आज हुने निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको अपिल

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका सन्दर्भमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आग्रह गरेका छन् । पहिलो चणको निर्वाचन आज आइतबार नेपाली समय अनुसार बिहान ७ बजेदेखि साझ ५ बजेसम्म हुँदैछ ।
प्रधानमन्त्री दाहालले अपिल जारी गर्दै सबै मतदातालाई यो ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोचबिना निर्धक्क भई आफूले चाहेका उम्मेदवारलाई मत खसाल्न अनुरोध गरेका हुन् ।
निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न तथा राजनीतिक दल, सञ्चारकर्मीलगायत सम्पूर्णमा आआफ्नो क्षेत्रबाट सहयोगका लागि पनि प्रधानमन्त्रीले अपिल गरेका छन् ।
प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा १३ हजार पाँच सय ५६ जनप्रतिनिधि छनोट गर्ने कार्यको अन्तिम अवस्थामा रहेको तथा पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको अपिलमा उल्लेख छ ।
अपिलमा भनिएको छ,’लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै हो । अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन् । यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।
अपिलमा अगाडि भनिएको छ, ‘एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीका रुपमा रहेको छ भने अर्कोतिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्य सत्ताको अन्त्य गरी सङ्घात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोसेढुङ्गाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोतसाधनलाई जनताको घरआँगनसम्म पुर्‍याउनका लागि ढोका खुला हुनेछ ।’
चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई महिला चुनिने व्यवस्था तथा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमध्ये एक महिला उठाउनैपर्ने व्यवस्थाबाट गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनी अनिवार्य रुपमा चुनिएर आउने अपिलमा उल्लेख छ । शान्ति सुरक्षाको दृष्टिले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको उनले बताएका छन् ।
अपिलमा भनिएको छ, ‘भोलि केवल मतदानको दिन मात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि हो ।’ संविधानको स्वीकार्यता बढाई मधेसी, थारु, आदिवासी जनजातिलगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको चुनाव दोस्रो चरणमा आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय गरिएकाले ती प्रदेशका जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि प्रधानमन्त्री दाहालले विशेष अपिल गरेका छन् ।