८६ वर्षीय नेपाली आरोहीको आधार शिविरमा निधन

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं- सगरमाथा आरोहणका क्रममा मुस्ताङका ८६ वर्षीय आरोही मिनबहादुर शेरचनको निधन भएको छ । सगरमाथा आधार शिविरमा ५३६४ मिटरको उचाइँमा शनिवार अपराह्न ५ बजेर १४ मिनेटमा शेरचनको निधन भएको उनको आरोहणको व्यवस्था मिलाएको समिट ट्रेड नेपालका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । उनलाई हृदयघात भएको अनुमान गरिएको श्रेष्ठले बताए ।
उनको शव आज आइतवार हेलिकप्टरबाट लुक्ला लगेर त्यहाँबाट काठमाडौं लगिने बताइन्छ । यसअघि ७७ बर्षको छँदा सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका शेरचनले दोस्रो पटक २०१३ मा पुनः आरोहणको प्रयास गरे पनि मौसमका कारण सफल भएन भने तेस्रो पटक २०१५ मा भूकम्प आएपछि उनी बेसक्याम्पबाटै फर्कनु परेको थियो । उनले सन् १९६० मा धौलागिरी हिमाल आरोहण गरिसकेका थिए ।