्फत नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ। उनले विश्वभर रहेका नेपाली युवा उद्यमी तथा व्यवसायीबीच प्रभावकारी अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने FINYE को दीर्घकालीन उद्देश्यलाई साकार पार्न सिड्नी सम्मेलन महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने बताए।