नेपाल फेस्टिभल सिड्नी २०२६: पुनर्निर्माण र पर्यटन प्रवर्द्धनको सन्देश

-- सुजित सिग्देल ?>

पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश  अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र योगदानलाई अब कम आँकलन गर्न मिल्दैन । व्यापार, व्यवसाय, रोजगारी, शिक्षा तथा विभिन्न व्यावसायिक क्षेत्रमा नेपाली समुदायले हासिल गरेको प्रगति र यहाँको समाजमा पुर्‍याएको योगदान उल्लेखनीय छ। मिलनसार, मेहनती र परिश्रमी समुदायका रूपमा नेपालीहरूले बनाएको पहिचान आज  अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा स्थापित हुँदै गएको छ।

स्थानीय समुदायदेखि राज्य र संघीय सरकारसम्म नेपाली समुदायप्रतिको सकारात्मक दृष्टिकोण हामी आफैँले आफ्नो व्यवहार, मेहनत र योगदानमार्फत निर्माण गरेको पहिचान हो। यसलाई अझ फराकिलो र बलियो बनाउनु हाम्रो सामूहिक जिम्मेवारी पनि हो। किनकि बहुसांस्कृतिक  अष्ट्रेलियामा हामी प्रत्येक नेपाली आफ्नो जन्मभूमि नेपालको एक अवैतनिक प्रतिनिधि पनि हौँ।

नेपाली मूलका विद्यार्थी, दक्ष जनशक्ति, व्यवसायी, करदाता तथा स्थायी बासिन्दाहरूको उल्लेखनीय उपस्थितिले  अष्ट्रेलियाको सामाजिक तथा आर्थिक विकासमा नेपाली समुदायको भूमिका थप स्थापित गरेको छ। तर संख्यात्मक उपस्थितिसँगै हाम्रो कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा र सांस्कृतिक विविधतालाई पनि यहाँको समाजमा चिनाउनु उत्तिकै आवश्यक छ। यही उद्देश्यलाई आत्मसात् गर्दै  अष्ट्रेलियाका विभिन्न राज्य तथा सहरहरूमा आयोजना हुँदै आएका नेपाल फेस्टिभलहरू नेपाली पहिचान प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम बनेका छन्।

नेपाल फेस्टिभल: नेपाली पहिचान र एकताको साझा उत्सव

प्रत्येक दुई वर्षमा आयोजना हुने नेपाल फेस्टिभल  अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका लागि एउटा ठूलो चाड सरह बनेको छ। यो केवल मनोरञ्जन, भेटघाट वा सांस्कृतिक कार्यक्रम मात्र होइन; नेपालको कला, संस्कृति, पर्यटन, परम्परा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदाय माझ चिनाउने एउटा महत्वपूर्ण अभियान पनि हो । सन् २००६ मा सिड्नीको डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कबाट सुरु भएको नेपाल फेस्टिभलले आज  अष्ट्रेलियाका विभिन्न सहरहरूमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । सुरुवाती दिनहरूमा सीमित स्रोतसाधन र सानो नेपाली समुदायबीच आयोजना गरिएको यो कार्यक्रम आज हजारौँ नेपाली तथा विदेशी आगन्तुकहरूलाई आकर्षित गर्ने बृहत् उत्सवका रूपमा विकसित भएको छ।

पहिलो नेपाल फेस्टिभल आयोजना गर्दाको उत्साह, चुनौती र त्यसका लागि अग्रजहरूले गरेको योगदान आज पनि नेपाली समुदायका लागि प्रेरणाको स्रोत बनेको छ । तत्कालीन एनआरएनए नेतृत्व, आयोजक समिति, स्वयंसेवक तथा समुदायका सदस्यहरू को सामूहिक प्रयासले सुरु भएको यो अभियानले आज अष्ट्रेलिया भर नेपाली पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सिड्नीबाट सुरु भएको यो अभियान मेलबर्न, ब्रिसबेन, पर्थ, डार्विनलगायत विभिन्न सहरहरूमा विस्तार हुँदै जानु आफैँमा नेपाली समुदायको एकता, सक्रियता र सामूहिक इच्छाशक्तिको उदाहरण हो ।

नेपाल फेस्टिभल सिड्नी २०२६: पुनर्निर्माण र पर्यटन प्रवर्द्धनको सन्देश
यस वर्षको नेपाल फेस्टिभल सिड्नी आगामी ७ नोभेम्बर २०२६, शनिबार, सिड्नीको प्रसिद्ध पर्यटकीय क्षेत्र डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा आयोजना हुँदैछ। यसपटकको फेस्टिभलले ‘पुनर्निर्माण र पर्यटन प्रवर्द्धन’ भन्ने महत्वपूर्ण सन्देश बोकेको छ । नेपालको वर्तमान आवश्यकता र सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नु यस अभियानको एउटा महत्वपूर्ण पक्ष हो ।

नेपाल प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, सांस्कृतिक सम्पदा, धार्मिक स्थल, जैविक विविधता र ऐतिहासिक धरोहरले भरिपूर्ण देश हो । विश्व पर्यटनका लागि नेपालसँग अथाह सम्भावना छन् । तर प्राकृतिक विपद्, विभिन्न चुनौती र विकासका आवश्यकताबीच नेपालको पर्यटन क्षेत्रलाई थप प्रवर्द्धन गर्नु आजको आवश्यकता हो । विदेशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक सफलतासँगै जन्मभूमिको विकास, पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउन सक्छन् । त्यसैले नेपाल फेस्टिभललाई मनोरञ्जनको कार्यक्रमका रूपमा मात्र नभई नेपालको सकारात्मक पहिचान निर्माण गर्ने र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने साझा अभियानका रूपमा बुझ्नु आवश्यक छ ।

नेपाली कला, संस्कृति र विविधताको प्रदर्शन
नेपाल जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न समुदायका आ-आफ्नै भाषा, भेषभूषा, रहनसहन, चाडपर्व र परम्परा छन् । यी सबै विविधताबीच रहेको एकता नै हाम्रो मौलिक पहिचान हो । नेपाल फेस्टिभल यिनै विविधतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर पनि हो । नेपाली मौलिक पोशाक, लोकनृत्य, संगीत, परम्परागत कला, हस्तकला, खानाका परिकार तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न सकिन्छ।

विशेषगरी अष्ट्रेलिया मै जन्मिएका र हुर्किएका नेपाली बालबालिका तथा युवापुस्ताका लागि यस्ता कार्यक्रमको महत्व अझ बढी छ। उनीहरूले आफ्ना अभिभावकको जन्मभूमि, भाषा, संस्कृति र परम्पराबारे प्रत्यक्ष रूपमा जान्ने र अनुभव गर्ने अवसर पाउँछन् । त्यसैगरी विदेशी समुदायका मानिसहरूका लागि पनि नेपाललाई नजिकबाट चिन्ने, नेपाली खानाको स्वाद लिने, हाम्रो कला संस्कृति बुझ्ने र नेपाल भ्रमणप्रति आकर्षित हुने राम्रो अवसर नेपाल फेस्टिभलले प्रदान गर्दछ ।

सामूहिक सहकार्य र नेतृत्वको महत्व
नेपाल फेस्टिभल जस्तो बृहत् कार्यक्रम कुनै एक व्यक्ति, संस्था वा नेतृत्वको प्रयासले मात्र सफल हुँदैन । यसका लागि एनआरएनए  अष्ट्रेलिया, राज्य समिति, नेपाली दूतावास, सम्बन्धित वाणिज्यदूतावास, विभिन्न नेपाली सामाजिक संघसंस्था, व्यवसायी, कलाकार, सञ्चारकर्मी तथा समुदायका सदस्यहरूको सामूहिक सहभागिता आवश्यक हुन्छ।

एनआरएनए एनएसडब्ल्यू राज्य समितिमा स्टेट कोअर्डिनेटर उषा किरण बरिया पोख्रेल नेपाल फेस्टिभल सिड्नीका लागि सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै सो दिन सबैको उपस्थितिको लागि अनरोध गर्छिन । त्यस्तै  सचिव प्रताप पन्थी यस्ता कार्यक्रमले  समुदायलाई एकताबद्ध गर्दै बहुसंस्कृतिक अष्ट्रेलियन समुदायमा हाम्रो पहिचानलाई आझ सशक्त बनाउने  र यसमा सबैको भूमिका अपरिहार्य रहेको  जुन बिना शर्त समुदाय बाट  पाईरहेको बताउँछन् ।

यस्ता कार्यक्रमले संस्थागत नेतृत्वलाई मात्र होइन, समुदायका हरेक सदस्यलाई आफ्नो क्षमता, अनुभव र समय योगदान गर्ने अवसर प्रदान गर्छन्। विशेषगरी निःस्वार्थ भावनाले स्वयंसेवकका रूपमा खटिने दिदीबहिनी तथा दाजुभाइहरूको योगदान प्रशंसनीय छ। नेपाल फेस्टिभल हामि सबैको साझा कार्यक्रम हो । यसको सफलता कुनै एउटा संस्था वा व्यक्तिको मात्र सफलता नभई सम्पूर्ण नेपाली समुदायको सफलता हो। त्यसैले यसको तयारीदेखि समापनसम्म सबैले आ-आफ्नो ठाउँबाट सहयोग र सहभागिता जनाउनु आवश्यक छ ।

अन्त्यमा,
देश भनेको केवल भूगोलको सीमारेखा, झन्डा वा नक्सा मात्र होइन । देश भनेको आफ्नो जन्मभूमिको माटो, हावापानी, संस्कृति, भाषा, परम्परा र त्योसँग गाँसिएको भावनात्मक सम्बन्ध पनि हो । रोजगारी, शिक्षा, व्यवसाय र उज्ज्वल भविष्यको खोजीमा हामी संसारका विभिन्न कुनामा पुगेका छौँ । तर भौगोलिक दूरीले आफ्नो जन्मभूमिप्रतिको माया र सम्बन्धलाई कहिल्यै टाढा बनाउन सक्दैन । हामी जहाँ रहे पनि नेपाली हुनुको गर्व, हाम्रो भाषा, संस्कृति, चाडपर्व, रहनसहन र परम्पराले हामीलाई एउटै सूत्रमा बाँधिरहेको हुन्छ। विदेशमा आयोजना हुने नेपाली मेला, सांस्कृतिक कार्यक्रम र नेपाल फेस्टिभलहरूले यही सम्बन्धलाई अझ बलियो बनाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

आगामी ७ नोभेम्बर २०२६ मा सिड्नीको टुम्बालोङ पार्कमा आयोजना हुन गइरहेको नेपाल फेस्टिभलमा हामी सबै नेपालीको सक्रिय सहभागिता आवश्यक छ । सकेसम्म आफ्नो मौलिक नेपाली पोशाकमा उपस्थित होऔँ, आफ्ना विदेशी साथीहरूलाई पनि कार्यक्रममा सहभागी हुन आमन्त्रण गरौँ र नेपाली कला, संस्कृति, खानपान तथा आतिथ्यताको परिचय गराऔँ।

हामी प्रत्येकले कम्तीमा दुई जना विदेशी साथीलाई नेपाल फेस्टिभलमा सहभागी गराउन सक्यौँ भने पनि नेपालको पहिचान र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्न सक्छ।

अन्ततः नेपाल फेस्टिभल केवल नेपालीहरूको जमघट होइन; यो नेपाललाई अष्ट्रेलिया माझ चिनाउने, हाम्रो विविधताभित्रको एकता प्रस्तुत गर्ने र जन्मभूमिप्रतिको जिम्मेवारीलाई व्यवहारमा उतार्ने साझा अवसर हो । आउनुहोस्, सबै मिलेर नेपाल फेस्टिभल सिड्नी २०२६ लाई सफल बनाऔँ । हाम्रो कला, संस्कृति, एकता, आत्मीयता र ‘अतिथि देवो भवः’ को सन्देश अस्ट्रेलियाबाट विश्वभर फैलाऔँ ।