संगीतमा शान्ति र विकास अर्थात नेपथ्य

-- अावरण अगष्ट अंक २०१७ ?>

लोकलयमा आधारित रक गीत गाएर हरेक उमेरका स्रोताको मन जित्न सफल सांगीतिक समुह हो– नेपथ्य । यसै वर्ष स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको यो सांगीतिक समुह स्वदेशमा जति लोकप्रिय छ, त्यो भन्दा बढि लोकप्रिय विदेशमा बसोबास गर्ने नेपालीहरू माझ छ । नेपालका प्राय: सबै जिल्ला पुगेर आफ्नो सांगीतिक प्रस्तुती दिइसकेको नेपथ्यले विदेशका ४० भन्दा बढि शहर पुगेर आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरिसकेको छ । स्रोतालाई दर्जनौं लोकप्रिय गीत दिइसकेको नेपथ्य समुहले सामाजिक उत्तरदायित्वको भूमिका समेत प्रभावकारी ढंगले निर्वाह गरिरहेको छ । व्यवसायिक भन्दा सामाजिक काममा बढि रुचि राख्ने नेपथ्यलाई नेतृत्व गर्ने एक संगीतकर्मी हुन्–अमृत गुरुङ । आम संगीतकर्मी भन्दा पृथक स्वभावका यी ४९ वर्षे संगीतकर्मी गुरुङ यतिबेला आफ्नो समुहका संगीतकर्मीसहित अष्ट्रेलियाको सांगीतिक भ्रमणको उत्तरार्धमा छन् ।
सांगीतिक समुह नेपथ्य नेपाली सांगीतिक क्षेत्रको एउटा स्थापित र चिरपरिचित नाम हो । लोक संगीतलाई रक शैली प्रदान गर्दै गीत सिर्जना गर्न सिपालु यो समुहले हरेक उमेरका दर्शक तथा स्रोताको मन जितिरहेको छ । पूर्व मेचीदेखि महाकालीसम्म मात्र होइन, नेपथ्यका गीतका पारखीहरू यूरोपदेखि अमेरिकासम्म अनि एशियादेखि अष्ट्रेलियासम्म फैलिएका छन् । त्यसैले त यो समुह कहिले पोखरामा कन्सर्ट दिइरहेको हुन्छ भने कहिले बेलायतको चर्चित वेम्बली स्टेडियामा हजारौं नेपाली दर्शकलाई संगीतको स्वाद पस्किरहेको हुन्छ । अष्ट्रेलियालाई त नेपथ्य समुहले आफ्नो दोस्रो घर नै बताइसकेको छ । त्यसैले त केही वर्षको अन्तरालमै यो समुह अष्ट्रेलिया पुग्छ अनि त्यहाँको नेपाली समुदायलाई आफ्नै संगीतको तालमा झुमाउँछ ।
जोमसोमे बजारमा, छेक्यो–छेक्यो देउराली डाँडा, ‘हिमाल चुचुरे जस्ता गीत पस्किएर अघिल्ला पुस्ताका स्रोताको मन जितेको नेपथ्य समुहले आजको मितिसम्म आफ्ना कर्णप्रिय गीत सिर्जनालाई निरन्तरता दिइरहेको छ । पोखराका युवा संगीतकर्मीहरूले ठ्याक्कै २५ वर्षअघि यो समुहलाई जन्माएका हुन् । यस अर्थमा नेपथ्यले यो वर्ष आफ्नो रजन महोत्सव मनाइरहेको छ । नेपथ्य समुहले आफ्नो पहिलो एल्बमको शीर्षक नै ‘नेपथ्य’ राखेको थियो, जुन सन् १९९३ को अप्रिल १ मा बजारमा आएको थियो । त्यही मितिलाई आधार मान्दै नेपथ्यले गत अप्रिल १ का दिन रजत महोत्सव मनाएको हो । नेपथ्यले आफ्नो पहिलो एल्बमको पहिलो गीत ‘आँगनै भरी हिउँ नै झरे’ आफ्नो ब्याण्डको पहिलो गीत भनेको छ । रजत उत्सवको सन्दर्भ पारेर नेपथ्यले एउटा थिम नै घोषणा गरेको थियो, ‘सेलिब्रेटिङ ट्वान्टी फाइभ इयर्स अफ नेपथ्य’ । त्यससंगै नेपथ्यले यो वर्षभरी यही थिम अन्तर्गत संगीतिक गतिविधि अघि बढाएको छ । २५ वर्षअघि स्थापना भएको नेपथ्य ब्याण्ड नेपालको पुरानो ब्याण्ड पनि हो । लोक संगीतलाई पप तथा रक संगीतसंग संयोजन गरेर युवापुस्तामाझ लोकप्रिय बनाउने कामको थालनी पनि नेपथ्यले नै गरेको हो । विभिन्न लोकलय नै नेपथ्य ब्याण्डको जीवन बनेको छ । नेपथ्य ब्याण्डका गीतले नेपालको वर्तमान स्थितिलाई पनि झल्काउनुका साथै एक कलाकारले कल्पना गर्ने आशाको किरणलाई पनि व्यक्त
गरेको हुन्छ ।
सन् १९९० मा दीपक राना (हाल चपर पाइलट) भीम पुन (हाल हङकङमा स्थापित) र अमृत गुरुङ मिलेर सुरुवात गरेको नेपथ्य ब्याण्डले नेपालका धेरै संगीतकारलाई मञ्च प्रदान गरेको छ । अहिलेसम्म नेपथ्यमा १९ जना सदस्यहरू यसको अंग भैसकेका छन् ।

यसरी जन्मियो नेपथ्य
सन् १९९१ तिर गायक अमृत गुरुङ ललितपुरको पुल्चोकस्थित दिदीको घरमा बस्थे। उनीहरूसंग गिटार थियो, बजाइरहन्थे । प्रिजम, काठमाडौं ज्याज, इलेगेसनजस्ता ब्याण्डहरू त्यतिबेला सक्रिय थिए । आफ्नो पनि त्यस्तै ब्याण्ड भए कस्तो रमाइलो हुन्थ्यो भन्ने चर्चा उनीहरूबीच चलिरहन्थ्यो । कुराकानीकै क्रममा उनीहरूले ब्याण्ड स्थापना गर्ने निर्णय गरे । अमृत गुरुङले गायकको जिम्मेवारी सम्हाल्नु पर्ने निर्णय भयो । ब्याण्ड स्थापनासंगै उनीहरूले लोक आधुनिक गीतहरू गाउने निर्णय गरे । समुहका एक सदस्य दीपकजंग रानाले ब्याण्डको नाम नेपथ्य राख्न सुझाए । लामै छलफल र वहसपछि नेपथ्य शीर्षकमा सबैले सहमति जनाए । ब्याण्डको पहिलो एल्बम सन् १९९२ को अप्रिल १ का दिन सार्वजनिक भयो । काठमाडौंको गणेशथानमा उक्त एल्बम विमोचन गरिएको थियो ।

गाउँ–गाउँबाट गीत संकलन
नेपथ्यले सिर्जना गर्ने गीतहरूमा मौलिकता पाउन सकिन्छ । समुहका मुख्य सदस्य अमृत गुरुङ गीत संकलनकै लागि देशका विकट ग्रामिण क्षेत्रहरूको भ्रमणमा निस्किरहन्छन् । त्यहाँका मौलिक लोकलयलाई टपक्कै टिप्छन् र त्यसलाई नयाँ स्वरुप प्रदान गर्छन् । गाउँमा संकलन गरिएका मौलिक शब्दलाई उनेर सन्देशमूलक तथा प्रेरणादायी गीत तयार पार्छन् । कन्सर्टमा तीनै गीतले वाहवाही पाउँछन् । नेपथ्यले स्वदेश तथा विदेशमा कन्सर्टमा गर्दछ, ती कन्सर्टबाट संकलित रकम विद्यालयकै लागि खर्च गर्छ । शिक्षाका लागि खर्च गर्छ । गायक अमृत गुरुङका अनुसार पछिल्लो समय नेपथ्यको सम्पूर्ण ध्यान सांगीतिक कार्यक्रमबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने रहेको छ ।

नेपथ्यको शिक्षाका लागि संगीत अभियान
गीत–संगीतमार्फत सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने उद्देश्यले नेपथ्यले केही वर्षअघिदेखि नेपालमा शिक्षाका लागि संगीत अभियानको समेत थालनी गरेको छ । परोपकारी सांगीतिक यात्रा सञ्चालन गर्दै नेपथ्यले यो अभियान प्रारम्भ गरेको थियो । त्यसअघि माओवादी द्वन्द्वको क्रममा भने नेपथ्यले शान्तिका लागि संगीत अभियान सञ्चालन गरेको थियो, जुन अत्यन्त प्रभावकारी रहेको थियो । नेपथ्य समुहका मुख्य सदस्य अर्थात गायक अमृत गुरुले शान्तिका लागि संगीत अभियान तथा शिक्षाका लागि संगीत अभियान सञ्चालन गर्ने घोषणा गर्दा विभिन्न प्रकारका आलोचनाहरू समेत सुन्न परेको थियो । गीत गाएर, कन्सर्ट गरेर शान्ति आउँछ ? अशिक्षितले शिक्षा पाउँछन् ? भन्ने जिज्ञासा राख्नेहरू पनि प्रसस्त थिए । अमृत गुरुङ सम्झन्छन्—‘सांस्कृतिक चेतना र अभियानको प्रभाव समाजमा एकाएक देखिंदैन, यो सत्य हो । यद्धपि त्यो भन्दा पनि गहिरो सत्य के हो भने सांस्कृतिक जगमा उभिएको मानिसको चेतना चिरप्रभावी हुन्छ ।
शान्तिका लागि संगीत अभियान सफल भएपछि नेपथ्यले शान्तिका लागि शिक्षा शीर्षकको दोस्रो अभियानको थालनी गर्‍यो। सन् २००७ को जनवरीताका उक्त अभियानको पहिलो कार्यक्रम लिएर नेपथ्य सिराहाको लहान पुगेको थियो । माओवादी द्वन्द्व रोकिए पनि तराईमा मधेश आन्दोलन प्रारम्भ भैसकेको थियो । मधेसी र पहाडीबीचको सुमधुर सम्बन्ध शत्रुतामा परिवर्तन भैरहेको विषम परिस्थितीमा नेपथ्यले लोकशैलीका आफ्ना गीत प्रस्तुत गरेर सामाजिक सद्भाव कायम गर्ने कठोर निर्णय लिएको थियो । नभन्दै, हिमाल, पहाड, तराई कोही छैन पराइ भन्ने सन्देश छर्दै नेपथ्यले आफ्नो अभियानको पहिलो कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गरायो । नेपथ्यले जहाँ–जहाँ कन्सर्ट गर्छ, त्यहाँ–त्यहाँ राष्ट्रप्रेम तथा सामाजिक सद्भावको भावनालाई जोडिदिन्छ । गीत–संगीतसंगै देशप्रेम तथा सामाजिक सद्भाव जगाउनु नेपथ्यको सबैभन्दा ठूलो गुण हो ।

लोकप्रिय गीत र एल्बम
नेपथ्यले थुपै्र लोकप्रिय गीत स्रोतामाझ पस्किसकेको छ । चरी मर्‍यो…., यो जिन्दगानी….., जोससोमै बजार……, छेक्यो छेक्यो देउराली डाँडा……, जोगले हुन्छ भेट……, भेडाको उन जस्तो……., हिमाल चुचरे……., आमा……., सा कर्णाली……, तालको पानी……, मैं नाचें छमछमी……. आदि नेपथ्यका सदावहार लोकप्रिय गीतहरू हुन् ।
नेपथ्यले हालसम्म सार्वजनिक गरेका एल्बमहरूमा नेपथ्य, हिमाल चुचुरे, मिन पचासमा, श्रृंगार, रेशम, भेडाको उन जस्तो, घटना, मेरो देश, ऐना झ्याल आदि छन् ।

सफल भयो अष्ट्रेलियाको पछिल्लो कन्सर्ट
गत जुलाई ५ तारिखका दिन अष्ट्रेलिया अवतरण गरेको नेपथ्यले पहिलो प्रस्तुती मेलबर्नमा दिएको थियो । त्यसपछि अझ दक्षिणवर्ती सहर एडिलेडको यात्रा सकेर ब्याण्ड उसको सदैव झैं अपार दर्शक माया स्वीकार्न सिड्नी आइपुगेको थियो । सहरको विश्व प्रसिद्ध हार्वर ब्रिजको छेवैमा पर्ने विशाल दर्शक क्षमताको लुनापार्कमा जुलाई २२ का दिन नेपथ्यले फेरि आफ्ना गीतहरू मार्फत श्रोताको मनमा कब्जा जमाउन सफल भयो ।
‘यो समेत गरेर नेपथ्यलाई स्वागत र उसको कार्यक्रम आयोजना गर्न पाएको हाम्रो तेश्रो अनुभव हो,’ आयोजक म्याग्दी ओभरसिजका हरि राम्जाली भन्छन्–‘नेपथ्यका साथमा भब्यताका साथ कार्यक्रम सफल पार्न पाउँदाको आनन्द जहिले पनि उत्साहजनक हुने गर्छ ।’ ‘जब–जब नेपथ्य सिड्नी आउँछ, हरेकपटक उसको आफ्नै पछिल्लो रेकर्डलाई तोड्ने गरेको छ,’ आयोजक समूहकै मुक्ति रोका भन्छन् —‘सन् २००८ मा युनिभर्सिटी अडिटोरियमको प्रस्तुतीमा १२ सय दर्शकबाट सुरु भएको ब्याण्डले दोश्रोपटक २०१२ को बेला सिड्नी टाउनहलमा २२ सय दर्शक पाएको थियो । लुनापार्कमै २०१५ मा २६ सय दर्शक जुटाएको ब्याण्डले यसपाला भने तीन हजार दर्शकलाई समेट्न सफल भएको छ ।’ सदा झैं यस पटक पनि नेपथ्य स्वादको आनन्द लिँदै हरेक उमेर र हरेक समूहका मानिस एउटै हलभित्र जम्मा भएका थिए–नाचेका थिए । ‘यो समेत गरेर नेपथ्यको कन्सर्ट लगालग तेश्रोपटक सिड्नीमा हेर्न पाएँ,’ दर्शक मध्येका एक सुशिला शेरचन भन्दै थिइन्–‘अमृत दाइले हामीलाई कहिल्यै पनि निराश पार्ने गर्नु भएको छैन ।’ अष्ट्रेलियामा बसेर अध्ययन गरिरहेका विद्यार्थीबाहेक यहाँ स–परिवार बसोबास गर्दै आएका थुप्रै पारिवारिक समूह पनि कन्सर्टमा देखिन्थ्यो । सबैका रोजाइमा विविध स्वाद भएता पनि अमृतले दिने गरेको एकता र राष्ट्रियताका सन्देशहरूले सबैलाई छोएर एकाकार बनाएको थियो ।
कन्सर्टमा नेपथ्यका सदाबहार लोकप्रिय गीतहरू बाहेक ब्याण्डले भर्खरै रेकर्ड गरेका गीतहरू पनि प्रस्तुत गरिएका थिए । नयाँ गीत भए तापनि स्टेजबाट आइरहेको आवाज संग–संगै दर्शकहरूले पनि गाउँदै र नाच्दै निरन्तरता दिएको देखिन्थ्यो । ‘नेपथ्य अब सांगीतिक कन्सर्टमा मात्र सीमित नरहेर समयसंगै जमघटको उत्सवमय अवसर बन्दै गएको छ,’ ब्याण्डको प्रवद्र्धक तथा प्रस्तुतकर्ता नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हामीसंग जे जस्ता साधन र श्रोत छन्, त्यसको अधिकतम प्रयोग गरेर प्रत्येक शोलाई अविस्मरणीय बनाउने प्रयत्न गर्छौं । त्यसैको प्रतिफलमा सिड्नीको बिग टप अडिटोरियम भित्रका सम्पूर्ण दर्शकहरू अपार उत्तेजनामा एकसाथ डुबेका देखिन्थे ।’ स्टेजमा अमृत गुरुङलाई सदा झैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ तथा मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।
‘नेपथ्य स्थापनाको रजत महोत्सव मनाउने क्रममा आयोजित पहिलो विदेश यात्रा अपार सफलताका साथ सम्पन्न भएकोमा हामी असाध्यै खुसी छौं,’ गायक अमृत गुरुङ भन्छन्–‘अब न्यूजिल्याण्डस्थित हाम्रा शुभचिन्तकहरूसंग जम्काभेट गर्न तीब्र छटपटी सुरु भएको छ।’ न्यूजिल्याण्डको अकल्याण्डसहरमा नेपथ्य जुलाइ २८ तारिखका दिन स्काइ सिटी थिएटरमा प्रस्तुत भएको छ।