सीमांकन विवादमा राप्ती आन्दोलित

-- ?>

rolpa

काठमाडौं— पछिल्लो समयमा गरिएको सीमांकनसम्बन्धि नया मुद्दाले राप्ती जिल्लावासी आन्दोलित भएका छन् । मधेसी दललाई मिलाउने र खुसी पार्ने नाममा सरकारले पाँच नम्बर प्रदेशलाई कित्ताकाट गर्न खोजेपछि राप्ती अशान्त भएको छ, राप्तीमा अर्को असहजता सिर्जना भएको छ ।
मधेसीहरूको मागबमोजिम विवादित बनेको दुई नम्बर प्रदेशलाई मिलाउनुको साटो पाँच नम्बर प्रदेशलाई फुटाउनुको कारण के हो भन्ने प्रश्न सिर्जना भएको छ ।
पाँच नम्बर प्रदेशबाट अलग पार्न प्रस्ताव गरिएका रोल्पा र प्युठानका बासिन्दा अहिले सरकारको यो प्रयासको विरोधमा आन्दोलनमा उत्रिएका छन् । यो आन्दोलनमा सत्ताधारी दलहरूकै जिल्ला तहका नेता पनि खुलेरै सहभागी छन् । सीमांकनमा शंशोधन गरेर पाँच नम्बर प्रदेशबाट आफूहरूलाई अलग्याउने तयारीको सामना कसरी गर्ने भन्ने योजनामा यी दुई जिल्लाबासी छन् । उनीहरूले सरकारको यो कदमलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् ।
सत्तासाझेदार कांग्रेसका प्युठान जिल्ला सचिव देवेन्द्र बर्माका अनुसार अहिले तयारी भइरहेको भन्नेसम्मको कुरा आएको छ, यो तयारीकै विरोधमा उनीहरूले आन्दोलन गरिरहेका हुन् । ‘संशोधन दर्ता भएको खण्डमा पक्कै पनि त्यसको परिणाम राम्रो निस्कने छैन ।’ बर्माले साबिक सीमांकनलाई नचलाउन पार्टीका शीर्ष नेताहरूलाई सुझाव दिइसकेको बताउँदै ‘सुझाव मानिएन भने परिणाम राम्रो नहुने दावी गरेका छन् ।
रोल्पा र प्युठानलाई पाँचबाट अलग्याएर ६ नम्बर प्रदेशमा गाभिए त्यहाँका नागरिकलाई भौगोलिक असुविधा पनि त्यत्तिकै निम्तने छ । ६ नम्बर प्रदेशको राजधानी पुग्नका लागि त्यहाँका नागरिकलाई सास्ती हुनेछ । राजधानी पुग्नका लागि एउटा सिंगो प्रदेश पार गरेर जानुपर्ने हुन्छ ।
रोल्पा र प्युठानलाई अलग्याउने गरी पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्न खोजेर सरकारले ‘सीमांकन’ को नयाँ विवाद रोप्न खोजेको राजनीतिक विश्लेषकहरूको तर्क छ । मधेसीहरूको माग सम्बोधनका नाममा अनाहकमा पाँच नम्बर प्रदेशलाई टुक्र्याउन खोजिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
सरकारले संविधान संशोधन गर्दा पाँच नम्बर प्रदेशबाट रुकुम र रोल्पालाई टुक्रयाएर ६ नम्बर प्रदेशमा गाभ्ने तथा सोही प्रदेशका अर्घाखाँची, गुल्मी र पाल्पालाई चार नम्बर प्रदेशमा मिसाउने प्रस्ताव मधेसी दलसँग गरेको छ ।