मनोचिकित्सकको नजरबाट नेपाली समाजको आक्रोश

-- डा. अनुपम पोखरेल (मनोचिकित्सक, मेलबर्न, अष्ट्रेलिया) ?>

सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने कुरा सार्वजनिक बहसमा पनि बाक्लै सुनिन थाल्यो। मानिसहरू निराश छन्, युवाले देशमा भविष्य देख्न छोडेका छन्, संस्थाप्रति विश्वास घटेको छ, केही गरे पनि केही हुँदैन भन्ने भावना बढेको छ भन्ने चर्चा टेलिभिजन, सामाजिक सञ्जाल र लेखहरूमा हुन थाल्यो। जनवरी २०२५ मा Nepali Times ले समेत नेपाली समाज “deep state of depression” मा छ भन्ने बलियो भाष्य बनेको उल्लेख गरेको थियो, यद्यपि त्यस लेखले त्यस्तो निराशावादी धारणालाई चुनौती दिने सर्वेक्षण पनि प्रस्तुत गरेको थियो।

मलाई यो बहस नयाँ लागेन।

सन् २०१३ मा यही Nepali Times Australia मा मैले “के समाज नै पनि रोगी हुन सक्छ?” भन्ने लेख लेखेको थिएँ। म मनोचिकित्सक भएकाले होला, त्यतिबेला नेपालको समाज हेर्दा मलाई डिप्रेसन भएका मेरा बिरामीहरूसँग केही समानता देखिएको थियो। डिप्रेसन भएको मानिसले आफूलाई कमजोर देख्न सक्छ, वरिपरिको संसार नकारात्मक देख्न सक्छ, भविष्य अँध्यारो देख्न सक्छ। “मैले जे गरे पनि केही हुँदैन” भन्ने सोच बलियो हुन सक्छ। प्रयास घट्छ। प्रयास घटेपछि परिणाम पनि कम आउँछ र त्यही परिणामले “देख्यौ, मैले भनेकै थिएँ, मबाट केही हुँदैन” भन्ने पुरानो विश्वासलाई अझ बलियो बनाउन सक्छ।

त्यतिबेला मैले प्रश्न गरेको थिएँ—यदि कुनै समाजका धेरै मानिसमा पनि “यहाँ केही हुँदैन”, “यो देश यस्तै हो”, “हामीबाट केही हुँदैन” भन्ने सोच हावी भयो भने के त्यो समाजलाई रूपकका रूपमा डिप्रेस्ड समाज भन्न सकिन्छ?

तेह्र वर्षपछि फर्केर हेर्दा मलाई लाग्छ, त्यो प्रश्न गलत थिएन। तर शायद अधुरो थियो।

आज पनि “यहाँ केही हुँदैन” भन्ने सामूहिक निराशा घटेको जस्तो लाग्दैन। कुनाकाप्चामा आशाका किरण अवश्य देखिन्छन्, तर समग्रमा हाम्रो समाज पहिलेभन्दा बढी आक्रोशित पनि देखिन्छ। कहिले त्यो आक्रोश सडकमा विस्फोट हुन्छ, कहिले पुरानो राजनीतिक नेतृत्वलाई एकैपटक अस्वीकार गर्छ, अनि कहिले कुनै नयाँ व्यक्ति वा शक्तिमाथि असाधारण आशा राख्छ। केही समयअघि जसलाई समाधान ठानिएको थियो, केही समयपछि त्यही व्यक्ति समस्याको प्रतीक बन्न सक्छ। अनि फेरि अर्को नयाँ पात्र देखा पर्छ।

त्यसैले मनोचिकित्सकको भाषामा अलिकति ठट्टा गर्ने हो भने मलाई कहिलेकाहीँ लाग्छ—डिप्रेसन त छ, तर कतै त्यो Borderline Personality Disorder को पृष्ठभूमिमा आएको depression त होइन?

यो ठट्टा नै हो।

समाजलाई Borderline Personality Disorder हुँदैन। BPD एउटा व्यक्तिमा हुने वास्तविक मानसिक स्वास्थ्य समस्या हो र त्यसले ती व्यक्ति तथा उनीहरूको परिवारलाई ठूलो पीडा दिन सक्छ। समाजलाई मानिसलाई जस्तै psychiatric diagnosis लगाउनु न वैज्ञानिक हुन्छ, न उचित।

तर प्रतीकात्मक रूपमा हेर्दा यसले केही रोचक प्रश्न भने उठाउन सक्छ।

सरल भाषामा भन्नुपर्दा BPD मा आफ्नो भावनामाथि नियन्त्रण राख्न कठिन हुन सक्छ। भावना छिटो र तीव्र रूपमा बदलिन सक्छ। रिस निकै तीव्र हुन सक्छ। सम्बन्धहरू गहिरा तर अस्थिर हुन सक्छन्। आज अत्यन्त राम्रो ठानिएको मानिस भोलि अत्यन्त नराम्रो देखिन सक्छ। मनोचिकित्सामा यसलाई idealisation र devaluation भनिन्छ। मानिस impulsive हुन सक्छ, अर्थात् आवेगमा निर्णय गर्न सक्छ। आत्महानि तथा आत्महत्याको जोखिम पनि बढी हुन्छ। अत्यधिक तनावका बेला केही मानिस बढी शंकालु हुन सक्छन्। BPD भएका मानिसमा depression लगायत अन्य mental health problems पनि बढी देखिन्छन्।

अब यो मनोचिकित्सकीय वर्णनलाई diagnosis नभई एउटा ऐनाका रूपमा समाजतिर फर्काएर हेरौँ।

हाम्रो राजनीतिमा मानिस वा शक्तिप्रतिको भावना कति स्थिर छ?

कुनै समयमा एउटा व्यक्ति देश बनाउने मानिसजस्तो देखिन्छ। उसले देशलाई नयाँ दिशामा लैजान सक्छ भन्ने ठूलो आशा हुन्छ। केही समयपछि त्यही व्यक्तिलाई देशका धेरै समस्याको जिम्मेवार ठान्न थालिन्छ। अनि हाम्रो आशा अर्को पात्रमा सर्छ।

पात्र बदलिन्छ।

तर आशा गर्ने हाम्रो तरिका कति बदलिन्छ?

यो प्रश्न कुनै एउटा पार्टी वा नेताका लागि मात्र होइन। फरक समयमा फरक राजनीतिक शक्ति र व्यक्तिसँग फरक कारणले ठूलो जनअपेक्षा जोडिएको देखिन्छ। माओवादी आन्दोलनपछि प्रचण्ड र “नयाँ नेपाल” सँग ठूलो अपेक्षा जोडियो। पछि केपी ओलीसँग स्थिरता, राष्ट्रवाद र समृद्धिको आशा जोडियो। बीचबीचमा राजसंस्थालाई फेरि स्थिरताको विकल्पका रूपमा हेर्ने आवाज उठे। २०२५ मा राजसंस्था समर्थक प्रदर्शनहरू पनि भए। त्यही वर्ष Gen Z आन्दोलनले भ्रष्टाचार, राजनीतिक नेतृत्व र शासनप्रतिको तीव्र असन्तुष्टि सडकमा ल्यायो र ओली सरकारको पतन भयो। त्यसपछि २०२६ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले २७५ मध्ये १८२ सिट जित्यो र बालेन शाह नयाँ राजनीतिक आशाको केन्द्रमा आए। यी घटनाका कारण र अर्थ फरक छन्, तर छोटो अवधिमा नेपाली राजनीतिक अपेक्षाको केन्द्र कति ठूलो रूपमा सरेको छ भन्नेचाहिँ देखिन्छ।

यी सबै व्यक्ति र राजनीतिक आन्दोलन एउटै होइनन्। तिनको इतिहास, राजनीति, उपलब्धि र कमजोरी फरक छन्। कसलाई सही र कसलाई गलत भन्ने मेरो विषय पनि यहाँ होइन।

मलाई चासो लागेको कुरा उनीहरूप्रति हाम्रो अपेक्षा गर्ने तरिका हो।

हामीले कहिलेकाहीँ राम्रो नेता खोज्ने क्रममा उद्धारकर्ता पो खोजिरहेका छौँ कि?

मनोचिकित्साको भाषामा idealisation भनिने कुरा हाम्रो सामाजिक सन्दर्भमा कहिलेकाहीँ देवत्वकरणजस्तै देखिन सक्छ।

आशाले भन्न सक्छ—“यो नेतृत्वले केही राम्रो गर्न सक्छ।”

देवत्वकरणले विस्तारै भन्न थाल्न सक्छ—“यिनैले मात्र गर्न सक्छन्।”

आशाले भन्न सक्छ—“परिवर्तन सम्भव छ।”

Fantasy ले भन्न सक्छ—“अब एकैचोटि सबै बदलिन्छ।”

आशाले गल्तीको सम्भावना स्वीकार गर्न सक्छ। देवत्वकरणमा गल्ती देख्न कठिन हुन्छ।

अनि त्यही अपेक्षा पूरा भएन भने अर्को छेउमा पुग्न पनि धेरै समय नलाग्न सक्छ।

हिजो “यसैले देश बनाउँछ” भनिएको व्यक्ति आज “यसैले देश बिगार्‍यो” भन्ने ठाउँमा पुग्न सक्छ। हिजो जसको देवत्वकरण गरिएको थियो, आज त्यही व्यक्ति दानवीकरणको शिकार हुन सक्छ। एक किसिमले हिजोको idealisation आज devaluation मा बदलिन्छ।

अनि हाम्रो आशा फेरि अर्को पात्रमा सर्छ।

कुनै व्यक्ति जतिसुकै सक्षम भए पनि हामीले बोकाएको सम्पूर्ण आशाको भार उसले बोक्न सक्दैन। समस्या देवत्वकरण गर्ने समाजमा मात्र नहुन सक्छ। देवत्वकरण गरिएको व्यक्तिले पनि आफूलाई असाधारण वा सर्वशक्तिमान ठान्न थाल्यो भने उसले यही प्रक्रियालाई अझ मलजल गर्न सक्छ।

शायद यही कारणले मलाई “depression” मात्र भन्ने शब्द अहिले अलि अपुग लाग्छ।

डिप्रेसनमा एउटा दीर्घ निराशा हुन्छ। हाम्रो सामाजिक मनःस्थिति चाहिँ कहिलेकाहीँ निराशा, तीव्र आक्रोश, ठूलो आशा र फेरि निराशाबीच घुमेजस्तो देखिन्छ।

यो उतारचढाव राजनीति र नेतामा मात्र सीमित छ कि भन्ने प्रश्न पनि गर्न सकिन्छ।

अत्यधिक तनावका बेला BPD भएका मानिस बढी शंकालु हुन सक्छन्। यही कुरा पढ्दा कहिलेकाहीँ हाम्रो सामाजिक बहस सम्झना आउँछ।

स्वस्थ समाजमा फरक विचार हुनु स्वाभाविक हो। भारत, चीन वा अमेरिकासँग नेपालको सम्बन्ध कस्तो हुन सक्छ वा हुनुपर्छ भन्ने विषयमा ठूलो मतभेद हुनु पनि अस्वाभाविक होइन। नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा यी शक्तिको प्रभावबारे प्रश्न उठ्नु स्वाभाविक नै हो।

तर कहिलेकाहीँ यस्ता बहस तथ्य र नीतिभन्दा conspiracy theory ले बढी चलाएको जस्तो पनि देखिन्छ। कुनै ठूलो राजनीतिक घटना भयो कि “यसको पछाडि कसको हात छ?” भन्ने प्रश्न तुरुन्तै उठ्छ। कहिलेकाहीँ विचारका दुई छेउ यति टाढा पुग्छन् कि बहस सामान्य शंकाको सीमाभन्दा पनि पर पुगेजस्तो देखिन्छ।

म यहाँ कुन पक्ष सही वा गलत भन्न खोजिरहेको छैन। केवल एउटा मनोचिकित्सकीय समानता रोचक लागेको हो—तनाव र अनिश्चितता बढेका बेला व्यक्ति मात्र होइन, समाज पनि बढी शंकालु हुन सक्छ कि?

उत्तर पाठककै लागि छोडौँ।

BPD को रूपकमा अर्को शब्द आउँछ—impulsivity।

यो शब्द समाजमा प्रयोग गर्दा अझ सावधान हुन सकिन्छ। जनताले कुनै राजनीतिक परिवर्तन रोजे भनेर त्यसलाई impulsive भन्नु सजिलो हुन्छ, तर त्यस्तो निष्कर्ष हाम्रो आफ्नै पूर्वाग्रह पनि हुन सक्छ। मानिससँग परिवर्तन चाहनाका वास्तविक कारण हुन्छन्।

तर एउटा प्रश्न भने सोध्न सकिन्छ—दीर्घकालीन र जटिल समस्याको समाधान खोज्दा हामीलाई विस्तारै संस्था बनाउने प्रक्रियाभन्दा ठूलो र तत्काल परिवर्तनको विचार बढी आकर्षक लाग्छ कि?

कहिले व्यवस्था नै फेर्ने कुरा आउँछ, कहिले पुराना सबैलाई हटाउने, कहिले फेरि राजा ल्याउने, कहिले नयाँ पुस्तालाई मात्र जिम्मा दिने, अनि कहिले एउटा बलियो मानिस आए सबै ठीक हुन्छ भन्ने अपेक्षा हुन्छ।

यी प्रत्येक विचारका आफ्नै राजनीतिक तर्क हुन सक्छन्। प्रश्न ती विचार राख्न पाइन्छ कि पाइँदैन भन्ने होइन। प्रश्न हो—परिवर्तनको आकर्षणसँगै त्यसपछि चाहिने संस्था, नियम, checks and balances र लामो संक्रमणबारे पनि हामी उति नै सोचिरहेका हुन्छौँ कि हुँदैनौँ?

यहाँसम्म आइपुग्दा अर्को असहज समानता आउँछ—आत्महानि र आत्महत्या।

BPD भएका व्यक्तिमा आत्महानि र आत्महत्याको जोखिम बढी हुन्छ। Depression सँगै हुँदा अवस्था अझ जटिल हुन सक्छ। तर नेपालमा अहिले दोहोरिरहेका आत्मदाहका घटनालाई यसैको “सामाजिक लक्षण” भनेर जोड्नु गलत हुन्छ।

प्रत्येक आत्महत्याको आफ्नै कथा हुन्छ। कसैमा depression हुन सक्छ, कसैमा अर्को मानसिक समस्या, कसैमा आर्थिक संकट, पारिवारिक द्वन्द्व, अपमान, substance use, impulsivity वा धेरै कुरा एकैपटक जोडिएका हुन सक्छन्। पर्याप्त जानकारीबिना कसैको मृत्युको कारण घोषणा गर्न मिल्दैन।

तर घटनालाई पूर्णतः व्यक्तिगत भनेर समाजले आफूलाई प्रश्न नै नगर्ने पनि ठीक नहुन सक्छ।

जुलाई २०२६ मा एक हप्ताभित्र नेपालमा तीन जना व्यक्तिको छुट्टाछुट्टै आत्मदाह प्रयासपछि मृत्यु भयो। ती घटनाको परिस्थिति एउटै थिएन र प्रहरीले तीमध्ये केही घटनाको कारणबारे अनुसन्धान गरिरहेको थियो।

तर यस्तो घटना दोहोरिँदा एउटा प्रश्नचाहिँ उठ्न सक्छ—के केही मानिसलाई आफ्नो पीडा सामान्य बाटोबाट सुनाउन सकिन्छ भन्ने विश्वास कमजोर भएको छ?

मानिस कार्यालय जान सक्छ, निवेदन दिन सक्छ, प्रहरी जान सक्छ, अदालत जान सक्छ, नेतालाई भेट्न सक्छ वा मिडियासम्म पुग्न सक्छ। तर यी सबै ढोकामध्ये कुनै पनि ढोका खुलेको अनुभव भएन भने केही मानिसमा आफू फसेको अनुभूति अत्यन्त तीव्र हुन सक्छ। मनोचिकित्सामा entrapment—न अगाडि जाने बाटो, न पछाडि फर्कने, न उम्कने विकल्प—आत्महत्याको जोखिम बुझ्दा महत्वपूर्ण अवधारणा हो।

यसको अर्थ आत्मदाह राज्यले गराएको हो भन्ने होइन। न त आत्मदाहलाई राजनीतिक protest को वीर रूप बनाउन मिल्छ।

तर मानिस जलेपछि मात्र राज्य, मिडिया र समाजले उसको कथा सुन्न थालेको देखियो भने त्यसले अरू मानिसलाई कस्तो सन्देश दिन सक्छ भन्ने प्रश्न चाहिँ गर्न सकिन्छ।

यही ठाउँमा आएर म फेरि २०१३ को आफ्नै लेखमा फर्कन्छु।

त्यतिबेला मैले समाजको depression देखेको थिएँ।

तेह्र वर्षपछि अरूले पनि नेपाली समाजको depression को कुरा गरिरहेका छन्।

तर अहिले मलाई लाग्छ—शायद depression हामीले सजिलै देख्न सक्ने माथिल्लो तह मात्र हो।

“यहाँ केही हुँदैन”, “मेरो बच्चाको भविष्य यहाँ छैन”, “सिस्टम कहिल्यै बदलिँदैन”, “सिधा बाटो हिँडेर केही हुँदैन”—यी वाक्य अझै सुनिन्छन्।

तर तिनको छेउमै अर्को किसिमका वाक्य पनि सुनिन्छन्—“अब चाहिँ सबै बदलिन्छ”, “यो मानिस आयो भने देश बन्छ”, “यी पुराना सबै हटेपछि समस्या सकिन्छ।”

त्यसैले आज मलाई लाग्छ—सायद निराशा हाम्रो अहिलेको mood हो, तर भावनात्मक dysregulation हाम्रो अझ पुरानो सामाजिक प्रवृत्ति हो कि?

एक छेउमा “केही हुँदैन।” अर्को छेउमा “अब सबै हुन्छ।”

एक समयमा असाधारण भरोसा। अर्को समयमा पूर्ण निराशा।

एक दिन देवत्वकरण। अर्को दिन दानवीकरण।

यदि यस्तो कुनै सामाजिक प्रवृत्ति छ भने त्यो कहाँबाट आयो होला?

व्यक्तिमा BPD को कारण एउटै हुँदैन। जैविक बनावट, temperament, environment र developmental experiences जस्ता धेरै कुरा मिसिन सक्छन्। प्रतिकूल अनुभव भएका सबै व्यक्तिमा BPD हुँदैनन् र BPD भएका सबैको developmental history पनि एउटै हुँदैन।

समाजको कुरा झन् जटिल हुन्छ।

तर समाजको पनि एउटा इतिहास हुन्छ।

नेपालले लामो समय तहगत सामाजिक र राजनीतिक संरचना देख्यो। राजतन्त्र, पञ्चायत, बहुदलीय परिवर्तन, दस वर्षको सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, गणतन्त्र, संविधान र संघीयता—केही दशकभित्रै राज्यको संरचना पटकपटक बदलियो। २००८ पछि मात्र नेपालमा बारम्बार सरकार परिवर्तन भएका छन्। त्यसमा गरिबी, वर्ग, जात, भूगोल, बसाइँसराइ, अवसरको असमानता, सामन्ती संस्कार र पहुँचमा आधारित परम्परा, राजनीतिक अस्थिरता र छिमेकी शक्तिसँगको जटिल सम्बन्ध थपिन्छन्।

यस्तो लामो र जटिल विकासक्रम भएको समाजमा विश्वास, अधिकार, शक्ति र पहिचानसँगको हाम्रो सम्बन्ध पनि सरल नहुन सक्छ।

हामीले लामो समयसम्म संस्थाभन्दा व्यक्तिलाई बढी चिनेका हौँ कि?

राजा हुँदा राजा नै राज्य।

पार्टी बलियो हुँदा पार्टी नै राज्य।

नेता बलियो हुँदा नेता नै पार्टी।

त्यसैले राज्य कमजोर देखिँदा हामी संस्था खोज्नुको सट्टा फेरि अर्को बलियो पात्र खोज्न पुग्छौँ कि?

शायद यही कारणले पात्र बदलिन्छ, तर चक्र उस्तै रहन्छ।

यहाँ BPD को प्रतीक एउटा सीमासम्म मात्र उपयोगी हुन्छ। नेपाल कुनै एउटा मानिस होइन। करोडौँ मानिसको एउटै व्यक्तित्व हुँदैन। नेपाली समाजभित्रै फरक पुस्ता, वर्ग, जातीय अनुभव, भूगोल, विचार र राजनीतिक सोच छन्। कुनै psychiatric diagnosis ले त्यो जटिलता समेट्न सक्दैन।

त्यसैले “नेपाललाई BPD भएको छ” भन्ने निष्कर्ष हास्यास्पद हुन्छ।

तर ठट्टाले उठाएको प्रश्न चाहिँ मलाई गम्भीर लाग्छ।

सन् २०१३ मा मलाई हाम्रो समाज डिप्रेस्ड जस्तो लागेको थियो। सन् २०२५ सम्म आइपुग्दा त्यही विचार सार्वजनिक बहसको एउटा परिचित भाष्य बनेको देखियो। अहिले, २०२६ मा, मलाई आफ्नै पुरानो सोचाइ अझै अधुरो लाग्छ।

सायद हाम्रो सामाजिक समस्या depression मात्र होइन।

पृष्ठभूमिमा लामो निराशा हुन सक्छ। तर त्यसको वरिपरि आक्रोश, अस्थिर आशा, देवत्वकरण, दानवीकरण, शंका, तत्काल परिवर्तनको चाहना र फेरि निराशातिर फर्किने चक्र पनि देखिन्छ कि?

यदि त्यस्तो हो भने अर्को उद्धारकर्ता भेट्नु मात्र त्यसको समाधान नहुन सक्छ।

र शायद सबैभन्दा असहज प्रश्न यही हो—

हामीले बारम्बार गलत पात्र रोजेका हौँ कि पात्र फेरिँदा पनि उनीहरूबाट अपेक्षा गर्ने हाम्रो तरिका उस्तै रहिरहेको छ?

तेह्र वर्षअघि मैले सोधेको थिएँ—के समाज नै पनि रोगी हुन सक्छ?

आज मेरो प्रश्न अलि फेरिएको छ।

हाम्रो समाज डिप्रेस्ड मात्र हो त?

सायद होइन।

सायद depression सतहमा देखिएको अवस्था हो। त्यसको तल अझ पुरानो र बारम्बार दोहोरिने सामाजिक प्रवृत्ति पनि हुन सक्छ।

त्यो प्रवृत्तिलाई BPD भन्नैपर्छ भन्ने छैन।

तर त्यसलाई चिन्न सकियो भने शायद अर्को प्रश्नतिर जान सकिन्छ—

अर्को पुस्ताले यो दुष्चक्र तोड्न सक्छ कि?