निर्वाचनपछि संशोधनमा सहमति गर्ने निर्णय

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं— सत्ता साझेदार प्रमुख दुई दल, प्रमुख प्रतिपक्षी दल तथा राष्ट्रिय जनता पार्टी नेपालबीच आज मंगलबार भएको बेठकमा निर्वाचनपछि संविधान संशोधन गरी अगाडि बढ्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राजपा नेपालका शीर्ष नेता सहभागी बैठकमा व्यवस्थापिका–संसद्को आगामी बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी ४ जेठमा बस्दैछ । उक्त बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव पुनः पेस गर्दैछ ।
बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधनका गर्नका लागि सदनमा आवश्यक दुई तिहाइ मत पुर्‍याउन प्रमुख प्रतिपक्षी दललगायत अन्य दलसित वार्ता गर्न र सहमति जुटाउन जिम्मेवारीसमेत प्रदान गरेको छ ।
दुई शीर्ष नेताले आजबाटै प्रमुख प्रतिपक्षी दलका नेता तथा अन्य दलका नेतासित छलफल थाल्ने माओवादी केन्द्रका नेता दीनानाथ शर्माले जानकारी दिएका छन् । उनका अनुसार दलहरुबीच संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ ।
बैठकमा ३१ बैशाख र ३१ जेठको स्थानीय तहको निर्वाचन सौहार्दपूर्ण ढंगले सम्पन्न गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
बैठकमा नेता देउवा र प्रधानमन्त्री प्रचण्डले विशेषगरी प्रमुख प्रतिपक्षी दललाई संविधान संशोधन गर्नका लागि सहयोग गर्न र मधेश केन्द्रित दललाई निर्वाचनमा जुट्न आह्वान गरेको नेता शर्माले जानकारी दिए ।

बैठकमा सहभागी एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा संविधान संशोधनका विषयमा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको जानकारी दिएका छन् । एमाले संविधान संशोधनको विरोधी नभएको बताउंदै नेता गौतमले सबैलाई सर्वस्वीकार्य हुने गरी संशोधन आउनुपर्छ । यसमा पार्टीले सहयोग गर्छ भन्ने धारणा व्यक्त गरे ।
राजपाका नेता राजेन्द्र महतोले तराई र मधेशमा समेत निर्वाचन गराउन सरकारले संविधान संशोधन गरेमा मात्र आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिन बाटो खुला हुने बताए । सत्तारुढ दलहरुका नेता संविधान संशोधन गर्छु–गर्छु भन्ने तर नभएको तथा अब पनि आफूहरुलाई झुक्याउने र फकाउने काम भयो भने जेठ ३१ को स्थानीय निर्वाचनमा भाग नलिने महतोको भनाइ थियो ।