जारी छ निर्वाचनको मितिबारे छलफल

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– संघीय संसद तथा प्रदेशसभाको निर्वाचन एकै पटकमा गर्न सहमत प्रमुख तीन दललाई निर्वाचन आयोगले ती निर्वाचन दुई मितिमा गर्न सुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ भएको तीन दलका शीर्ष नेता र आयोगका पदाधिकारीसहितको बैठकमा मतपत्र छाप्न नभ्याउने कारणले हिउँ पर्ने जिल्लामा आगामी मंसिर ४ र अन्य जिल्लामा मंसिर २१ गते दुवै तहको निर्वाचन हुने गरी मिति तोक्न प्रस्ताव गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा भएको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने भए एक दुई दिनमा मन्त्रिपरिषद्बाट मिति तोक्न, ५ भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभासम्बन्धी विधेयक संसद्बाट पारित गर्न र १५ भदौभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन माग गरेको छ ।
निर्वाचनसम्बन्धी ती दुई विधेयक संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भएकाले त्यसलाई सहमतिमा छिटो पारितका लागि प्रमुख दलका प्रमुख सचेतक र समितिमा रहेका सदस्यसमेत रहेको राजनीतिक संयन्त्र बनाउने सहमति भएको छलफलमा सहभागी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
राष्ट्रिय जनता पार्टी नेपाललाई चित्त बुझाउन संविधान संशोधन विधेयकमा पर्सि आइतवार मतदान हुने कार्यतालिका छ ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आयोगले उक्त मिति प्रस्ताव गरे पनि आज शुक्रवार थप छलफल गरेर सरकारले टुङ्गो लगाउने बताएका छन् ।
बैठकमा प्रधानमन्त्री देउवासहित, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादव सहभागि थिए ।