चिनिएर पनि नचुनिएका कांग्रेस नेता
जीवन भण्डारी
नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट केही पुराना र चर्चित नेताहरु आरक्षण कोटामा पनि पराजित भएका छन् । राष्ट्रिय राजनीति, काँग्रेसको आन्तरिक गतिविधि र स्थानीयस्तरमा समेत निकै धेरै काम गरेका नेता नै आरक्षण कोटाबाट समेत केन्द्रीय सदस्य हुन असफल भएका हुन् ।
काँग्रेसमा महिलाबाट छ जना, दलित, जनजाति र मधेसीबाट दुई/दुई जना महिलाको दरले पाँच जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ । त्यसैगरी मुस्लिम कोटाबाट एक जना निर्वाचिन हुने विधानमा उल्लेख छ ।
आरक्षण कोटामा पनि उम्मेदवारको सङ्ख्या धेरै रहेकाले प्रतिस्पर्धा भने कडा भएको पाइएको छ । महिलातर्फ छ पदका लागि ३८ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये महिला संघकी वर्तमान अध्यक्ष डा डिला सङ्ग्रौला, पूर्वसांसद् तथा पूर्वकेन्द्रीय सदस्य पुष्पा भुषाल, काँग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपाने, संघकी पूर्वअध्यक्ष र पूर्वमन्त्री तथा सांसद् अम्विका वस्नेत, पूर्वमन्त्री तथा सांसद कमला पन्त र नेविसंघको राजनीतिबाट पार्टीमा सक्रिय सांसद सरिता प्रसाई महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएका छन्।
त्यस्तै प्रभावशाली अन्य नेतृहरु महिला संघकी केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य भइसकेका सांसद मिना पाण्डे र उमा रेग्मी, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोईरालाको स्वकीय सचिव मृदुला कोईराला, नेविसंघकी पूर्वमहामन्त्री प्रतिमा गौतम पराजित भए।
त्यसैगरी सांसद् शारदा पौडेल, ट्रेड युनियन राजनीतिबाट पार्टी राजनीतिमा आएकी रिता खनाल, नेविसंघ, महिला संघकी श्रीमती मन्जु खाँण, नेविसंघका पूर्वसहमहामन्त्री सृजना अधिकारी पनि महिला कोटाबाट केन्द्रीय सदस्य बन्न सकेनन्।
जनजातितर्फको कोटा नेपाल प्राध्यापक संघका पूर्वकेन्द्रीय अध्यक्ष, काठमाडौँ पूर्वजिल्ला सभापति, काठमाडौँ क्षेत्र नं. ६ का सांसद भीमसेनदास प्रधान पराजित भए।
त्यसैगरी पटकपटक मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका दुर्योधन सिंह थारु, सोलुखुम्वुका जिल्ला सभापति तथा सांसद आङ्गेलु शेर्पा, पूर्वसांसद् तथा नेपाल तरुण दलका पूर्वमहासचिव महादेव गुरुङलगायतका नेताहरु पराजित भए। जनजातितर्फको तीन पदका लागि चालिस जनाले उम्मेदवारी दिएकोमा चिनकाजी श्रेष्ठ, बहादुरसिँह लामा र कल्याण गुरुङ निर्वाचित भएका छन्।
जनजाति महिलातर्फ दुई पदका लागि १२ जनाले प्रतिस्पर्धा गरेकोमा पूर्वकेन्द्रीय सदस्य र सांसदद्वय रत्ना शेरचन र सीता गुरुङ विजयी भए। अर्की सांसद उषा गुरुङ भने पराजित भइन्। उनले पनि आफू कुनै प्यानलमा नपरेकाले हार्नुपरेको स्पष्टोक्ति दिँदै राष्ट्र र जनताको हितका लागि क्रियासिल भइरहने अठोट व्यक्त गरे।
दलित आरक्षणमा दलित संघको केन्द्रीय अध्यक्ष तथा मन्त्री भइसकेका सांसद् खड्ग बस्याल, राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा रुकुमका पूर्वजिल्ला सभापति मानवहादुर नेपाली, पूर्वसांसद सम्भुहजारा दुसाद, एकपटक मनोनित र एकपटक आमन्त्रीत केन्द्रीय सदस्य भएका प्रताप राम लोहार पनि पराजित हुनुभयो ।
दलितको तीन पदका लागि २० जनाको उम्मेदवारी परेपनि मानबहादुर विश्वकर्मा, जीवन परियार र मिन विश्वकर्माले केन्द्रीय सदस्य बन्ने मौका पाए। उनीहरु तीनै जना सांसद् हुन् भने यसअघि पनि केन्द्रीय सदस्य थिए। मानबहादुर विश्वकर्मा दलित संघका संस्थापक अध्यक्ष पनि हुन् ।
दलिततर्फकै महिला कोटामा यसअघिकी केन्द्रीय सदस्य र अहिले सांसद् रहेकी कविताकुमारी सरदार वाँतर पराजित हुनुभयो । दलित महिलाको दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो भने सांसद् तथा पूर्वकेन्द्रीय सदस्य सुजाता परियार र पूर्वसांसद लक्ष्मी परियार चयन हुनुभएको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष तथा सांसद् रहनुभएका रन्जीत कर्णले मधेसीको आरक्षणबाट पनि केन्द्रीय सदस्य बन्न सक्नु भएन । त्यस्तै पूर्वकेन्द्रीय सदस्य र अहिलेका सांसद् रामचन्द्र तिवारी, कपिलबस्तुका जिल्ला पूर्वसभापति र पूर्वसांसद् सुधाकर पाण्डे पनि पराजित हुनुभयो । मधेसी तीन केन्द्रीय सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो भने अजयकुमार चौरसिया, महेन्द्र यादव र रामकृष्ण यादवले विजयी हाँसिल गरे । उनीहरु सबै जना सांसद हुन् ।
मधेसी महिलाको कोटाबाट पराजित हुनेमा पूर्वकेन्द्रीय सदस्य र अहिलेकी सांसद् मिनाक्षी झा पनि परिन्। मधेसी महिलाबाट केन्द्रीय सदस्य बन्न नौ जनाको उम्मेदवारी परेको थियो । मधेसी महिलाबाट किरण यादव र पार्वता डिसी चौधरी केन्द्रीय सदस्य बने।
मुस्लिमतर्फको कोटाबाट भने मुस्लिम संघको अध्यक्ष अब्दुल सतार नै पार्टीको केन्द्रीय सदस्य बन्न सकेनन्। उनलाई पछि पार्दै सांसद तथा पूर्वकेन्द्रीय सदस्य फरमुल्लाह मन्सुर विजयी भए। मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका मोहम्मद अफताव आलम र सांसद मोहम्मदी सिद्दिकी पनि पराजित भए। काँग्रेसमा समावेशी आरक्षणतर्फबाट २२ जना निर्वाचित हुने व्यवस्था छ । रासस
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ...