कथा: एक दिनको जीवन

“जीवनभर एउटा ठाउँमा बस्ने मानिस एक दिन त्यहाँबाट सधैँका लागि हराउँछ, तर उसले प्रयोग गरेका सामान्य वस्तुहरू भने जस्ताको तस्तै रहन्छन्।“
बिहान उठ्दा डेभिडलाई फेरि खोकीले सतायो । केही बेर उनी ओछ्यानमै बसेर खोकिरहे । छाती भित्र कतै जमेको खकार सजिलै बाहिर आउन मानिरहेको थिएन । पानीको गिलास समाउन हात बढाउँदा उनले आफ्नो नाडी पहिले भन्दा निकै पातलो भएको देखे । सत्तरी वर्षको उमेरमा शरीरमा आउने परिवर्तनहरू उनका लागि नौला थिएनन्, तर पछिल्ला केही महिनामा भएको परिवर्तन भने असाधारण थियो।
फोक्सोको क्यान्सर फेरि फर्किएको थियो । उपचारको नयाँ चरण सुरु भएको धेरै भएको थिएन । केही महिनाअघि निमोनियाले थलिएका उनलाई अहिले पनि बेलाबेला सास फेर्न गाह्रो हुन्थ्यो । पहिले सजिलै गर्न सक्ने कामहरू पूरा गर्न अब बीचबीचमा विश्राम लिनुपर्थ्यो । शरीरको तौल दस किलो घटिसकेको थियो । केही समयअघि दाजु जर्जको अन्त्येष्टिमा जान तयार हुँदा उनले पुरानो पाइन्ट लगाएका थिए । कम्मरमा यति खुकुलो भयो कि बेल्टलाई अन्तिम प्वालसम्म कसेर लगाउनुपरेको थियो । ऐनामा आफ्नो अनुहार हेर्दा उनलाई केही अनौठो लागेको थियो । गाला भासिएका थिए, घाँटीका हाडहरू स्पष्ट देखिन थालेका थिए।
तर उनलाई आफ्नो बदलिँदो अनुहारभन्दा दाजुको अनुपस्थितिले धेरै सताइरहेको थियो।
जर्ज उनी भन्दा सात वर्ष जेठा थिए । जन्मजात सेरेब्रल पाल्सीका कारण उनलाई हिँडडुल गर्न निकै कठिनाइ हुन्थ्यो । बाल्यकालदेखि नै ह्वीलचेयर उनको जीवनको अभिन्न अङ्ग बनेको थियो । तर जर्जले आफ्नो शारीरिक अवस्थालाई जीवनको परिभाषा बन्न दिएका थिएनन् । उनले किताबको जिल्ला बनाउने काम सिकेका थिए । हातले गर्ने त्यो काममा उनी निकै सिपालु थिए । वर्षौंसम्म यही पेसामा काम गरे र झन्डै पैंसठ्ठी वर्षको उमेरमा मात्र अवकाश लिए ।
डेभिडलाई दाजुको त्यही स्वभाव मन पर्थ्यो । जर्जले आफ्नो कठिनाइबारे धेरै गुनासो गर्दैनथे । सहयोग आवश्यक पर्दा माग्थे, तर आफूले गर्न सक्ने काम अरूलाई गर्न दिन चाहँदैनथे । दुई भाइबीच धेरै कुरा नभए पनि एकअर्काको जीवनमा के भइरहेको छ भन्ने थाहा भइरहन्थ्यो ।
गत अप्रिलको अन्त्यतिर एक बिहान जर्जको मृत्यु भएको थियो। डेभिडलाई त्यो खबर बिहान दस बजेपछि मात्र सुनाइएको थियो । खबर सुनेपछि उनी केही समय बोल्न सकेनन् । जर्जको स्वास्थ्य बिग्रँदै गएको उनलाई थाहा थियो। एक दिन यस्तो खबर आउन सक्छ भन्ने पनि बुझेका थिए । तर कुनै घटना हुन सक्छ भन्ने थाहा हुनु र त्यो घटना वास्तवमै हुनुबीच कति ठूलो अन्तर हुँदोरहेछ भन्ने उनले त्यस दिन अनुभव गरे ।
अन्त्येष्टि पछि पनि जर्जसँग जोडिएका जिम्मेवारीहरू सकिएका थिएनन् । उनको अपार्टमेन्ट खाली गर्नुपर्ने थियो । हाउजिङ कमिसनले अर्को व्यक्तिलाई घर हस्तान्तरण गर्न छिटो खाली गरिदिन आग्रह गरिरहेको थियो । डेभिडले पनि त्यो आवश्यकता बुझेका थिए, तर दाजुका वर्षौं पुराना सामानहरू छानेर फाल्नु उनले सोचेजस्तो सजिलो काम थिएन ।
कुन किताब राख्ने, कुन फाल्ने ? पुराना कपडाहरू के गर्ने ? जर्जले काममा प्रयोग गरेका औजारहरू कसलाई दिने ?
हरेक सामान सँग कुनै न कुनै सम्झना जोडिएको थियो । त्यसैमाथि आफ्नै बिरामी शरीरले उनलाई धेरै बेर काम गर्न दिँदैनथ्यो । केही सामान सार्दै गर्दा खोकी लाग्थ्यो । थकाइले कुर्सीमा बस्न बाध्य बनाउँथ्यो ।
जर्जको अपार्टमेन्टको ढोका बाहिर एउटा सानो ढुङ्गा थियो । त्यसको मुनि अतिरिक्त साँचो राखिएको हुन्थ्यो । बिहान जर्जको हेरचाह गर्न आउने मानिसहरूले त्यही साँचो प्रयोग गर्थे । डेभिडलाई त्यो ठाउँ राम्ररी थाहा थियो।
एक दिन सामान मिलाउन जाँदा उनको नजर फेरि त्यही ढुङ्गामा पर्यो । उनले ढुङ्गा उठाए । साँचो अझै त्यहीँ थियो ।
केही क्षण उनी त्यसलाई हातमा लिएर उभिइरहे । त्यसले खोल्ने ढोका भित्र जर्ज थिएनन् । त्यहाँ उनका सामान थिए, पुराना सम्झनाहरू थिए, तर उनी आफैँ थिएनन् ।
डेभिडले साँचो हातमा राखेर ढोकातिर हेरे । जीवनभर एउटा ठाउँमा बस्ने मानिस एक दिन त्यहाँबाट सधैँका लागि हराउँछ, तर उसले प्रयोग गरेका सामान्य वस्तुहरू भने जस्ताको तस्तै रहन्छन् । यो कुरा उनलाई निकै अनौठो लाग्यो ।
दाजुको मृत्युपछि आफ्नै जीवन बारे पनि उनले धेरै सोच्न थालेका थिए । उनी पहिले ठूलो जग्गा भएको घरमा बस्थे । घर वरिपरि घाँस काट्न, बगैँचा मिलाउन र मर्मतसम्भार गर्न प्रशस्त समय लाग्थ्यो । कुनै बेला यी सबै काममा उनलाई आनन्द आउँथ्यो । तर अहिले ती कामहरू जिम्मेवारी भन्दा बोझ बढी हुन थालेका थिए ।
अन्ततः उनले त्यो जग्गा बेच्ने निर्णय गरे ।
नयाँ घर सानो थियो, तर उनको अहिलेको आवश्यकताका लागि पर्याप्त थियो । सहरभन्दा केही बाहिर रहेको त्यो घर डाक्टरको क्लिनिकबाट दुई मिनेटको दूरीमा थियो । घर पछाडि थोरै घाँस थियो, जसलाई काट्न पन्ध्र मिनेट भन्दा बढी लाग्दैनथ्यो । ऋण तिरिसकेका थिए । घरको ठूलो मर्मतसम्भारको चिन्ता पनि थिएन ।
उनले आफ्नो जीवनबाट अनावश्यक जिम्मेवारीहरू विस्तारै हटाउँदै लगेका थिए । तर जिम्मेवारी घट्दै जाँदा खाली समय भने बढ्दै गएको थियो ।
बिहान उठ्ने, कुकुरलाई खाना खुवाउने, आफ्ना लागि केही पकाउने र घरका साना तिना काम गर्ने उनको नियमित दिनचर्या थियो । साँझपख उनी कुकुरलाई लिएर नजिकैको पार्कतिर हिँड्न जान्थे । धेरै टाढा जान सक्दैनथे, तर घरबाहिर निस्कनु उनलाई राम्रो लाग्थ्यो ।
उनको कुकुरका आफ्नै अनौठा बानी थिए । बिहान घाँसमा शीत परेको छ भने त्यसमा खुट्टा टेक्नसमेत हिचकिचाउँथ्यो । डेभिडलाई त्यो देख्दा हाँसो उठ्थ्यो ।
“तेरा पुर्खाहरू त जङ्गलमा बस्थे होलान्,” उनी कुकुरसँग कुरा गर्थे, “तँलाई चाहिँ अलिकति चिसो घाँस पनि सहन हुँदैन!”
कुकुरले उनको कुरा बुझेजस्तो गरी टाउको बङ्ग्याउँथ्यो । डेभिड मुस्कुराउँथे।

घरमा अरू कोही नभएकाले कहिलेकाहीँ उनी कुकुरसँग लामै कुरा गर्थे । जवाफ आउने आशा थिएन, तर आफूले बोलेका कुरा कसैले सुनिरहेको अनुभूति हुन्थ्यो । कुकुरलाई पनि डेभिड कहाँ छन् भन्ने सधैँ चासो हुन्थ्यो । उनी एउटा कोठाबाट अर्कोमा जाँदा त्यो पनि पछिपछि लाग्थ्यो ।
गर्मीका दिनहरूमा उनी नजिकैको पबमा जान्थे । एउटा चिसो बियर लिएर केही समय बस्थे । कहिले काहीँ साथीहरू सँग भेटेर चिया पिउँथे । कसैले पुराना दिनका कुरा सुनाउँथ्यो, कसैले स्थानीय फुटबलको चर्चा गर्थ्यो । बेलाबेला सबैजना कुनै सामान्य कुरामा पनि मज्जाले हाँस्थे ।
त्यहाँ पुग्दा उनलाई केही घण्टाका लागि आफ्नो रोग बिर्सन सजिलो हुन्थ्यो ।
तर पछिल्ला वर्षहरूमा उनका साथीहरूको सङ्ख्या बिस्तारै घट्दै गएको थियो । कोही बिरामी परेका थिए, कोही वृद्धाश्रममा सरेका थिए र केहीले संसार छोडिसकेका थिए । पहिले सहजै भेट हुने मानिसहरू अब कम हुँदै गएका थिए । जर्जको मृत्यु पछि त्यो अभाव अझ बढी महसुस हुन थालेको थियो ।
त्यस दिन उनी नियमित मानसिक स्वास्थ्य परीक्षणका लागि तीन घण्टा गाडी चलाएर अघिल्लो दिन नै सहर आएका थिए । रात एउटा होटलमा बिताएका थिए । नयाँ ठाउँको ओछ्यानमा उनलाई निद्रा राम्रो परेको थिएन । कहिले चिसो भएर हिटर बाल्नुपरेको थियो, कहिले गर्मी भएर बन्द गर्नुपरेको थियो । त्यसमाथि भित्तामा झुन्डिएको घडीको टिक टिक आवाज रातको शान्तिमा असाध्यै ठूलो सुनिएको थियो ।
त्यो रात उनलाई जर्जको निकै सम्झना आएको थियो ।
पहिले सहर आउँदा उनी प्रायः जर्जकै अपार्टमेन्टमा बस्थे । दाजुभाइ सँगै खाना खान्थे, केही बेर कुरा गर्थे र रात बिताउँथे । जर्जले डेभिडको कुकुरलाई पनि निकै माया गर्थे । डेभिड आइपुग्दा दाजुले उनलाई जत्तिकै कुकुरलाई पनि स्वागत गर्थे । कुकुर पनि जर्जसँग निकै घुलमिल भएको थियो ।
अहिले त्यही सहरमा आउँदा उनलाई होटल खोज्नुपर्थ्यो । जर्जको अपार्टमेन्ट अझै थियो, तर त्यहाँ रात बिताउन सकिँदैनथ्यो । पहिले सामान्य लाग्ने दाजुको साथ अब एउटा सम्झना बनेको थियो ।
यात्रा गर्दा अर्को समस्या आफ्नो कुकुरलाई कहाँ राख्ने भन्ने थियो । उपचारका लागि बाहिर जानुपर्दा पनि उनी सबैभन्दा पहिले त्यसकै व्यवस्था मिलाउँथे । कुकुरलाई एक्लै छोडेर जान उनलाई मन पर्दैनथ्यो ।
क्लिनिकमा डाक्टरले उनलाई देख्नेबित्तिकै केही दुब्लाएको महसुस गरे ।
“कस्तो चलिरहेको छ, डेभिड?”
“ठीकै छ,” उनले मुस्कुराउँदै भने, “शरीरले चाहिँ अलि धोका दिन थालेको छ।”
क्यान्सरको उपचार, खोकी, खकार र निद्राबारे केही समय कुरा भयो । उनले आफूलाई दिइएका औषधिहरू नियमित खाइरहेको बताए, यद्यपि सबैको नाम सम्झन सकेनन् ।
केही बेरपछि डाक्टरले जर्जको कुरा उठाए ।
“दाजुको मृत्युपछि तपाईंलाई कस्तो भइरहेको छ?”
डेभिड केही क्षण चुप लागे।
“सम्झना त आइरहन्छ,” उनले भने, “धेरै वर्ष सँगै बिताएका थियौँ । अब ऊ छैन भन्ने कुरा कहिलेकाहीँ अझै अनौठो लाग्छ ।”
उनले जर्जको अपार्टमेन्ट खाली गर्नुपर्ने समस्या पनि सुनाए । घरको सामान मिलाउन बाँकी थियो, तर आफ्नो स्वास्थ्यले साथ दिइरहेको थिएन ।
डाक्टरले उनको मनस्थितिबारे थप सोधे । कुनै कुरामा रुचि हराएको छ कि, निरन्तर उदासी छ कि, जीवनप्रति निराशा बढेको छ कि भन्ने जान्न खोजे ।
“मलाई त्यस्तो लाग्दैन,” डेभिडले भने, “कहिलेकाहीँ दिक्क लाग्छ । तर मानिसलाई सधैँ केही न केही गरिरहन पनि त सम्भव हुँदैन ।”
उनले अग्निनियन्त्रकका रूपमा बिताएका दिनहरू सम्झिए । वर्षौंसम्म आगलागीका घटनामा पुगेर मानिसहरूको ज्यान र सम्पत्ति जोगाउने काम गरेका थिए । कहिले रातको समयमा आकस्मिक खबर आउँथ्यो, कहिले दिनभरि आगो नियन्त्रणमा लिन खटिनुपर्थ्यो । कतिपय घटनामा निकै कठिन परिस्थितिको सामना गर्नुपरेको थियो । धुवाँ, आगोको ताप र जोखिम बीच काम गर्दा सहकर्मीहरू माथि कति भरोसा गर्नुपर्छ भन्ने उनले राम्ररी बुझेका थिए ।
अहिले पनि ती दिनका सम्झनाहरू बेलाबेला आउँथे ।
“ती घटनाहरू सम्झिँदा तपाईंलाई अप्ठ्यारो हुन्छ कि ?” डाक्टरले सोधे ।
“होइन,” डेभिडले जवाफ दिए, “ती त मेरो जीवनका भाग हुन् । राम्रा पनि थिए, कठिन पनि थिए। सबै बितिसके ।”
मनोविज्ञ शेरोनसँग हुने नियमित भेटघाटले पनि उनलाई आफ्ना कुरा व्यक्त गर्न मद्दत गरिरहेको थियो । जर्जको मृत्युबारे उनले त्यहाँ पनि कुरा गरेका थिए । उनी दुःखी थिए, तर आफ्नो दुःखलाई असामान्य ठान्दैनथे ।
परामर्शको अन्त्यतिर डाक्टरले उनको भविष्यबारे सोधे ।
“क्यान्सर फेरि फर्किएको छ । उपचार चलिरहेको छ । भविष्यको बारेमा सोच्दा तपाईंलाई कस्तो लाग्छ ?”
डेभिडले केही बेर झ्यालबाहिर हेरे । यो प्रश्न उनका लागि नयाँ थिएन । तर उनले कहिल्यै यसको लामो जवाफ बनाएका थिएनन् ।
“म भविष्यको बारेमा धेरै सोच्दिनँ,” उनले बिस्तारै भने ।
डाक्टर चुपचाप सुनिरहे।
“म एक पटकमा एउटा दिनको मात्र कुरा सोच्छु। आजको दिन कसरी बिताउने भन्ने मेरो हातमा छ । भोलि के हुन्छ भनेर आजै चिन्ता गरेर के फाइदा ?”
उनको स्वरमा निराशा थिएन । न त उनी आफ्ना कठिनाइहरूलाई सामान्य बनाएर प्रस्तुत गर्न खोजिरहेका थिए । उनी केवल आफूले नियन्त्रण गर्न नसक्ने कुराहरू सँग अनावश्यक संघर्ष गर्न चाहँदैनथे ।
जर्जको मृत्युले उनलाई जीवनको अनिश्चितता अझ नजिकबाट देखाएको थियो । आफ्नो शरीरभित्र फेरि बढिरहेको क्यान्सरले पनि त्यही कुरा सम्झाइरहेको थियो । तर मृत्युबारे धेरै सोच्दैमा त्यसलाई रोक्न सकिँदैन भन्ने उनी बुझ्थे ।
उनले आफ्नो घरको ऋण तिरिसकेका थिए । आर्थिक दायित्वहरू मिलाइसकेका थिए । आफ्नो क्षमताअनुसार बस्न र बाँच्न सजिलो हुने ठाउँ रोजेका थिए । उनका आवश्यकताहरू पनि पहिलेभन्दा धेरै कम भएका थिए ।
उनलाई बिहान उठेर आफ्नो लागि चिया बनाउन सक्नु पर्याप्त लाग्थ्यो । कुकुरसँग थोरै हिँड्न सक्नु, साथीहरूसँग चिया पिउनु र बेलुका आफ्नै घरमा फर्कनु उनका लागि महत्त्वपूर्ण थियो ।
डाक्टरले अर्को भेटको व्यवस्था मिलाए । डेभिडले त्यसलाई आफ्नो क्यान्सर उपचारको मितिसँग मिलाए, ताकि एउटै यात्रामा दुवै काम सकियोस् ।
क्लिनिकबाट बाहिर निस्कँदा दिउँसोको घाम लागिसकेको थियो । उनी बिस्तारै गाडीतिर लागे । कुकुरले उनलाई देख्नेबित्तिकै पुच्छर हल्लाउन थाल्यो । डेभिडले ढोका खोलेर त्यसको टाउको मुसारे ।
“अब घर जाऔँ,” उनले भने ।
गाडीमा बस्नुअघि उनी केही क्षण उभिए । टाढासम्म फैलिएको सडकमा गाडीहरू आफ्नो गतिमा दौडिरहेका थिए । कसैलाई कतै पुग्ने हतार थियो, कसैलाई काम सकाएर फर्कनु थियो । सहरको आफ्नै व्यस्तता थियो ।
उनलाई पनि घर पुग्नु थियो । साँझ कुकुरलाई हिँडाउनु थियो । सायद केही दिन पछि साथीहरूसँग भेट हुने थियो । अर्को हप्ता फेरि उपचारका लागि अस्पताल पुग्नुपर्ने थियो ।
जर्ज अब फर्केर आउने थिएनन् । उनको आफ्नो शरीर पनि पहिलेको अवस्थामा फर्कने सम्भावना कम थियो । यी दुवै कुरा उनलाई थाहा थियो ।
गाडी स्टार्ट गर्नुअघि अचानक उनलाई जर्जको अपार्टमेन्ट बाहिरको त्यो ढुङ्गा सम्झना आयो । केही दिनपछि त्यहाँ अरू कोही बस्ने थियो । नयाँ मानिस आउनेछ, नयाँ सामान राखिनेछन् र त्यो घरमा अर्कै जीवन सुरु हुनेछ ।
जर्जले बिताएका वर्षहरू भने त्यहाँबाट सामान हटाउँदैमा मेटिने थिएनन् । ती सम्झनाहरू डेभिडसँगै रहने थिए, जबसम्म उनी आफैँ सम्झन सक्ने अवस्थामा रहन्थे ।
उनले गाडीको इन्जिन चालु गरे । छेउमा बसेको कुकुर आफ्नो ठाउँमा लुसुक्क बस्यो ।
अगाडिको बाटो लामो थियो । तीन घण्टाको यात्रा गर्नुपर्ने थियो । तर उनलाई कुनै हतार थिएन ।
आज घर पुग्नु थियो ।
आजका लागि त्यति नै पर्याप्त थियो ।
(नोट: यो कथा पेशागत अनुभवमा देखिएका विभिन्न व्यक्तिका अनुभवहरू बाट प्रेरित काल्पनिक संयोजन हो । पात्र, नाम, स्थान, समय, पेसा, पारिवारिक परिस्थिति तथा दुर्घटना सम्बन्धी विवरणहरू परिवर्तन, मिश्रित वा पुनःनिर्माण गरिएका छन् । यसले कुनै एक व्यक्तिको वास्तविक कथा प्रतिनिधित्व गर्दैन ।)
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



