ब्ल्याकटाउन नेपाली समुदायले दशौँ वार्षिकोत्सव सँगै भव्य तीज मनाए

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक पर्व हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।
समुदायको स्थापनाकाल देखि नै निरन्तर आयोजना हुँदै आएको तीज कार्यक्रम संस्थाको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ। यस वर्ष पनि कार्यक्रममा समुदायका सदस्य, अभिभावक, विद्यार्थी, शिक्षक, व्यवसायी तथा स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 
कार्यक्रमको विशेष आकर्षण नेपाली भाषा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको संयुक्त सांस्कृतिक प्रस्तुति रहेको थियो । विद्यार्थी, अभिभावक र शिक्षक एउटै मञ्चमा सांस्कृतिक प्रस्तुति दिँदै सहभागी भएको दृश्यले पुस्ताबीचको सम्बन्धसँगै नेपाली भाषा, संस्कृति र परम्पराको पुस्तान्तरणको सुन्दर सन्देश दिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि स्टेफन बालि (Stephen Bali) ले नेपाली समुदायको मेहनत, मानवीय भावना तथा समुदायप्रतिको योगदानको प्रशंसा गर्दै नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
संस्थाका सचिव रोशन लामिछानेले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथि, समुदायका सदस्य, अभिभावक, विद्यार्थी, शिक्षक, स्वयंसेवक तथा सहयोगीहरूलाई स्वागत गरे। संस्थाकी अध्यक्ष प्रकृति श्रेष्ठले पछिल्लो एक वर्षमा समुदायबाट प्राप्त सहयोग तथा संस्थाका आगामी योजनाबारे जानकारी दिँदै सम्झना पाठशाला सँगको सहकार्यले नेपाली भाषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्।
कार्यक्रमको मुख्य प्रायोजक प्रिशा क्याटरिंग रहेको थियो भने स्थानीय २३ नेपाली व्यवसायले कार्यक्रमलाई सहयोग गरेका थिए। आयोजकले सम्पूर्ण प्रायोजक, व्यवसायी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा समुदायका सदस्यप्रति आभार व्यक्त गरेको छ।
संस्थाकी संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्लाहकार एवं कार्यक्रमकी संचालिका प्रतिज्ञा अधिकारीले नेपाली समुदायमा विशेष महत्व बोकेको पर्व भएको उल्लेख गर्दै तीजले नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण सांस्कृतिक अवसरको रूप लिएको बताइन्।


त्यसैगरी, Greater Sydney Nepalese Multicultural Centre (GSNMC) का अध्यक्ष बिष्णु हमालले नेपाली मल्टिकल्चरल सेन्टर निर्माणको अभियानमा समुदायको सहभागिता र एकताको आवश्यकता औँल्याउँदै सबैलाई अभियानमा जोडिन आग्रह गरे।
कार्यक्रममा ब्ल्याकटाउन नेपाली समुदायको दश वर्षे यात्रालाई समेटिएको विशेष भिडियो समेत प्रस्तुत गरिएको थियो। भिडियोमार्फत संस्थाको स्थापना, विकास, समुदायसँगको सम्बन्ध तथा विगत एक दशकको सामूहिक यात्रालाई स्मरण गरिएको थियो। सांस्कृतिक प्रस्तुति, नाचगान, संगीत र सामूहिक सहभागिताले भरिएको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। विद्यार्थी, शिक्षक, अभिभावक, नयाँ पुस्ता तथा समुदायका अग्रजहरू एउटै मञ्चमा जोडिनुले तीज मनोरञ्जनको पर्व मात्र नभई पुस्तान्तरण, सांस्कृतिक पहिचान र सामुदायिक एकताको महत्वपूर्ण माध्यम बन्न सक्ने सन्देश दिएको छ।
ब्ल्याकटाउन नेपाली समुदायको दश वर्षे यात्रासँगै निरन्तरता पाउँदै आएको तीज कार्यक्रमले संस्थागत विकाससँगै नेपाली भाषा, संस्कृति र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउँदै गएको देखाएको छ।