सप्तरी घटनापछि विकसित भएका घटनाक्रम

-- ?>

काठमाडौं- गत सोमबार सप्तरीमा चार जना व्यक्तिको ज्यान जाने गरी भएको घटनापछि नेपाली राजनीति तरंगित भएको छ । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा आयोजना भैरहेको आमसभामा मधेशी मोर्चाका कार्यकर्ताले उग्र विरोध गरेपछि प्रहरीले बाध्य भएर गोली चलाउदा चार जना आन्दोलनकारीको मृत्यु भएको थियो ।
उक्त घटना लगत्तै एमालेले आफ्नो अभियानलाई तीन दिनका लागि स्थगित भएको घोषणा गर्यो । आफ्नो देशव्यापी अभियानलाई विफल बनाउने षडयन्त्र भैरहेको बताउदै एमालेले मंगलबारदेखि बिहिबारसम्मका लागि अभियान स्थगित गरेको हो ।
यसैबीच एमालेले बुधवार एउटा निर्णय गर्दै आफ्नो अभियान हेटौंडाबाट पुनः अघि बढ्ने घोषणा गरेको छ । तीन दिन स्थागित भएको अभियान शुक्रवारदेखि हेटौंडाबाट प्रारम्भ हुने भएको छ । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार फागुन २७ अर्थात भोलि शुक्रवारदेखि मेची–महाकाली अभियानले निरन्तरता पाउनेछ । राजविराजमा भएको घटनापछि उत्पन्न भएको परिस्थितीलाई मध्यनजर गर्दै दुई नम्बर प्रदेशमा तत्काल अभियान रोकिएको एमालेले जनाएको हो । कार्यतालिका अनुसार हेटौंडापछिका सबै कार्यक्रम यथावत छन् ।
यसबीच सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव तथा एमाले नेताहरुका घरमा तोडफोड गरेका छन् । बुधवार बिहान मोर्चाका कार्यकर्ताहरुको समुहले प्रमख निर्वाचन आयुक्त यादवको राजविराज–५ स्थित घरमा तोडफोड गर्नुका साथै उनको घरमा लगाइएको बोर्ड निकालेर जनाएका छन् । यसैगरी राजविराज–४ स्थित एमाले केन्द्रिय सदस्य सुमनराज प्याकुरेलको घरमा ढुंगा प्रहार गरी झ्यालका सिसा फुटाइदिएका छन् भन् एमाले नेता कमानन्द देवको घरमा पनि तोडफोड भएको छ । एमाले र केपी ओलीविरुद्ध नारावाजी गर्दै हिंडेको मोर्चा कार्यकर्ताहरुको समुहले राजविराजस्थित एमाले जिल्ला कार्यालयमा रहेको झन्डा र बोर्ड निकालेर जलाएका छन् । मोर्चाका कार्यकर्ताहरुले उत्तेजित भएर नारावाजी गर्दै एमाले नेताका घरहरुमा निशाना बनाइरहदा राजविराजको स्थित तनावग्रस्त बनेको छ ।
सप्तरी घटनापछि एमालेविरुद्ध उत्रिएको मोर्चाका कार्यकर्ताहरुले बुधवार कलैयाको भरत चोकमा एमाले बाराका पार्टी कार्यालय सचिव शंकर भट्टराई तथा कलैया नगर कमिटि सदस्य रामएकवाल पटेललाई कालो मोसो दलेका छन् ।