सभामुखलाई प्रधानमन्त्रीको यस्तो आग्रह

-- ?>

PM Kp Oli and Onsari

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनुपूर्व बजेट आश्रित विधेयकहरुलाई कार्यसूचीमा राख्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

केही दिनअघि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सहितका दलले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि व्यवस्थापिका–संसद्को बैठक बस्न सकेको छैन । उक्त दिन आर्थिक विधेयकश—२०७३, राष्ट्र ऋण उठाउने विधेयक–२०७३ तथा ऋण तथा जमानत (२१औं संशोधन) विधेयक–२०७३ मा छलफल गर्ने कार्यसूची थियो ।

सभामुखले अविश्वासको प्रस्तावमा जुलाई २१ देखि छलफल हुने जानकारी गराएपछि सत्तापक्ष र विपक्षीबीच कुन प्रस्तावलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा मतभेद हुँदै आएको छ । प्रधानमन्त्रीसँगको भेटमा सभामुख घर्तीले आफूले उक्त विषयमा विभिन्न दल र सम्बन्ध पक्षसंग परामर्श गरिरहेको र सकेसम्म सहमतिका आधारमा अघि बढ्ने बताएको राससले जनाएको छ ।