ब्याजदर फेरि बढ्यो – बचतमा ध्यान दिनुस् !

हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो मेहनत र निरन्तर प्रयासले यो अबसरको भूमिले हामीलाई धेरै कुरा दियो । बिस्तारै परिवारको चाहना अनुसार यता एउटा आफ्नै घर किनौ भन्ने धेरै नेपाली परिवारको ठूलो सपना र चाहना हुन्छ । वर्षौंको मेहनत, परिश्रम र बचतबाट घर किन्ने सपना पूरा गरेपछि परिवारमा खुसी र सुरक्षाको अनुभूति हुन्छ । थोरै बचत र धेरै बैंकको ऋणबाट किनेका घरको लोनमा पछिल्लो समय ब्याजदरमा देखिएको उतारचढाव, बढ्दो महँगी, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र घरायसी खर्चले धेरै परिवारको आर्थिक योजनामा चुनौती थपेको छ। यसले घर किनी सकेका या होम लोन (Mortgage) लिइसकेका र पहिलोपटक घर किन्ने तयारीमा रहेका परिवारलाई ब्याजदर वृद्धिले प्रत्यक्ष असर परेको देखिन्छ।
ब्याजदर बढ्दा होम लोनको मासिक किस्ता बढ्छ नै, जसले गर्दा परिवारको मासिक बजेटमा दबाब पर्न जान्छ । सजिलै व्यवस्थापन गर्दै आइरहेको खर्चहरु पनि अब थोरै चुनौतीपूर्ण बन्न सक्छन् । यस्तो अवस्थामा कम आम्दानी भएका तथा मध्यमवर्गीय परिवारलाई घरको किस्ता तिर्ने, बालबालिकाको शिक्षा खर्च व्यवस्थापन गर्ने, दैनिक आवश्यकता पूरा गर्ने र भविष्यका लागि बचत गर्ने काम बीच सन्तुलन मिलाउन कठिन भएको देखिन्छ।
यसको असर आर्थिक पक्षमा मात्र सीमित हुँदैन । परिवारले घुमफिर, मनोरञ्जन र अन्य आवश्यकतामा खर्च कटौती गर्नुपर्ने हुन सक्छ । बालबालिकाका अतिरिक्त गतिविधि घटाउनुपर्ने वा परिवारसँग बिताउने रमाइला समय सीमित गर्नुपर्ने अवस्था पनि आउन सक्छ। आर्थिक तनावले घरको वातावरण र परिवारका सदस्यको मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ। त्यसैले ब्याजदर बढेको समयमा आत्तिनुभन्दा योजनाबद्ध रूपमा अघि बढ्नु बुद्दिमानी हुनेछ ।
थोरै बचत, धेरै राहत
आर्थिक अवस्था जस्तोसुकै भए पनि बचत गर्ने बानी महत्त्वपूर्ण हुन्छ । दैनिक खर्चबाट सानो रकम छुट्याउनु सामान्य देखिए पनि लामो समयपछि यसले ठूलो सहयोग गर्न सक्छ। बाहिर खाना खाने खर्च केही घटाउने, अनावश्यक खर्चहरु सकेसम्म नगर्ने, बिजुली तथा पानीको खपतमा ध्यान दिने र नयाँ किनमेलमा पारिबारिक सल्लहा गर्दै घटाउदै जाने जस्ता साना-साना कदमले मासिक बजेट सुधार गर्न मद्दत पुर्याउनेछ ।
खर्च कटौतीको नाममा एकदमै कठोर बन्नु समाधान नहुन सक्छ किनकि परिवारको स्वास्थ्य, बालबालिकाको आवश्यकता र जीवनको गुणस्तरलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ । मुख्य कुरा आफ्नो आम्दानी, खर्च र ऋणको अवस्थाअनुसार योजना बनाउनु नै बुद्दिमता निर्णय हो । सम्भव भएसम्म केही महिनाको आवश्यक खर्च धान्न सक्ने बचत गर्ने बानी बनाउनु एकदमै उपयोगी हुनेछ ।

होम लोनको समीक्षा गर्नुहोस्
यदि ब्याजदर बढेका कारण घरको किस्ता तिर्न गाह्रो भइरहेको छ भने समस्या बढ्दै जानुअघि नै आफ्नो होम लोनको समीक्षा गर्नुहोस् । हालको ब्याजदर, ऋणको बाँकी रकम, मासिक किस्ता र अन्य बैंकबाट उपलब्ध हुन सक्ने विकल्पबारे बुझ्नुहोस् । आफ्नो परिस्थिति अनुसार कम ब्याजदरको विकल्प, रिफाइनान्सिङ (Refinancing) वा ऋणको संरचना परिवर्तन गर्ने सम्भावनाहरु के के छन् बुझ्नुहोस् । तर, कुनै निर्णय गर्नुअघि शुल्क, अन्य खर्च, ऋणका सर्त र दीर्घकालीन प्रभावबारे राम्रोसँग बुझ्नु उत्तिकै आवश्यक छ।
यस्तो बेलामा आफ्नो बैंक वा मोर्टगेज ब्रोकर सँग सम्पर्क गरेर आफ्नो आर्थिक अवस्थाका बारेमा सरसल्लाह लिनु एकदमै उपयोगी हुन्छ। किस्ता तिर्न कठिनाइ भइरहेको छ भने बैंकले उपलब्ध गराउन सक्ने सहयोगका बिभिन्न विकल्पबारे साध्ने, समस्या गम्भीर भएपछि मात्र सहयोग खोज्नुभन्दा समयमै कुराकानी गर्नु राम्रो हुन्छ।
आम्दानी बढाउन प्रयास गर्नुस्
खर्च घटाउँदा पनि आर्थिक दबाब कम नभएमा अहिलेको आम्दानीमा थप केहि बढाउने सम्भावना छ कि त्यता पनि विचार गर्न सकिन्छ । उदाहरणका लागि, आफ्नो घरमा छुट्टै कोठा उपलब्ध छ भने त्यसलाई भाडामा दिन मिल्छ कि भनेर सोच्न सकिन्छ। तर, यस्तो निर्णय गर्नुअघि घरको ऋणसम्बन्धी सर्त, बीमा, कर, स्थानीय नियम र परिवारको गोपनीयतामा पर्ने प्रभावबारे पहिले आफ्नो परिवार संग त्यसपछि यसका बिज्ञ संग सल्लाह गर्नु उपयुक्त हुन सक्छ । सबै विकल्प सबैका लागि उपयोगी नहुन सक्छन, त्यसैले निर्णय लिदा आफ्नो अवस्था अनुसार निर्णय लिनु पर्दछ ।
आफ्नो Mortgage Broker सँग नियमित सम्पर्कमा रहनुहोस्
आर्थिक समस्या आएपछि मात्र होइन, समय-समयमा आफ्नो Mortgage Broker, बैंक वा योग्य Financial Adviser सँग भेटघाट गरी आफ्नो आर्थिक अवस्थाबारे छलफल गर्नु एकदमै बुद्दिमानी पूर्ण कुरा हो । Mortgage Broker ले होम लोनका विकल्प र ऋणसम्बन्धी सर्त बुझ्न सहयोग गर्न सक्छन् भने योग्य Financial Adviser ले तपाईंको समग्र आर्थिक लक्ष्यअनुसार सल्लाह दिन सक्छन् । यस्ता सेवाहरू को भूमिका फरक-फरक हुने भएकाले आफूलाई कस्तो सहयोग चाहिएको हो भन्ने कुरा स्पष्ट राखेर सल्लहा लिने गर्नुहोस, कहिले कहिँ सानो सल्लहाले भविष्यको ठुलो नोक्सानी रोक्न मद्दत गर्न सक्छ ।
अन्त्यमा, ब्याजदर बढ्नु हाम्रो नियन्त्रण बाहिरको कुरा हो, तर आफ्नो खर्चको समीक्षा गर्ने, बचत गर्ने बानि बसाल्ने, सही जानकारी लिने र समयमै सहि निर्णय लिने कुरा भने हाम्रो हातको कुरा हो । आजैबाट परिवारसँग खुलेर आर्थिक विषयमा छलफल गर्नुहोस् नबिर्सनु होस् सही समयमा लिइएको सही निर्णयले भोलि हुने आर्थिक दबाब कम गर्न र भविष्यलाई अझ सुरक्षित बनाउन ठुलो मद्दत गर्न सक्नेछ।
(नोट: लेखक वित्तीय क्षेत्रमा कार्यरत एक मोर्गेज ब्रोकर (Mortgae Broker) हुन् । यहाँ प्रस्तुत गरिएका विचारहरू लेखकका निजी विचारहरू हुन् । तपाईंले कुनै पनि वित्तीय निर्णय लिनुअघि यहाँ प्रस्तुत विचारहरूमा मात्र भर नपरी आफ्नो मोर्गेज ब्रोकर वा बैंकसँग परामर्श गर्न अनुरोध गरिन्छ।)
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



